८ वैशाख २०८१ शनिबार
समाज

सलबलाउन थाले सुन तस्कर

काठमाडौं- प्रहरीले एक किलो सुन र ४० लाख रुपैयाँसहित बौद्धमा २ जनालाई पक्राउ गरेको छ। कपडा पसलमा सुनको कारोबार गरिरहेको अवस्थामा मनोजकुमार अग्रवाल र राजन नेपालीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख छविलाल जोशीले जानकारी दिए।

जोशीका अनुसार बौद्धमा रहेको कपडा पसलमा सुनको कारोबार भइरहेको सूचनाका आधारमा खटिएको महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले अग्रवाल र नेपालीबीच सुनको कारोबार हुँदै गरेको फेला परेपछि सुन र पैसासहित पक्राउ गरेको थियो।

गत पुसमा विमानस्थलमा ३३ किलो सुन फेला परेपछि सुनको कारोबार रोकिए पनि पछिल्लो समय तस्करी पुनः सुरु भएको जानकार स्रोत बताउँछन्। सुन तस्करीमा स्थलमार्गभन्दा हवाईमार्गकै प्रयोग बढी हुने गरेको छ।

सुन तस्करीबारे जानकार स्रोतका अनुसार पछिल्लो समय हवाईमार्गको रुट पुनः सक्रिय भएको छ। पछिल्लो समय दुबईमा रहेका सुन तस्कर समूह पुनः सक्रिय भएका हुन्। वैदेशिक रोजगारीबाट फर्कने क्रममा तोकिएको ५० ग्रामभन्दा बढी सुन ल्याउनेहरू पक्राउ पर्ने गरे पनि संगठित रूपमा सुन भित्र्याउने समूह पक्राउ परेका छैनन्।

अहिले पनि काठमाडौंको सुने बजार तस्करीको सुनले नै धानिरहेको दाबी जनकार स्रोतको छ। विमानस्थल हुँदै नेपाल भित्र्एिको सुन स्थलमार्ग हुँदै भारत जाने क्रमसमेत नरोकिएको सुन तस्करीबारे जानकार एक प्रहरी अधिकारीले बताए।

सरकारले तोकेको खरिद गर्न पाउने सुनको परिमाण बढाएको छैन। बाणिज्य बैंकहरूले दैनिक १५ किलो सुन बिक्री गर्ने गरेका छन्। तर, दैनिक ४० किलो माग हुने सुन बजारमा सुनको अभाव छैन। तातोपानी हुँदै हुने तस्करी सो नाका बन्द भएपछि केरुङ सरेको थियो। ३३ किलो सुन फेला परेसँगै विमानस्थल प्रहरी र भन्सार कर्मचारीको संलग्नतामा विमानस्थलमार्फत हुने गरेको सुन तस्करीको जालो सार्वजनिक भएको थियो।

भन्सार अधिकृत श्रीनारायण यादव, कर्मचारीहरू राज ढकाल, श्यामकृष्ण श्रेष्ठ, प्रध्युम्नहरी श्रेष्ठ ,गंगा भुर्तेल र नेपाल प्रहरीका एसएसपी श्याम खत्री सोही अभियोगमा पक्राउ परे। दुबईमा बसेर सुन तस्करीमा संलग्न समूह र नेपालमा रहेका मुख्य योजनाकार पक्राउ परेका छैनन्। सोही समूह पुनः सुन तस्करीमा सक्रिय भएको स्रोतले बतायो।

तस्करीमा पुरानै समूह

३३ किलो सुन तस्करीको अनुसन्धानमा दुबईमा रहेका हरिशरण खड्कासहित ३१ जनाको नाम खुलेको थियो। उनी मुख्य योजनाकार रहेको प्रहरीले दाबी गरेको थियो। उनले दुबईमा बसेर नेपालमा आफ्ना सहयोगीहरू परिचालन गर्ने गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको निष्कर्ष थियो।

ब्युरोले सुन तस्करीको जालोमा खड्कासहित चुडामणि उप्रेती, रोशन भुषाल, रञ्जन पन्त, अर्जुनप्रसाद खरेल, रामहरी कार्की, रुबिन खड्का, सन्देश लोप्चन र प्रकाश खरेल, भोला मगर, माधव सुवेदी, विष्णु सुवेदी र संकेत खतिवडा र थर नखुलेका „ुव नामका व्यक्ति संलग्न रहेको उल्लेख गरेको थियो। ब्युरोको अनुसन्धान प्रतिवेदनअनुसार दुबईमा रहेका सन्तोष काफ्ले तस्करीको सुन संकलन गरेर नेपाल पठाउने मुख्य व्यक्ति थिए।

उनले नेपालमा गोपाल शाही र दिलबन्धु थापासँग सम्पर्कमा थिए। खड्का र शाही ३३ किलो सुन अनुसन्धानको पहिलो चरणमै समातिएका थिए। अनुसन्धानमा वैभव लक्ष्मी गोल्ड एन्ड सिल्भर प्यालेसका सञ्चालक राजेन्›कुमार शाक्य, सुनिल श्रेष्ठ  र मनोज श्रेष्ठ, शालिमार ज्वेलर्सका रामकृष्ण गोयल, कुसुम गोयल र राहुल गोयल, भारतीय नागरिक विभूति अनमोल बालचन्› र रवि राजेश बोगटीसमेत सुुन तस्करीमा सक्रिय रहेका देखाएको थियो।

सुन तस्करीमा ३० जना संलग्न देखिए पनि १२ जना मात्र पक्राउ परेका थिए। दुबईमा रहेका हरिशरण खड्का, रोशन भुसाल, रञ्जन पन्त, राजनप्रसाद पन्त र अर्जुनप्रसाद खरेल पक्राउ परेनन्। जानकार स्रोतले पछिल्लो समय दुबईमा रहेको सोही समूह नेपालमा पुनः नयाँ सहयोगी समूह बनाएर सुन तस्करीमा सक्रिय छन्।

प्रकाशित: २३ जेष्ठ २०७४ ०४:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App