८ वैशाख २०८१ शनिबार
अन्य

देश खत्तम भइसकेको छैन

–वर्षा शर्मा
खुशी, सुख तथा दुःख सापेक्षित कुरा हुन् । एउटा परिवेशमा खुशी भएको व्यक्ति अर्को परिवेशमा खुशी नहुन सक्छ । भौतिक सुविधाले सम्पन्न हुँदा मात्र मानिस खुशी र सुखी हुन्छ भन्ने पनि हुँदैन । भौतिक सुविधाले सम्पन्न स्थानमा बसेर पनि मानिस दुःखी भइरहेको हुन्छ । हामीले हाम्रो समय, वातावरण, साथी सर्कल, हाम्रो सोचाइ, हाम्रो दृष्टिकोण, हाम्रो जिम्मेवारी आदिसँग जोडेर खुशी तथा सुखी हुने प्रयत्न गर्नुपर्छ । हाम्रो दुःख पनि हामी कस्तो परिस्थितिमा छौँ, त्यही रूपमा हुने हो । अमेरिकामा बस्ने व्यक्ति र काठमाडौँ बस्ने व्यक्तिका सुख र दुःख फरक–फरक हुन सक्छन् । उता बस्नेलाई दुःख लागेको विषय हाम्रो सन्दर्भमा सुख हुन सक्छ । उनीहरूलाई सुख लागेको विषय हाम्रा लागि दुःख हुन सक्छ । त्यसैले सुख–दुःख समय, स्थान र परिस्थितिअनुसार फरक पर्छ । हामी कहिले उही परिवेशमा सुखी भएको हुन्छौँ, कहिले उस्तै परिवेशमा दुःखी पनि भएका हुन्छाँै । जसरी पृथ्वी घुमिरहेको हुन्छ, त्यसरी नै हाम्रो सुख–दुःखको चक्र पनि घुमिरहेको हुन्छ ।
सुख–दुःख यही नै हो भनेर हामी किटान गर्न सक्दैनौँ । समयसँगै आउने ‘चेन्ज’ले यी सबै विषयमा प्रभाव पारेको हुन्छ । हामीले समयले ल्याउने राम्रा–नराम्रा पक्षलाई आत्मसात् गर्दै अघि बढ्नुपर्छ । हाम्रो समाजमा धेरै कुराहरू परिवर्तन भइरहेका हुन्छन्, विचार, रहनसहन, जीवनशैली आदि । तर, आफ्नो समाज, देश, भाषा, संस्कृति, वेशभूषालाई नजरअन्दाज गर्नु हुँदैन ।
सदाझैँ नागरिक परिवारको यस अंकमा पनि म हालसालै भोगेको घटनालाई लिएर केही कुरा आदरणीय पाठकसमक्ष सेयर गर्न चाहन्छु ।

वैशाख महिनाको दोस्रो हप्ता मैले केही  गैरआवासीय नेपाली (एनआरएन) सँग भेटघाट गरेकी थिएँ । केही समयदेखि अमेरिका बस्दै आउनुभएका उहाँहरू आफ्नो मातृभूमि नेपालमा परिवारका सदस्य तथा इष्टमित्र भेटघाटका लागि आउनुभएको थियो । नेपालको अवस्था र परिस्थितिका बारेमा मोटामोटी जानकारी हासिल गरेका, पढेलेखेका र  आफूलाई जानेबुझेको ठान्ने उहाँहरूले गफका क्रममा व्यक्त गरेका विचार सुनेपछि मलाई केही लेख्न मन लाग्यो ।
उहाँहरूले कुराकानी नै नेपालमा अहिलेसम्म यस्तो, हाम्रो अमेरिकामा त यस्तो हुन्छ, नेपाल आउने दुईतीन महिनाअघिदेखि प्लान बनाउनुप¥यो, रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने इन्जेक्सन लगाएर आएको छु, नेपालको पानी खाँदा मलाई सञ्चो हुँदैन जस्ता कुरा गरेर आफूलाई छुट्टै ग्रहबाट आएजस्तो गरेर प्रस्तुत गर्नुभयो । नेपालमा माछा, मासु, सागपात केही पनि खानु हुँदैन, हाइजिन र गुणस्तर मेन्टन गरेको हुँदैन भनेर उहाँहरूले केही वर्षअघि मात्र छोडेर गएको राजधानी काठमाडौँलाई कुनै जंगली ठाउँका रूपमा चित्रण गर्नुभएको थियो ।

