७ वैशाख २०८१ शुक्रबार
राजनीति

सकियो सुशीलाको कार्यकाल

काठमाडौं- पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्कीले उमेर हदका कारण पदबाट अवकाश पाएकी छन्। कार्कीलाई सोमबार सर्वोच्च अदालतले एक कार्यक्रमबीच बिदाइ गरेको छ । ६५ वर्ष उमेर पुगेपछि उनले अनिवार्य अवकाश पाएकी हुन्।

प्रधानन्यायाधीश भएदेखि भ्रष्टाचार मुद्दालाई प्राथमिकता दिएकी कार्कीले निडर छवि बनाएर कार्यकाल सकेकी छन् । कार्की भ्रष्टाचार, महिला तथा बालबालिका, वातावरण, कर्तव्य ज्यानलगायतका मुद्दामा नजिर छोड्न सफल भएकी छन् ।

सर्वोच्चमा कार्कीले आठ वर्ष साढे चार महिना काम गरिन् । कार्कीले आफ्नो कार्यकालमा १० हजारभन्दा बढी मुद्दा फस्र्योट गरेको प्रधानन्यायाधीशको निजी सचिवालयले जनाएको छ ।

गत वैशाख १७ मा चर्चित ‘सुडान मिसन भ्रष्टाचार’ को मुद्दामा संलग्नलाई जेल सजायसहितको फैसला सुनाएकै दिन उनीविरुद्ध महाभियोगको प्रस्ताव संसद्मा पेस गरिएको थियो । उक्त मुद्दा दर्ता भएको पाँच वर्षपछि कार्कीले फैसला गर्ने हिम्मत गरेकी थिइन् ।

कार्कीविरुद्ध सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संसद्मा दर्ता गराएको महाभियोग प्रस्ताव सर्वत्र विरोधपछि एक साताअघि फिर्ता भइसकेको छ ।

एक महिनाअघि नागरिकसँगको अन्तर्वार्तामा कार्कीले अदालतमा राजनीतिक दबाबका कारण काम गर्ने वातावरण नभएको बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘मैले धेरै मुद्दामा दबाब सहिनँ । भ्रष्टाचारका मुद्दामा त्यत्तिकै दबाब आएका थिए । स्वतन्त्र न्यायापालिका हो । उनीहरुले दबाब दिए भन्दैमा मैले कानुनविपरीत काम गर्न मिल्छ र !’

कार्कीका उल्लेखनीय फैसला

कार्कीले पूर्वसञ्चारमन्त्री जयप्रकाश गुप्तालाई सार्वजनिक पदमा बसी ८४ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै जरिवानासहित डेढ वर्ष कैद सजाय सुनाएकी थिइन् । गुप्तालाई २०६४ सालमा विशेष अदालतले सफाइ दिएको थियो । विशेषको फैसला उल्टाएर सर्वोच्चले भ्रष्टाचार गरेको ठहर गरेको हो ।

यस्तै सुडान घोटाला काण्डमा प्रधानन्यायाधीश कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले तीनजना पूर्व प्रहरी महानिरीक्षकसहित सातजनालाई जरिवाना, कैदसहितको सजाय सुनाएको थियो ।

कार्कीले लाउडा प्रकरणको फाइल पनि अघि बढाइन् । इजलासका दुई न्यायाधीशको मत बाझिएपछि यो मुद्दा पूर्ण इजलासमा पुगेको छ । कार्कीले पूर्वगृहमन्त्री गोविन्दराज जोशीविरुद्ध चलेको भ्रष्टाचार मुद्दा पनि अघि बढाएकी थिइन् । जोशीको मुद्दा पक्ष र विपक्ष कानुन व्यवसायीले सार्दासार्दै उनले टुंगो लगाउने मौका पाइनन् ।

यस्तै तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई उनकै कार्यकालमा नियुक्ति बदर गर्ने निर्णय सर्वोच्चले गरेको थियो । तीन वर्षअघि दायर यो मुद्दा पनि कार्कीकै कार्यकालमा  छिनियो । त्यसपछि प्रधानन्यायाधीश कार्कीको कामको धेरैले सराहना गरेका थिए । यो मुद्दामा आफूले निकै राजनीतिक दबाब खेप्नुपरेको कार्कीले नागरिकसँगको अन्तर्वार्तामा बताएकी थिइन् ।

सशस्त्र द्वन्द्वको क्रममा काभ्रेकी मैना सुनारको बलात्कारपछि हत्या भएको मुद्दा पनि कार्कीकै कारण अघि बढेको थियो । उनकै नेतृत्वमा हत्यामा सजाय सुनाइएर फरार रहेका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई सात दिनभित्र पक्राउ गर्न वारेन्ट आदेश जारी भएको थियो ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणाराज्यलक्ष्मी सिंहलाई दाइजोस्वरूप दिएको भनिएको घरजग्गा सरकारका नाममा कार्कीसहितको इजलासले फिर्ता गर्ने फैसला गरेको थियो ।

