७ वैशाख २०८१ शुक्रबार
अर्थ

६ मुलुकले तोडे कतारसँगको सम्बन्ध

काठमाडौं- मध्यपूर्वका ६ देशले कतारसँगको कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेसँगै खाडी क्षेत्रमा नयाँ संकट देखिएको छ। कतारले आतंकवादी र अतिवादी समूहलाई सहयोग गरेर खाडी क्षेत्रमा अस्थिरता उत्पन्न गराउन खोजेको भन्दै साउदी अबर, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, इजिप्ट, लिबिया र यमनले कूटनीतिक सम्बन्ध तोडेका घोषणा गरेका हुन्। सुरुमा साउदी र बहराइनले घोषणा गरेका थिए। त्यसपछि अरु देशले पनि उनीहरुलाई पछ्याए।

'आतंकवादी र अतिवादीको खोजीबाट राष्ट्रिय सुरक्षा संरक्षण गर्न कतारसँग कूटनीतिक सम्बन्ध अन्त्य गर्ने र स्थल, जल र उड्डयन सबै सम्पर्क बन्द गर्ने' निर्णय गरेको एक अधिकारीलाई उद्धृत गर्दै साउदी समाचार एजेन्सीले लेखेको छ।

'यस क्षेत्रलाई अस्थिर बनाइराख्न मुस्लिम ब्रदर्सहुड, इस्लामिक स्टेट, अलकायदालगायतका धेरै आतंकवादी तथा विद्रोही समूहलार्ई (कतारले) आफूसाथ राखेको छ, उसकै मिडियाको माध्यमबाट त्यसको सन्देश र योजना निरन्तर रुपमा प्रसारित गर्दै आएको छ', साउदीले जनाएको छ। साउदीले कतारको सञ्चारमाध्यम अल जजिरालाई लक्षित गरेको हो।

कतारले अरब देशमा भएको विद्रोहका समयमा आफ्नो सञ्चारमाध्यम तथा राजनीतिक शक्ति प्रजातन्त्रवादी शक्तिका लागि प्रयोग गरेको थियो।

साउदी अरबले इरानको सहयोग प्राप्त गरेको भनिएका सियाबहुल पूर्वी क्षेत्र र बहराइनमा जारी लडाकु गतिविधिलाई कतारले सहयोग गरिरहेको आरोप लगाएको छ।

साउदीले आफ्ना नागरिकलाई १४ दिनभित्र कतार छाडिसक्न र कतारीलाई देश प्रवेशमा प्रतिबन्ध घोषणा गरेको छ। अन्य देशले समेत साउदीको कदमलाई पछ्याएका छन्।

कतारले भने निराधार आरोप लगाएर कूटनीतिक सम्बन्ध तोड्ने कार्य अन्यायपूर्ण भएको भन्दै आफूमाथि राजनीतिक अभिभावकत्व लिन खोजेको जनाएको छ। 'झूटो र आधारहीन दाबीका आधारमा यो अन्यायपूर्ण कदम चालिएको छ,' कतारी विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, 'यसको उद्देश्य यो राष्ट्रमाथि अभिभावकत्व थोपर्न खोजिएको छ। यसले कतारको सार्वभौमिकतालाई उल्लंघन गरेको छ।'

कतारले विश्वकै सबैभन्दा पुरानो इस्लामिक आन्दोलन मुस्लिम ब्रदरहुडलाई समर्थन गरेपछि यो घटना विकसित भएको हो। ६ देशले कतारमाथि इरानको अजेडालाई सहयोग गरेको आरोप लगाएका छन्।  खाडी क्षेत्रमा लामो समयदेखि सिया र सुन्नी समुदायबीच संघर्ष चल्दै आएको छ। सुन्नीको नेतृत्व साउदी अरबले गर्दै आएको छ भने सियाको नेतृत्व इरानले गर्छ।

पछिल्लो घटनाक्रमले कतार करिबकरिब नाकाबन्दीको अवस्थामा पुगेको  छ। यसको ८५ प्रतिशत आयात रोकिएको छ। बिबिसीले कतारमा कम्तीमा ४० प्रतिशत खाद्यान्न साउदी अरबबाट आउने गरेको जनाएको छ।

सन् २०१४ मा पनि आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै साउदी अरब, युएई र बहराइनले कतारबाट आफ्ना राजदूत फिर्ता बोलाएका थिए। कतारले आफ्नो वित्तीय तथा राजनीतिक शक्तिको आधारमा लिबिया, इजिप्ट, सिरिया, इराक र यमनमा हुने घटनालाई प्रभावित बनाउँदै आएको छ। अमेरिकी सैनिक शिविरसमेत रहेको कतारविरुद्धको यो कदमले पूरै मध्यपूर्वका प्रभाव पार्ने देखिन्छ।

सन् २०२२ मा विश्वकप फुटबल आयोजना गर्ने तयारीमा रहेको कतारको अन्तर्राष्ट्रिय प्रतिष्ठामा कूटनीतिक संकटले धक्का लाग्ने देखिन्छ। धेरै वर्षदेखि कतारले क्षेत्रीय विवादमा मध्यस्थकर्ता र पावर ब्रोकरको रुपमा काम गर्दै आएको थियो।

अमेरिकाले बहराइनमा रहेको नौसैनिक बेडाबाट मध्यपूर्व र मध्य एसियामा पेट्रोलिङ गर्छ भने कतारको वायु सैनिक शिविरबाट यस क्षेत्रमा लडाकुविरुद्ध कारबाही गर्दै आएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस क्षेत्रका भ्रमण गरेको १० दिनपछि यो घटना भएको हो। भ्रमणका क्रममा इरान लडाकु समूहलाई आर्थिक सहयोग गर्ने देश भएको संकेत गर्दै ट्रम्पले इस्लामिक अतिवादीविरुद्ध सबै मुस्लिम देशलाई एकजुट हुन आह्वान गरेका थिए।

आर्थिक समस्या

खाडी क्षेत्रमा तनाव बढेपछि विश्वबजारमा तेलको भाउ अकासिएको छ। कूटनीतिक सम्बन्ध तोडिएको घोषणासँगै एक ब्यारेल (करिब १ सय ६० लिटर) कच्चा तेलका मूल्य ५० अमेरिकी डलर पुगेको छ। अरब खाडी विश्वको सबैभन्दा धेरै तेल उत्पादन हुने क्षेत्र हो।

पछिल्लो समयमा कतार एसिया र युरोपलाई हवाईमार्गले जोड्ने केन्द्रको रुपमा विकास भएको थियो। त्यो नराम्रोसँग प्रभावित हुने देखिन्छ।

साउदी अरबले अन्तर्राष्ट्रिय कम्पनीहरुलाई कतारसँग सम्बन्ध तोड्न आह्वान गरेको छ। साउदी अरब, युएइ र बहराइनले कतारसँगको यातायाता सम्बन्धलाई स्थगित गरेका छन् र कतारी नागरिकलाई १४ दिनभित्र देश छाड्ने निर्देशन दिएका छन्।

युएई सरकारको इतिहाद एयरले मंगलबार बिहानबाट अर्को सूचना नहुन्जेलसम्म दोहाका लागि सबै उडान स्थगित भएको जनाएको छ। अहिलेको कूटनीतिक संकटले कतार एयरवेजले मध्यपूर्वको ठूलो बजार गुमाउने अनुमान गरिएको छ।

प्रकाशित: २३ जेष्ठ २०७४ ०१:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App