७ वैशाख २०८१ शुक्रबार
समाज

बल्ल हटाइयो बौद्धनाथको डिजिटल डिस्प्ले

काठमाडौं- पुरातत्व विभाग, स्थानीय, महानगरपालिका, सम्पदाप्रेमीलगायतको लामो प्रयासपछि बौद्धनाथ स्तूपमा राखिएको डिजिटल बोर्ड मंगलबार हटाइएको छ। पुरातत्व विभागले अवैध रुपमा बोर्ड राखेको भन्दै बौद्ध तथा मेलम्ची घ्याङ गुठीलाई मंगलबार विहान १० बजेभित्र हटाउँन चेतावनी दिएको थियो। सोहिअनुसार गुठी र स्थानीयको सहकार्यमा डिस्प्ले हटाइएको हो।

गुठीले झन्डै २९ दिनदेखि अवैध रुपमा बौद्धनाथ स्तूप सौन्दर्य नै छोपिने गरी बोर्ड राखि विभिन्न श्रव्य दृश्य सामाग्रीहरु देखाउँदै आएको थियो । बौद्ध जयन्तीको अवसरमा पूरातत्व विभागले बौद्ध स्तूपको उत्तरतर्फको ठूलो माने ढयुङगुरको बाहिरी पर्खालमा मेलम्ची घ्याङ गुठीलाई वैशाख २७ गते एकदिनको लागि इलेक्ट्रिक डिस्प्ले राख्न अनुमति दिएको थियो । तर, गुठीले  सम्झौतालाई अवज्ञा गर्दै बोर्ड हटाउन  अटेरी गर्दै आएको थियो । सम्पदाप्रेमि र बौद्धका स्थानीयको चर्को दबाबपछि सोमबार विभागमा भएको छलफलबाट बोर्ड हटाउन भएको सहमति अनुसार बोर्ड हटाइएको बसन्तपुरका सम्पदाप्रेमी गणपतिलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार बौद्धका स्थानीय, पुरातत्व विभाग, सम्पदा प्रेमी सबैको पहलमा बोर्ड हटाइएको हो । ‘ऐतिहासिक सम्पदा क्षेत्रमा अबैध बोर्ड राख्न हुँदैन,’ उनले भने, ‘अब सम्पदा क्षेत्रमा यस्ताखाले बोर्डहरु राख्नै दिँदैनौं ।’

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले एक दिनका लागि दिएको सहमतिलाई गुठीले अटेरी गर्दै आएकोले सोमबार बैठक बसी बोर्ड हटाउने निर्णय भएको जानकारी दिए ।  ‘विश्व सम्मदामा सुचिकृत स्तूपमा यस्ता बोर्डहरु राख्दा सम्पदाको गरिमा नै गुम्ने देखियो,’ उनले भने, ‘अबदेखि स्तूपभित्र यसको महत्व र विशेषता नै गुम्ने गरी यस्ताखाले बोर्ड राख्न निषेध गरेका छौं ।’

उनले विभागले यसअघि बारम्बार पत्राचार गरेर हटाउन निर्देशन दिए पनि गुठीले अटेरी गर्दै आएकोले सोमबार बैठक बसी हटाउने सहमति भएको बताए ।

बौद्धनाथ क्षेत्रविकास समितिका अध्यक्ष सम्पूर्ण कुमार लामाले एकदिनको लागि भनेर राखिएको बोर्ड यतिका दिनसम्म नहटाएपछि आफूहरुले बोर्ड हटाउनेबारे लामो कसरत गरेको बताए । ‘हामीले उक्त बोर्ड हटाउन भनि पूरातत्व विभाग, जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रशासन सबैसँग हारगुहार गरेपछिमात्रै बोर्ड हटेको हो,’ उनले भने ।

झन्डै २२ फिट लामो बोर्डमा गुठीले बुद्धको फोटा, दलाइ लामाको तस्बिर, व्यवसायिक विज्ञापन र मनोरञ्जनात्मक सामाग्रीहरु देखाउँदै आएको थियो । बुद्ध जयन्तीका अवसरमा आयोजित कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्न माग आएपछि वैशाख २५ गते विभागले अनुमति दिएको थियो । काठमाडौं महानगरपालिका वडा ६ का अध्यक्ष दिपेन्द्र लामाले सम्पदा क्षेत्रमा व्यवसायीक बोर्डहरु राख्दा युनेस्कोले खतरको सुचीमा राख्न सक्ने भएकाले यसतर्फ सबैको ध्यान जान आवश्यक रहेको बताए । ‘सम्पदा क्षेत्रलाई कसैले पनि व्यवसायिक थलो बनाउनु हुँदैन,’ उनले भने, ‘हामीले बौद्धनाथ क्षेत्रलाई सफा र सुन्दर राख्नका लागि सबैसँग हातेमालो गरेर अघि बढ्ने योजना बनाएका छौं।’

प्रकाशित: २३ जेष्ठ २०७४ ११:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App