१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खुम्चिदो खर्पन संस्कृति

काठमाडौं- 'सामान बोक्नुपरे खर्पन नै प्रयोग गर्छु,' गत साता टुकुचा तरकारी बजारमा भेटिएका भक्तपुरका पूर्ण भाषिकाले खर्पन उठाउँदै भने।

आफैँले उत्पादन गरेको तरकारी बेच्न उनी प्रदर्शनीमार्ग नजिकको यो बजारमा आउने गर्छन्। 'नेवार समुदायमा खर्पन बोक्ने चलन पहिलेदेखि नै चलिआएको हो,' उनी भन्छन्, 'यसैमा बोक्ने बानी परिसकेको छ।'

खर्पन राजधानी र वरपर बस्नेका लागि नौलो होइन। उपत्यकामा अझै पनि कतिपय स्थानीय नेवार समुदाय आफैले उत्पादन गरेको तरकारी खर्पनमा राखेर बेच्न निस्कन्छन्।

राजधानीमा बाहिरी जिल्लाबाट आउने तरकारीभन्दा खर्पनको तरकारीलाई ताजा मानिन्छ। कतिपयलाई उपत्यकामै उत्पादन भएको र स्थानीयले खर्पनमा घरघर पुर्‍याई बेच्ने तरकारीमा रस बसेको हुन्छ।

भक्तपुर थिमीकी इन्दिरा भण्डारी खर्पनबाट तरकारी किन्न रुचाउँछिन्। उनी भन्छिन्, 'यहीँ उत्पादन भएको भएर हो कि? खर्पनमा राखिएको र लोकलले बेच्ने तरकारी फ्रेस लाग्छ।'

हरियो तरकारी खर्पनमा बोकेर बजारसम्म पुर्‍याउनु मध्यपुर थिमीका धेरै बूढापाकाको दिनचर्याजस्तै हो।

तर, नयाँ पुस्ताले यसमा रुचि देखाएउन छाडेका छन्। आफ्नो खेतबारीमा उत्पादित तरकारी बेचेरै घरखर्च चलाउँदै आएका थिमीका कृष्णभक्त श्रेष्ठ पछिल्लो समय खर्पनको प्रयोग घट्न थालेको बताउँछन्। 'नेवार समुदायभित्रका ज्यापुले खेतबारीमा उत्पादन भएका वस्तुलाई बजारसम्म पुर्‍याउने साधन नै खर्पन हो, पहिला–पहिला खर्पनबिना दिनचर्या चल्दैनथ्यो,' उनी भन्छन्, 'अहिले नेवार समुदायमा पनि नाम्लोले टाउकोमा भारी बोक्ने चलन आइसक्यो।'

मुलपानीका शम्भूगोविन्द श्रेष्ठलाई पनि खर्पनमा सामान बोक्न सहज लाग्छ। उनी बजारबाट कुनै नयाँ सामान ल्याउनुपरे खर्पनकै प्रयोग गर्छन्। 'पुस्तौंदेखिको बानीले होला, खर्पन नै सजिलो लाग्छ,' उनले भने। छोराछोरीले खर्पन प्रयोग नगर्दा पुरानो संस्कृति नै लोप हुन्छ कि भन्ने उनलाई चिन्ता छ।

उपत्यकाका ज्यापु समुदायले खेतीपातीका सिलसिलमा खाजा, मल–बिउ, धान–पराललगायत सामान बोक्न खर्पन प्रयोग गर्छन्।

माइती–मावलीदेखि एक ठाउँबाट अर्को ठाउँमा सामान पुर्‍याउन खर्पन नै प्रयोग हुन्छ। 'खर्पन ज्यापुको मौलिक संस्कृति हो,' भक्तपुरका संस्कृतिपे्रमी तेजेश्वर बाबु ग्वंग भन्छन्, 'जहाँ पनि संस्कृति, परम्परा, चालचलन बहुआयामिक नै हुन्छ। हाम्रो समाजको मौलिकतासँग जोडिएको खर्पन संस्कृति लोप हुनु समाजकै विविधता घट्नुजस्तै हो।' आधुनिकताले गर्दा पछिल्लो समय खर्पन, हाकुपटासी र दौरा–सुरुवालको प्रयोग बिस्तारै घट्दै गएको उनले बताए।

अहिले पनि भक्तपुरको बालकोट, दधिकोट, मध्यपुर थिमी, काठमाडौंको स्वयम्भू, चक्रपथ, मुलपानी, नगरदेशलगायत क्षेत्रका बूढापाका तरकारी बजारसम्म पुर्‍याउन खर्पनकै प्रयोग गर्छन्। तर ज्यापु समुदायको पुरानो र मौलिक संस्कृतिकारुपमा रहेको खर्पनको प्रयोग सीमित बन्दै गएको छ। नयाँ पुस्ताले यसलाई अपनाउन छाडेका छन्। 

तीन प्रकारका खर्पन

स्थानीय बुढापाकाका अनुसार खर्पन तीन प्रकारका हुन्छन्–चकोंल्हँ, वाचाकोंल्हँ र गकोंल्हँ। संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार चकोंल्हँ खर्पन खुला आकारको हुन्छ। नेवार समुदायका किसानले हलुका सामान बोक्न यसको प्रयोग गर्छन्। त्यस्तै, वाचाकोंल्हँ खर्पन डोको आकरको हुन्छ। मसिनो पारेर चोयाले यस्तो खर्पन बुन्ने गरिन्छ भने गकोंल्हँ खर्पन डाली आकारको गहिरो हुन्छ। नेवार समुदायले कालो धान (हकुवा) भिœयाउने बेला यही खर्पन प्रयोग गर्छन्।

पहिले–पहिले प्रयोग गरिने सबैखाले खर्पन बाँस र विशेष प्रकारको रूखकै चोयाबाट बनाइन्थ्यो। अहिले भने फलामका डण्डीबाट पनि खर्पन बनाउन थालिएको छ। 'सबै समाज र संस्कृति परिवर्तनशील भएपनि समाजको गरिमा गुम्नेगरि संस्कृति लोप हुनु दुःखद् हो,' जोशीले भन्छन्, 'खर्पन संस्कृतिले नेवार समुदायमा ठूलो महŒव बोकेको छ।'

उनका अनुसार १० वर्षअघिसम्म उपत्यकाका चोकैपिच्छे खर्पनमा अन्न र तरकारी बेच्ने किसानकोे भीड लाग्थ्यो। 'अचेल खर्पन बोक्ने मान्छे भेटाउन मुस्किल छ,' जोशी भन्छन्। 

खर्पन संस्कृति कहिले सुरु भयो भन्ने यकिन छैन। 'खासगरी खर्पन नेवारभित्र पर्ने ज्यापुकै संस्कृति हो,' संस्कृतिविद् हरिराम जोशी भन्छन्, 'पहिले–पहिले खर्पनको प्रयोग धेरै हुन्थ्यो अहिले संस्कृति नै लोप हुन थालेको छ।'

प्रकाशित: २२ जेष्ठ २०७४ ०६:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App