coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सोलुखुम्बुमा कांग्रेसले अझै उम्मेदवार टुंग्याउन सकेन

सोलुखुम्बु- स्थानीय तह निर्वाचनका लागि सोलुखुम्बुका नगर तथा गाउँपालिकामा नेपाली कांग्रेसले अझै उम्मेदवार टुंगो लगाउन सकेको छैन।

नेकपा (एमाले) र माओवादी केन्द्रले उम्मेदवार टुंगो लगाई घरदैलो र प्रचारप्रसार अभियान सुरु गरेको अवस्थामा कांग्रेसले उम्मेदवार टुंग्याउन ढिलो गरेकोमा स्थानीय नेता र कार्यकर्ताले चिन्ता व्यक्त गरेका छन्।

'सोलुखुम्बु कांग्रेसको राम्रो पकड भएको ठाउँ हो। तर, समयमै उम्मेदवार टुंगो नलगाएमा प्रचारप्रसार तथा घरदैलो अभियानलाई असर पर्नसक्छ,' सोलुखुम्बु कांग्रेसका एक स्थानीय नेताले भने, 'केन्द्रीय नेताले हानथाप गरी योग्य उम्मेदवार नछान्दा त्यसको असर पर्न सक्छ। जनतासँग भिजेका योग्य उम्मेदवार छानेर प्रचारप्रसारमा जुट्नुपर्छ।'

सोलुमा माओवादी केन्द्रले वैशाख दोस्रो साता नै उम्मेदवार घोषणा गरी चुनावी अभियानलाइ तीव्र पार्दै गएको छ। एमालेले पनि साताअघि उम्मेदवार टुंगो लगाई घरदैलो अभियानमा व्यस्त रहेको छ। जिल्लाको एकमात्र सोलुदूधकुण्ड नगरपालिकामा एमालेले सल्लेरीका आङ्दामी शेर्पालाई मेयर र कल्पना नाछिरिङलाई उपमेयरमा उठाएको छ। माओवादी केन्द्रले ङिमा तेण्डुप शेर्पालाई मेयर र निमा गेल्मु शेर्पालाई उपमेयरमा अघि सारेको छ। कांग्रेसबाट सोलु दुधकुण्ड नगरपालिकाको मेयरमा नाम्गेल जाङबु शेर्पा, छिन्डील्हामु शेर्पा, दाबागेलु पाखि्रन, कुसाङ शेर्पा लगायतको दाबी छ। बलबहादुर केसी र आङगेलु शेर्पाको छुट्टछुट्टै दुई गुटमा बाँडिएको सोलुखुम्बु कांग्ा्रेसले नगर तथा गाउँपालिका उम्मेदवारको नाम टुंग्याउन नसकेपछि केन्द्रमा पठाइएको थियो। 

युवामा लोकप्रिय तथा बौद्धिक पृष्ठभूमिका नाम्गेल जाङबु शेर्पाको चर्चा कांग्रेसका अन्य उम्मेदवारभन्दा बढी छ। नाम्गेल सोलुदुधकुण्ड नगर विकास समितिका अध्यक्षसमेत हुन्। 'मैले टिकट पाएर जित्न सके भने नगरलाई नमुना बनाउने विकासका धेरै योजना मसँग छन्,' नाम्गेलले भने, 'राजनीतिलाई विकासको माध्यमका रूपमा प्रयोग गर्छु।' सोलुखुम्बुमा एक नगरपालिका र सात गाउँपालिका छन् । सबै नगर तथा गाउँपालिकामा स्थानीय स्तरमै छलफल गरेर उम्मेदवार टुंगो लगाएको माओवादी केन्द्र सोलुखुम्बुका प्रचार विभाग प्रमुख धु्रव पराजुलीले बताए।

प्रकाशित: २२ जेष्ठ २०७४ ०६:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App