८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेस, माओवादी र साना दल तालमेलका पक्षमा

इटहरी- माओवादी केन्द्र र राप्रपाबाहेक अन्य दलले इटहरी उपमहानगरपालिकामा मेयर–उपमेयरको उम्मेदवार टुंग्याउन नसके पनि दलहरू चुनावी अभियानमा केन्द्रित भएका छन्। इटहरीमा कांग्रेस, माओवादी र साना दल तालमेलका पक्षमा छन्। एमाले र राप्रपा तालमेल नगर्ने भएका छन्।

कांग्रेसका मेयरका आकंाक्षी हेमकर्ण पौडेलका अनुसार अहिलेसम्म तालमेल गर्न कुनै दलसँग औपचारिक संवाद भएको छैन। उनले तालमेलको सम्भावना भने रहेको बताए।

कांग्रेस र एमालेले वडाध्यक्षसहित २० वटै वडाको सदस्यको टुंगो लगाएका छन्। तर मेयर–उपमेयरको उम्मेदवार टुंग्याउन सकेका छैनन्। कांग्रेसले २० वटै वडामा घरदैलो अभियान तीव्र पारेको छ।

पौडेलले इटहरीमा कांग्रेसका उम्मेदवारलाई मतदाताले विश्वास गरेको दाबी गरे। ' यसपटकको निर्वाचनमा कांग्रेसको अवस्था राम्रो छ,' उनले भने, 'इटहरीवासीले आफ्नो ठाउँको समृद्धि र विकासका लागि नयाँ नेतृत्व चाहेका छन्।' इटहरीका मेयर–उपमेयरसहित सबै वडामा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने दाबी पौडेलको छ।

इटहरीमा कांग्रेसबाट मेयरका लागि पौडेल र रोहित प्रसाई आकांक्षी छन्। उपमेयरमा गीता श्रेष्ठ र विमला ढकाल दाबेदार हुन्। मेयर उम्मेदवार हेमकर्ण भए उपमेयर श्रेष्ठ र प्रसाई भए उपमेयर ढकाल हुने निश्चित छ।

इटहरीमा एमाले र राप्रपाले भने कुनै पार्टीसँग पनि तालमेल नगर्ने भएका छन्। एमालेका जिल्ला अध्यक्ष द्वारिकलाल चौधरीले राप्रपा र मालेले अनौपचारिक प्रस्ताव राखे पनि औपचारिक ढंगले प्रक्रिया अगाडि नबढेपछि तालमेल प्रसंग टुंगिएको बताए। 'सत्ता समीकरणअनुसार इटहरीको स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादीबीच तालमेल होला जस्तो छ। एमालेले अहिलेसम्म कसैसँग गर्ने संकेत छैन,' उनले भने। चौधरीले कांग्रेस–माओवादी तालमेल भएमा एमालेको कडा प्रतिस्पर्धा हुने बताए।

एमालेले केन्द्र र स्थानीय घोषणापत्र लिएर जनताको घरदैलोमा गएर मत मागिरहेको छ। ' राजनीतिक परिवर्तनबारे सबै जनता जानकार नहुँदा केही निराशाका कुरा पनि आउने गरेका छन्,' जनतासँग मत माग्न जाँदाको अनुभव सुनाउँदै चौधरीले भने। उनले मेयर–उपमेयरको उम्मेदवारबिना मत माग्न जाँदा मतदाताले जिज्ञासा राख्ने गरेका छन्। 'मत माग्न जाँदा खोइ त मेयर–उपमेयरका उम्मेदवार भनेर सोधिरहन्छन्,' चौधरीले भने। उनले यसअघिका निर्वाचनका आधारमा एमालेले सजिलै जित्ने दाबी गरे।

मेयरका लागि एमाले प्रदेश कमिटीले द्वारिकलाल चौधरी, सर्वध्वज साव र रामप्रसाद चौलागाईंको नाम सिफारिस गरेको छ। उपमेयरका लागि लक्ष्मी गौतम, अमला श्रेष्ठ र विष्णु शर्मा सिफारिस भएका छन्। एमाले स्थायी कमिटीले उम्मेदवारको टुंगो लगाउनेछ।

