coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बाबुरामले भने– देउवाको जित भयो

काठमाडौं- शेरबहादुर देउवा तिनै प्रधानमन्त्री हुन्, जसलाई तत्कालीन संयुक्त जनमोर्चा (नेकपा माओवादी) का तर्फबाट बाबुराम भट्टराईको नेतृत्वमा २०५२ माघ २२ गते ४० बुँदे माग प्रस्तुत गरिएको थियो। त्यति बेला ती माग पूरा गराउन देउवा गम्भीर बनेनन् र २०५२ फागुन १ गते नेकपा माओवादीको नामबाट मुलुकमा ‘जनयुद्ध’ घोषणा गरियो । सोही युद्धले १७ हजारभन्दा बढी नेपालीको ज्यान लियो। देउवाले नै बहुदलीय व्यवस्थापछि माओवादीलाई ‘सखाप पार्ने’ भन्दै मुलुकमा संकटकाल घोषणा गरे। देउवाले नै माओवादी नेतालाई आतंककारी घोषणा गरेर टाउकाको मोलसमेत तोक्ने काम गरेका थिए। यो धेरैले भुल्न नसक्ने घटनाको रुपमा इतिहासमा दर्ज भइसकेको छ । 

तर, २३ वर्षपछि परिस्थिति भिन्न भयो । जसले आफ्नो टाउकाको मूल्य तोक्यो, तिनैलाई प्रधानमन्त्री बनाउन माओवादी नेता पुष्पकमल दाहालले मुख्य भूमिका खेले । दाहालकै बलियो समर्थनमा देउवा मुलुकको ४०औं प्रधानमन्त्री हुन सफल भए । भट्टराईले देउवालाई सघाउने दाहालको भूमिकालाई आश्चर्यका रुपमा लिएका छन् । ‘जसले मागपत्रलाई गम्भीरतापूर्वक लिएनन्, जसले माओवादीलाई सिध्याउन संकटकाल लगाए, जसले आतंककारी घोषणा गरे, जसले टाउकाको मोल तोके, आज उनैलाई माओवादीका सर्वोच्च कमान्डरले प्रधानमन्त्री बनाउन सहयोग गरेको देखियो,’ भट्टराईले नागरिकसँग भने, ‘माओवादीकै समर्थनमा प्रधानमन्त्री हुनु भनेको शेरबहादुर देउवाजीको जित हो, विजयका लागि बधाई पनि छ ।’

यति बेला भने माओवादीबाट अलग भएर भट्टराईले नयाँ पार्टी बनाएका छन् । तर, आफना माग पूरा नगरेको भन्दै युद्धमा गएको पार्टीका नेतालाई नै प्रधानमन्त्री बनाउन भूमिका खेलेको दृश्य देखेर उनी छक्क परेका छन् । पार्टीको निर्देशनअनुसार ४० बुँदे माग लिएर भट्टराईको नेतृत्वमा पम्फा भुसाललगायतका नेता तत्कालीन प्रधानमन्त्री देउवालाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय गएका थिए । ‘त्यो दिन मैले ४० बुँदे पढेर सुनाएँ अनि यसलाई गम्भीरतापूर्वक लिनुहोस् है भनेर जोड नै गरें,’ भट्टराई सम्झन्छन्, ‘तर उहाँले त्यसलाई सामान्य रुपमा लिनुभयो ।’ विषयलाई गम्भीरतापूर्वक नलिने देउवाको स्वभावले काम गरेको हुन सक्ने उनको अनुमान छ । ‘हाम्रा माग उहाँले सुन्न पनि नचाहेजस्तो गर्नुभयो’, भट्टराई सम्झन्छन्, ‘बढीमा १० मिनेट जति बस्यौं होला तर उहाँले त्यति गम्भीरतापूर्वक नलिएपछि हामीले पनि लम्ब्याउन चाहेनौं र निस्कियौं ।’

त्यसको १० दिनपछि माओवादीले सशस्त्र युद्ध घोषणा ग¥यो । ‘त्यो दिन देउवाले विषयलाई गम्भीरतापूर्वक लिएको भए स्थिति अर्को हुन पनि सक्थ्यो,’ भट्टराई सम्झन्छन् । ‘जनयुद्धका कमान्डर’ दाहालले देउवालाई सत्तारोहणमा सहयोग गरेको भट्टराईलाई त्यति चित्त बुझेको छैन तर २०५२ साल पछि मुलुकमा ठूलाठूला परिवर्तन भइसकेको र विभिन्न सहकार्य भएकाले उनी त्यति धेरै अनौठो पनि मानिरहेका छैनन् । ‘तर नैतिक प्रश्न भने उठ्छ’, भट्टराईले भने, ‘आखिर यतिसम्म गर्नु नै थियो भने हामीले यति धेरै संघर्ष किन गर्नुपथ्र्यो त ?’

प्रकाशित: २४ जेष्ठ २०७४ ०२:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App