coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दक्षिणी पर्वतमा सेवाकेन्द्र स्थापना

पर्वत- जिल्लाको दक्षिण क्षेत्रलाई समेट्ने गरी हुवासमा सेवाकेन्द्र स्थापना भएको छ। हुवासमा सेवाकेन्द्र स्थापना भएसँगै नागरिकताको प्रमाणपत्र लिन हजारौ रुपैयाँ खर्च गरेर सदरमुकाम कुश्मा आउनु पर्ने बाध्यताको अन्त्य भएको छ।

सरौखोला, हुवास, त्रिवेणी, भोर्ले, टकलाक, बेउलीबास, पाखापानी, बालाकोट, लुंखुदेउराली, होश्राङ्दी, भोक्सिङ, उराम, वहाकी, शालिग्राम, रानीपानी र बर्राचौर गाविसको पायक पर्ने हुवासमा इलाका प्रशासन खुलेपछि सदरमुकाम जानुपर्ने बाध्यता हटेको हो।

‘आफु नेपाली हुँ भन्ने नागरिकताको प्रमाणपत्र लिनका लागि पनि हामीले कम्तीमा पाँच हजार खर्चनुपथ्र्यो’ हुवासका गिरिराज गौतमले भने–‘बिना खर्च गाउँमै नागरिकता पाउदा त्यो भन्दा ठूलो खुशी के रहन्छ र ?’  प्रजिअ शम्भुप्रसाद मरासिनीले हुवास–१ की १८ बर्षिय चन्द्रकुमारी रानालाई नागरिकता प्रदान गरी इलाका प्रशासन कार्यालयको शुभारम्भ गरेका हुन।

गाउँमै त्यो पनि इलाका प्रशासनबाट पहिलो सेवा लिन पाएपछि शारिरिक अपांगता भएकी राना निकै खुशी थिइन् । ‘दुई बर्षअघि नै नागरिकता लिने इच्छा थियो तर सदरमुकाम जानुपर्ने बाध्यताले लिन सकेकी थिइन’ उनले भनिन् । त्यस्तै हुवासका लालबहादुर प्रधानले बर्षौदेखिको सपना पुरा भएको बताए ।

‘एउटा नागरिकता लिन दुई जिल्ला पार गरेर जानुपथ्र्यो’ उनले भने–‘अब त्यसबाट मुक्त भएका छौ।’ सिधै कुश्मा पुग्ने सडक नहुदा त्यसक्षेत्रका बासिन्दा स्याङ्जा र कास्की हुदै सदरमुकाम कुश्मा पुग्नुपथ्र्यो । गाउँमा इलाका प्रशासन स्थापनाको अवसरमा स्थानीयले बाजा बजाएर नाचगान गरेका थिए।

विगतमा लामो समय सदरमुकाम बस्दै आएका गाउँ विकास समितिका सचिवहरु समेत इलाका प्रशासन कार्यालय गाउँमै खुलेपछि गाविसमै बस्ने अपेक्षा स्थानीयले गरेका छन् । विगतका धेरै सरकारले हुवासमा इलाका प्रशासन कार्यालय स्थापना गर्दै आएपनि अर्थमन्त्रालयले बजेटको स्वीकृति नदिदा कार्यान्वयन हुन सकेको थिएन ।

यहाँका सांसद अर्जुनप्रसाद जोशीसहित राजनीतिक दलका नेता, संघसंस्था र नागरिकको चर्को दबाबपछि अर्थमन्त्रालयले बजेटको स्वीकृति र सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको ब्यवस्थापन मिलाएको हो । इलाका प्रशासन कार्यालयको स्थापनापछि कार्यालयको सेवासँगै बजार अनुगमन र शान्ति सुरक्षामा समेत सुधार ल्याउन आफु निरन्तर लाग्ने कार्यालय प्रमुख सरस्वती सापकोटाले बताइन।

 

 

प्रकाशित: ४ श्रावण २०७३ ११:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App