निर्वाचनमा माओवादी केन्द्र तालमेल गर्ने पक्षमा छ। माओवादीले मेयरमा हरिमाया जिमी र उपमेयरमा सागर सुवेदीको टुंगो लगाएर चुनावी अभियान थालेको छ। माओवादी जिल्ला संयोजक तथा इटहरी उपमहानगरपालिका निर्वाचन परिचालन कमिटी संयोजक शारदा पोखरेलले कसैसँग औपचारिक रूपमा तालमेल प्रक्रिया अगाडि नबढेको बताइन्। 'एमालेबाहेकका दलसँग तालमेल हुन सक्छ,' उनले भनिन्, 'अहिलेसम्म प्रक्रिया अगाडि बढिसकेको चाहिँ छैन।' एमालेसँग मेयर–उपमेयरबाहेक वडागत रूपमा भने तालमेल हुन सक्ने पोखरेलले बताइन्। '२०७० सालमा भएको संविधानसभा निर्वाचनभन्दा अहिले हाम्रो पार्टीको पोजिसन राम्रो छ। मेयर–उपमेयरसहित १२ वटा वडामा हाम्रो राम्रो सम्भावना छ।'

राप्रपाले भने कसैसँग तालमेल नगर्ने भएको छ। 'तालमेल गर्दा ठूला पार्टीमा आन्तरिक द्वन्द्व छ,' राप्रपा इटहरी नगर अध्यक्ष रामु पोखरेलले भने, 'कांग्रेस र एमालेले अहिलेसम्म मेयर–उपमेयरको उम्मेदवार टुंगो लगाउन सकेका छैनन्।' कांग्रेस–एमालेले मेयर–उपमेयर उम्मेदवार टुंगो लगाउन नसक्दाको फाइदा राप्रपालाई पुगेको दाबी पोखरेलले गरे। उनले भने, 'ठूला पार्टीले उम्मेदवार चयन गर्न त सकेका छैनन्। अरू बेला ठूला पार्टीलाई दिनुभो, यसपटक हामीलाई रोज्नुहोस् भन्दा मतदाता सकारात्मक छन्।'

राप्रपाबाट मेयरमा रोहित कार्की र उपमेयरमा माया रायमाझी चुनावी प्रतिस्पर्धामा छन्। माया माओवादी द्वन्द्वका बला हत्या गरिएका गीतानिधि रायमाझीकी पत्नी हुन्। 'जहाँ जान्छु, सबैले साहनुभूति व्यक्त गरेको पाएको छु,' मायाले भनिन्।

निर्वाचनमा संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति नेपाल र कुमार लिङ्देन नेतृत्वको संघीय लोकतान्त्रिक सम्बद्ध संघीय लिम्बुवान मञ्चबीच तालमेल हुने भएको छ। यो गठबन्धनबाट मेयरमा देवी खनाल लड्ने भएका छन्। खनाल सेवा निवृत्त सरकारी कर्मचारी हुन्। गठबन्धनबाट उपमेयर, वडाध्यक्ष र सदस्यको टुंगो लाग्न बाँकी छ।

संघीय समाजवादी फोरमका सुनसरी जिल्ला वार्ता संयन्त्र समितिका संयोजक पदम अधिकारीले तीन दलको गठबन्धनले इटहरीमा कांग्रेस–एमालेलाई टक्कर दिने बताए। ' उनले भने, 'इटहरीमा हाम्रो गठबन्धन, कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुनेछ।'

नेपाल लोकतान्त्रिक फोरमले पनि मेयर–उपमेयरको उम्मेदवार तय गर्न बाँकी छ। उम्मेदवार तय गरेपछि जिल्लाबाट सकुर्लर आएमा तालमेल प्रक्रिया अगाडि बढाउने फोरमका इटहरी अध्यक्ष कोविदजंग कार्कीले बताए। उनले भने, 'इटहरी हाम्रा केन्द्रीय अध्यक्ष विजयकुमार गच्छदारको पुरानो निर्वाचन क्षेत्र भएकाले उहाँकै निर्देशनमा तालमेल हुन्छ।'

इटहरी दुई वर्षअघि हाँसपोसा, एकम्बा, पकली र खनार गाविस गाभिएर उपमहानगरपालिका बनेको हो। यसअघिका स्थानीय निकाय निर्वाचनमा इटहरीको मेयरमा एमालेका उम्मेदवार विजयी भएका थिए।

इटहरीमा कुल मतदाता ७७ हजार ६७७ छन् । जसमा पुरुष ३५ हजार १४९ र महिला ४२ हजार ५२८ छन्।

प्रकाशित: २३ जेष्ठ २०७४ ०२:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App