विदेशी भूमिमा पसिना बगाएर हासिल गरेको उपलब्धि जति नै भव्य भए पनि त्यसले देशभित्रै हासिल गरेको उपलब्धिसँग टक्कर लिन सक्दैन । विदेशमा दुःख गरेर यहाँभन्दा धेरै पैसा त कमाउन सकिएला तर, देशभित्रै आर्जन गरेजस्तो आत्मसन्तुष्ट भने भइँदैन ।


नेपालमा राम्रा होटलहरू छैनन् । सडक राम्रो छैन । सुख–सुविधा छैन । मानिसहरू सभ्य छैनन् आदि गफ गरेर उहाँहरूले आफ्नै परिवारका सदस्य एवं इष्टमित्रहरूलाई होच्याइरहनुभएको थियो । नेपालको सिस्टम, कल्चर, वेशभूषा, रहनसहन, ट्राफिक व्यवस्था, लवाइखुवाइलगायत विषयमा उहाँहरूले नकारात्मक टिप्पणी मात्रै गर्नुभयो । उहाँहरूको कुरा सुन्दा यस्तो लाग्छ– यहाँ छोडेर गएका आमाबा, दाजुभाइ, काकाकाकी कोही पनि राम्रा छैनन् । सबै खत्तम छन् भन्ने जसरी उहाँहरू प्रस्तुत हुनुभएको थियो ।
विदेशमा बसेर आउनेहरूले नेपालमा सबै चिज खत्तम देखे पनि, यहाँ केही नै भइरहेको भन्ने उहाँहरूको दाबीमा दम छैन । यो देशमा नै केही गर्न सकिन्छ भनेर धेरै प्रतिभावान् मानिसले राम्रा–राम्रा काम गरिरहेकै छन् । नेपालमा पनि प्रणालीलाई विश्वास गरेर अघि बढ्न खोज्ने मानिस थुप्रै छन् । विकास–निर्माणले पनि बिस्तारै गति समात्दै गएको छ । विश्वमा फैलिएका प्रविधिलाई नेपालले पनि बिस्तारै आत्मसात् गर्दै आइरहेको छ ।
विदेशी भूमिमा पसिना बगाएर हासिल गरेको उपलब्धि जति नै भव्य भए पनि त्यसले देशभित्रै हासिल गरेको उपलब्धिसँग टक्कर लिन सक्दैन । विदेशमा दुःख गरेर यहाँभन्दा धेरै पैसा त कमाउन सकिएला तर, देशभित्रै आर्जन गरेजस्तो आत्मसन्तुष्ट भने भइँदैन । नेपालमा बसेर घरपरिवार तथा देशको सेवाका लागि खटिनुको बेग्लै मजा र आनन्द हुन्छ । यो कुरा एनआरएनहरूले बुझ्न जरुरी छ । आफ्नो देश त्यागेर एनआरएन भएर जति नै सुख र खुशी बटुले पनि त्यसलाई आफ्नो जन्मभूमिमा बसेर हासिल गरेको सुख र खुशीसँग दाँज्न मिल्दैन ।
अन्त्यमा,
गोपाल योञ्जनले गाउनुभएको गीत स्मरण गर्दै यो सानो टिप्पणी टुंग्याउँछुः

बनेको छ पहराले यो छाती मेरो
बगेको छ छहरा रगतमा मेरो

पखेरुमा जन्मी टाकुरामा खेल्ने
म झुक्दै नझुक्ने नेपालको छोरो

खोसेको रोटीले मेरो पेट भरिन्न
मागेको धोतीले मेरो लाज छोपिन्न

घोटिएर हातपाउ झरिजाऊन् औँला
तर कोईअगाडि यी हात जोडिन्न

म आगो सहन्छु, अन्याय सहन्नँ
म तृष्णा सहन्छु, तिरस्कार सहन्नँ
मेरो शिर उडाऊ, बरु त्यो सहन्छु
तर कोई परायाले टेके सहन्नँ

बनेको छ पहराले यो छाती मेरो
बगेको छ छहरा रगतमा मेरो
पखेरुमा जन्मी टाकुरामा खेल्ने
म झुक्दै नझुक्ने नेपालको छोरो । 

प्रकाशित: २३ जेष्ठ २०७४ ०६:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App