७ वैशाख २०८१ शुक्रबार
समाज

चुनौतिपूर्ण बन्दै जलवायु परिवर्तन

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तन विश्वका सबै मुलुकका निम्ति चुनौतीपूर्ण बन्दै गएको बताएकी छन्। वातावरण दिवसको अवसरमा सोमबार जनसंख्या तथा वातावरण मन्त्रालयले प्रज्ञा प्रतिष्ठा भवन कमलादीमा गरेको कार्यक्रममा उनले वातावरणीय चुनौति सामाना गर्न कठिन हुँदै गएको बताएकी हुन् । उनले  जलवायु परिवर्तनका कारण धेरै जीवजन्तुको अस्तीत्व लोप भइसकेकोले यससँग जुध्न विश्वका सबै मुलुकहरु एकजुट हुन आवश्यक रहेको बताइन् । ‘सन्तुलित वातावरण बिना मानिसको अस्तित्व रहँदैन,’ उनले भनिन्, ‘वातावरण सन्तुलन राख्नका लागि छुट्टै खालको काननु आवश्यक छ।’ उनले मानिसकै लापरबाहीले गर्दा वातावरण बिग्रदै गएकोले निजी क्षेत्र, नागरिक समाज र सरकार सबै मिलेर यसको संरक्षणतर्फ लाग्नुपर्नेमा जोड दिइन् ।

‘प्रकृतिसँग हाम्रो सम्बन्ध, रहिरहोस् अनन्त’ भन्ने नाराका साथ आयोजना भएको  कार्यक्रममा राष्ट्रपति भण्डारीले बाग्मति सफाइ अभियानको प्रशंसा समेत गरिन् । ‘खोला किनारका खुला स्थान वरिपरी विरुवा रोप्नु प्राचिन सभ्यता हो,’ उनले थपिन, ‘अब सरकारले हरियाली बचाउन र वातावरण जोगाउनका लागि ठोस कदम चाल्न जरुरी छ ।’

जनसंख्या तथा वातावरण मन्त्री जयदेव जोसीले वातावरण संरक्षणका लागि सरकारले नयाँ नीतिगत व्यवस्था ल्याउन लागेको जानकारी दिए । ‘जलवायु परिवर्तन र वातावरणीय ह्राससँग जुध्न सरकारले नयाँ नीति ल्याउने तर्खर गरेको छ,’ उनले भने, ‘मानिसकै कमजोरीका कारण विश्वमा वातावरणीय घटना उकालो लाग्दैछन्, त्यसैले यसबारे समयमै सावधानी अपनाउन जरुरी छ ।’

मन्त्रालयले वातावरण तथा जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दै आएका केहि व्यक्तिलाई सम्मान पनि गरेको थियो । विश्वभर जुन ५ का दिन विश्व वातावरण दिवस मनाइन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर यो दिवस हरेक वर्ष मनाइने गरिन्छ ।

यसैबीच नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले ‘विश्व वातावरण दिवस—जून ५’ को ‘वातावरण पत्रकारिता पुरस्कार’ प्रगति ढकाललाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारमा २५ हजार रुपियाँ नगद र प्रमाण–पत्र समावेश छ । समूहले प्रत्येक वर्ष जुन महिनाको ५ तारिख विश्व वातावरण दिवसको अवसरमा सन् २०१६ भरि वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाईनमा उत्कृष्ट लेख–रचनाहरू प्रकाशित गर्ने वा कार्यक्रम प्रस्तुत गर्ने पत्रकारमध्येबाट छनौट गरेर यो पुरस्कार प्रदान गर्ने गरेको छ।

प्रकाशित: २२ जेष्ठ २०७४ १४:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App