८ वैशाख २०८१ शनिबार
समाज

बौद्धनाथमा राखिएको डिस्प्ले हटाउन अल्टिमेटम

काठमाडौं- पुरातत्व विभागले बौद्धनाथ स्तूपमा राखिएको डिजिटल बोर्ड मंगलबार विहान १० बजेभित्र हटाउन निर्देशन दिएको छ। बौद्ध तथा मेलम्ची घ्याङ गुठीले २८ दिनदेखि अवैध रुपमा बौद्धनाथ स्तूप सौन्दर्य नै छोपिने गरी बोर्ड राख्दै आएको थियो। सम्पदाप्रेमि र बौद्धका स्थानीयको चर्को दबाबपछि सोमबार विभागमा भएको छलफलमा बोर्ड हटाउने सहमति भएको हो।

मंगलबार विहान १० बजेभित्र गुठीले बोर्ड नहटाए काठमाडौं महानगरपालिका अन्तर्गतको नगर प्रहरीले हटाउने सहमति भएको छ। पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले एक दिनका लागि दिएको सहमतिलाई गुठीले अटेरी गर्दै आएकोले मंगलबार विहान १० बजेसम्मका लागि अल्टिमेटम दिइएको बताए।  ‘यदी गुठीले १० बजेसम्म बोर्ड नहटाए महानगरपालिकाको नगर प्रहरी प्रयोग गरेर हटाउने सहमति भएको छ,’ उनले भने । उनले यसअघि बारम्बार पत्राचार गरेर हटाउन निर्देशन दिए पनि गुठीले अटेरी गर्दै आएको बताए ।

 बुद्ध जयन्तीको अवसरमा पूरातत्व विभागले बौद्ध स्तूपको उत्तरतर्फको ठूलो माने ढयुङगुरको बाहिरी पर्खालमा मेलम्ची घ्याङ गुठीलाई वैशाख २७ गते एकदिनको लागि इलेक्ट्रिक डिस्प्ले राख्न अनुमति दिएको थियो । तर, गुठीले  सम्झौतालाई अवज्ञा गर्दै बोर्ड हटाउन  अटेरी गर्दै आएको थियो ।

‘एकदिनको लागि भनेर राखिएको बोर्ड यतिका दिनसम्म पनि हटाइएको छैन, हामीले बारम्बार आग्रह गर्दापनि गुठीले वास्तै गरेन,’ बौद्धनाथ क्षेत्रविकास समितिका अध्यक्ष सम्पूर्ण कुमार लामाले भने, ‘हामीले उक्त बोर्ड हटाउन भनि पूरातत्व विभाग, जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रशासन सबैसँग सहमति भएका छ ।’ उनले यसअघि समितिका अध्यक्ष लामाले गुठीका प्रमुख चिनियाँ लामाले बोर्ड नहाउने भन्दै दादागिरी देखाएको आरोप लगाए।

झन्डै २२ फिट लामो बोर्डमा बुद्धको फोटा, दलाइ लामाको तस्बिर, व्यवसायीक विज्ञापन र मनोरञ्जनात्मक सामाग्रीहरु डिस्प्ले गरिन्छ।

बुद्ध जयन्तीका अवसरमा आयोजित कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्न माग आएपछि वैशाख २५ गते विभागले अनुमति दिएको थियो ।

काठमाडौं महानगरपालिका वडा ६ का अध्यक्ष दिपेन्द्र लामाले यसलाई मंगलबार हटाइने बताए । ‘ऐतिहासिक सम्पदा क्षेत्रमा अबैध बोर्ड राख्न हुँदैन,’ उनले भने, ‘यस्तो ठाउँमा यस्ता बोर्डहरु राख्नै हुँदैन ।’

प्रकाशित: २२ जेष्ठ २०७४ ११:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App