coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सत्तागठबन्धन–राजपा तीनबुँदे सहमति

काठमाडौं- नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धनले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालसँग मंगलबार छुट्टाछुट्टै तर एउटै बेहोराको तीनबुँदे लिखित सहमति गरेको छ ।

सहमतिको पहिलो बुँदामा ‘पुष्पकमल दाहाल (प्रचण्ड) सरकार गठनका क्रममा भएका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता’ जनाइएको छ । दाहाल सरकार गठन हुँदा संविधान संशोधन गर्ने प्रतिबद्धता जनाइए पनि अहिलेसम्म हुनसकेको छैन ।

त्यस्तै सहमतिको दोस्रो बुँदामा ‘सहिद घोषणा, मुद्दा फिर्तालगायतका प्रतिबद्धता कार्यान्वयन गर्ने र स्थानीय तहको संख्या राजनीतिक सहमतिका आधारमा वृद्धि गर्ने सैद्धान्तिक सहमति भएको’ उल्लेख छ । तेस्रो बुँदामा ‘प्रधानमन्त्री निर्वाचनमा कांग्रेस उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गर्ने सहमति भएको’ उल्लेख छ ।

तीनबुँदेमा संविधान संशोधन गर्ने स्पस्ट नलेखिए पनि दाहाल सरकार गठनका बेला भएका सहमति कार्यान्वयन गर्ने भन्ने प्रतिबद्धता जनाइएको छ । सहमतिपत्रमा त्यसबेला भएका सहमति स्पष्ट किटान नगरिए पनि संविधान संशोधन गर्ने सहमति भएको थियो । तीनबुँदेमा कहिलेसम्म संशोधन गर्ने भन्ने  उल्लेख छैन ।

तीनबुँदेमा प्रस्ट नलेखिए पनि राजपा र फोरम नेपालले चुनावअघि  नै संविधान संशोधन गर्न सरकारलाई दबाब दिने रणनीति बनाएका छन । सरकार दुईतिहाइ मत नजिक रहेकाले उसले चाहे तत्काल संशोधन  गर्न सकिने उनीहरूको बुझाइ छ ।

स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवा र माओावदी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले राजपा नेतासँग एमाले सहमत भए चुनावअघि नत्र पछि संशोधन गर्ने मौखिक प्रतिबद्धता जनाएका छन् । लिखित सहमति गर्नुअघि राजपाका नेताहरूसँगको वार्तामा कांग्रेस सभापति देउवाले चुनावअघि नै संशोधनका लागि एमालेसँग कुरा गर्ने प्रतिबद्धता गरेका थिए ।

राजनीतिक सहमतिका आधारमा स्थानीय तह संख्या वृद्धि गर्ने सैद्धान्तिक सहमति भए पनि त्यसको पनि समय तोकिएको छैन । मधेसवादी दल र राजपा नेताले दोस्रो चरणको निर्वाचनअघि संख्या वृद्धि गर्नुपर्ने माग गर्दै आएका छन् । स्थानीय तह संख्या वृद्धि गर्नेबारे पनि चुनावअघि प्रयास गर्ने देउवाले वार्ताक्रममा बताएका थिए ।

 माओवादी केन्द्रका नेता अजयशंकर नायकले चुनावअघि संविधान संशोधन गर्न प्रयास गर्ने तर संशोधनका लागि दुईतिहाइ पुग्ने स्थिति नभए यो मुद्दा चुनावपछि लैजाने मौखिक सहमति भएको बताए । ‘चुनावअघि नै संशोधन प्रयास त गर्छौं तर पक्षमा दुईतिहाइ पुग्ने स्थिति नभए यो विषय चुनावपछि लैजान्छौं,’ उनले भने ।

कांग्रेस र माओवादी केन्द्रसँग लिखित सहमति गरेपछि राजपालाई चुनावमा जान बाटो खुलेको छ । तीनबुँदे सहमतिमा समयसीमा नतोकिए पनि राजपा नेताले संविधान संशोधन र स्थानीय तह संख्या वृद्धिको अडान भने कायमै रहेको बताएका छन् । संशोधन नभए चुनावमा नजाने राजपाका नेताहरूले जनाएका छन । ‘संविधान संशोधन र स्थानीय तह संख्या वृद्धि भए मात्र चुनावमा जान्छौं भनी हामीले प्रष्ट भन्दै आएको छौं । यो मागमा हामी कायमै छौं,’ राजपा नेता अनिल झाले भने । ‘उहाँ (गठबन्धन) ले संशोधन र स्थानीय तह संख्या वृद्धि गर्ने लिखित प्रतिबद्धता जनाउनुभएको छ । त्यसैले देउवालाई प्रधानमन्त्री बनाउन भोट दिएका हांै,’ उनले भने, ‘देउवालाई हामीले संशोधन नभए पनि चुनावमा जान्छौं भनी समर्थन गरेका होइनौं ।’

राजपाका अर्का नेता केशव झाले सरकारले चाहे संशोधन पक्षमा दुईतिहाइ पुग्ने स्थिति देखिएको बताए।

राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र सदस्य राजेन्द्र महतो मंगलबार काठमाडौं बाहिर रहेकाले सहमतिपत्रमा उनीहरूको हस्ताक्षर छैन । उनका प्रतिनिधिका रुपमा सहमतिपत्रमा सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णको हस्ताक्षर छ । त्यस्तै सहमतिपत्रमा अध्यक्षमण्डलका सदस्यहरू शरतसिंह भण्डारी र अनिल झाले हस्ताक्षर गरेका छन् । अध्यक्षमण्डका सदस्य महेन्द्र यादव र राजकिशोर यादवको नाम सहमतिपत्रमा भए पनि हस्ताक्षर छैन । सत्ता गठबन्धनका तर्फबाट देउवार र दाहालको हस्ताक्षर छ।

 फोरम नेपाल प्रधानमन्त्रीमा देउवालाई समर्थन गरेपछि संसद्मा सत्तापक्षको कुर्सीमा बस्ने भएको छ। चुनावअघि संशोधन नभए पनि चुनावमा जाने  तर संशोधनका लागि दबाब दिने रणनीति उसले बनाएको छ । फोरम नेपालका प्रमुख सचेतक शिवजी यादवले चुनावअघि नै संशोधनका लागि पार्टीले दबाब दिने बताए । ‘सरकारले चाहे चुनावअघि नै संशोधन हुनसक्छ भन्ने देखियो । त्यसैले संशोधनका लागि दबाब दिन्छौं,’ उनले भने । 

 

प्रकाशित: २४ जेष्ठ २०७४ ०२:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App