प्रधानन्यायाधीश कार्की, न्यायाधीश दीपककुमार कार्की र  सपना प्रधान मल्लको पूर्ण इजलासले काठमाडौं छाउनीस्थित १५ रोपनी एक आना जग्गा सरकारको नाममा हुने फैसला गरेको थियो ।

कार्कीले महिलाको कोखलाई व्यापारिक रुपमा प्रयोग गर्न नमिल्नै भन्दै व्यावसायिक सरोगेसी आमालाई पूर्ण रुपमा प्रतिबन्धित गर्ने फैसला सुनाएकी थिइन् । प्रधानन्यायाधीश कार्की र न्यायाधीश गोविन्दकुमार उपाध्यायको संयुक्त इजलासले ‘व्यावसायिक सरोगेसी सेवा नियन्त्रण गर्न निःसन्तान नेपाली नागरिकलाई परोपकारी सरोगेसी दिन त्यससम्बन्धी कानुन आवश्यक’ रहेको फैसला गरेको थियो ।

यस्तै कार्कीले प्रहरी महानिरीक्षक नियुक्ति गर्ने मन्त्रिपरिषद्को निर्णय गलत भएको भन्दै यथास्थितिमा राख्न आदेश दिएकी थिइन् । सरकारले फागुन ११ मा प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त गरेको थियो । यसविरुद्ध परेको रिटमा प्रधानन्यायाधीश कार्कीको एकल इजलासले ‘प्रहरी महानिरीक्षकका विषयमा भएको निर्णयलाई यथास्थितिमा राख्न’ आदेश दिएको थियो । त्यसपछि योग्यता र क्षमताको आधारमा कानुनबमोजिम प्रहरी महानिरीक्षक नियुक्त गर्न सर्वोच्चले आदेश दिएको थियो । लगत्तै सरकारले प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो । यो नियुक्तिविरुद्ध नवराज सिलवालले दायर गरेको मुद्दा सुनुवाइका क्रममा छ । महानिरीक्षक नियुक्तिकै विषयमा भएको विवादमा प्रधानन्यायाधीश कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको थियो ।

यस्तै कार्कीले मानव बेचबिखन, बालविवाह र जबर्जस्ती करणी मुद्दामा प्रतिवादीले भराउने भनी फैसला भएको क्षतिपूर्ति रकम सरकारबाट तत्काल उपलब्ध गराई पछि दोषीबाट बिगोसरह असुलउपर गर्नेगराउने फैसला पनि गरेकी थिइन् । यस्ता अपराधका पीडितलाई अदालतको अन्तिम फैसलाअनुसार क्षतिपूर्ति रकम छुट्टै कोष स्थापना गरी कोषबाटै तत्काल उपलब्ध गराउने व्यवस्था मिलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिष्द कार्यालयको नाममा कार्कीले आदेश दिएकी थिइन् । यस्तै कर्तव्य ज्यान मुद्दामा प्रहरी कार्यालयले जोहरी दर्ता गरी अनुसन्धान नगरेको सम्बन्धमा ‘तोकिएको अनुसन्धान अधिकारी वा अभियोजनकर्ताले आफ्नो कर्तव्य पूरा नगरे न्याय पराजित हुन्छ । पीडितले उपचार नपाएको अनुभूति गरेको हुन्छ त्यसमा पीडितको उत्तरदायित्वमा निजी अनुसन्धान वा अभियोजनको वैकल्पिक मार्गसमेत प्रशस्त गर्नुपर्ने’ फैसला पनि कार्कीले सुनाएकी थिइन् ।

सुधारका कार्य

सर्वोच्चमा २०७३ वैशाख १ देखि असार २६ सम्म कार्कीले कामु प्रधानन्यायाधीशको भूमिका निर्वाह गरिन् । उनले असार २७ देखि प्रधानन्यायाधीश बनेर काम गरिन् ।

२०६१ सालदेखि वरिष्ठ अधिवक्ताका रुपमा कार्यरत कार्की २०६५ साल माघमा सर्वोच्चमा न्यायाधीशका रुपमा प्रवेश गरेकी थिइन् । कार्कीले ८ वर्ष साढे चार महिना सर्वोच्चमा काम गरिन् । उनले १० बजे मुद्दाका सूची प्रकाश गरी ११ बजे बेन्च बस्ने परम्परा सुरु गरिन् । न्यायाधीशका लागि क्वार्टर निर्माण कार्य उनको कार्यकालमा सुरु भएको छ ।

कार्कीका चर्चित फैसला

जेपी गुप्तालाई भ्रष्टाचारी ठहर गर्दै जेलसजाय

      लोकमानसिंह कार्कीको नियुक्ति बदर

      प्रेक्षा शाहको दाइजो फिर्ता गरी सरकारका नाममा

      सुडान घोटालामा संलग्नलाई सजाय

      महिलाको कोख (सरोगेसी) को भाडामा व्यापार गर्न नपाइने

      प्रहरी महानिरीक्षक नियुक्ति कार्यान्वयन नगर्न सरकारलाई आदेश

प्रकाशित: २४ जेष्ठ २०७४ ०२:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App