८ वैशाख २०८१ शनिबार
समाज

कसैका धारामा पानी, कसैकामा हावा

काठमाडौं- तीनकुनेकी कमला श्रेष्ठको घरमा धाराबाट पानी आउँदैन। पानी नआउँदा उनको परिवार र भाडामा बस्नेले पानीका लागि ट्याङकरकै भर पर्नुपरेको छ। मुस्किलले महिनाको दुईपटक आएको तुरतुरे पानी पनि दुइटा भाँडा नभरिँदै सकिन्छ। उनी काठमाडौं उपत्यका  खानेपानी लिमिटेड (केयुकेएल) की उपभोक्ता हुन्।

'छिमेकीको धारामा महिनाको ६ पटकसम्म पानी आउँछ, आफ्नोमा भने महिनाको दुईपटक पनि राम्रोसँग पानी आउँदैन, आएको पनि एकैछिनमा बन्द हुन्छ,' कमला भन्छिन्।

बानेश्वर थापागाउँका सुरेश आचार्यको समस्या पनि कमलाको जस्तै छ। उनको घरमा महिनाको एकपटक मुस्किलले पानी आउने गरेको छ। 'केयुकेएलले वितरण प्रणालीको अनुगमन नगर्दा कसैकोमा ट्यांकी भरिने पानी आउँछ कसैकामा भने आउनै नपाई सुक्छ,' उनी भन्छन्।

कमला र सुरेश त उदाहरण मात्र हुन्। उपत्यकाबासी धेरैले यस्तै समस्या खेपिरहेका छन्। केयुकेएलले वितरण गरेका पानी तान्नका लागि केहि घरधनीले मोटर प्रयोग गर्ने गरेकाले धेरैले यस्तो समस्या बेहोरेका हुन्।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडको मापदण्डलाई अटेर गर्दै अहिले उपत्यकाका घर धनीले केयुकेएलले वितरण गरेको पानी तान्न मोटर प्रयोग गरेका छन्। मोटर प्रयोग गर्दा पानीको बहाव एकैतिरको धारोमा जाने हुँदा हिजोआज अधिकांश उपत्यकावासीको धारामा पानी आउनै छाडेको छ।

केयुकेएलका प्रवक्ता सुरेश आचार्यका अनुसार उपभोक्ताले पानी तान्न विद्युतीय मोटर तथा पम्प प्रयोग गर्न पाउँदैनन्।  'मोटरले पानी तानेको पाइएमा मेसिन जफत गरी पानीको लाइनसमेत काटिदिन्छौं।'

आचार्यका अनुसार कात्तिकयता केयुकेएलको मापदण्ड मिचेर मोटरको प्रयोगमा पानी तान्ने दुई हजार भन्दा बढी उपभोक्ता कारबाहीमा परेका छन्। 'घरधनिले नियम मिचेर पानी तानेको भन्ने विषयमा आएका उजुरीबाटै हामीले कारबाही गरेका छौँ,' उनले भने, 'कसैले मापदण्ड मिच्छ भने सजाय दिएरै छाड्छौँ।'

हालसम्म उपत्यकाका दुई लाख ५ हजार उपभोक्ताको घरमा केयुकेएलको धारा जडान गरिएको छ। तर, सबै उपभोक्ताको घरमा समान रूपमा पानी नखस्दा उपभोक्ता मर्कामा परेका छन्। अहिले महांकाल चौर पानी वितरण प्रणाली र बालाजु पानी वितरण प्रणालीबाट महिनाको ६ पटक उपत्यकाका धारोमा पानी पठाउने गरिएको छ।  'केयुकेएलले रुट अनुसार महिनाको ६ पटकसम्म पानी वितरण गरेका छौँ,' उनले भने। 

छैन अनुगमन

उपभोक्ताका घरमा समान रूपमा पानी आउँछ वा आउँदैन? अनुगमन गर्ने जिम्मा केयुकेएलको हो। तर, केयुकेएलले अनुगमन गर्न छाडेको छ। अनुगमन नभएकै कारण अहिले उपत्यकाका धेरै घरधनीले पानी तान्न विद्युतीय मोटर प्रयोग गर्दै आएका छन्।

केयुकेएलले पानी तान्न विद्युतीय मेसिन प्रयोग गरेका घरधनीलाई कारबाही नगरेको अनामनगरका स्थानीय सुवास शर्माले बताए। 'अहिले उपत्यकाका धेरै घरधनीले मेसिन लगाएर पानी तान्ने गरेका छन्,' उनले भने, 'अनामनगर, नयाँबानेश्वर, तीनकुने, कोटेश्वरलगायत क्षेत्रका अधिकांश उपभोक्ता मेसिनबाटै पानी तान्छन्। तर, केयुकेएलले कुनै अनुगमन गरेको छैन।'

यता केयुकेएलका प्रवक्ता आचार्यले कर्मचारी अभाव देखाउँदै अनुगमन गर्न नसकिएको बताए। उनले सबै उपभोक्ताको घरघरमा अनुगमन गर्न नसकिने जानकारी दिए। 'सेवाग्राहीबाट आएको उजुरीको आधारमा कारबाही गरेका छौँ,' उनले भने, 'सबै उपभोक्ताको घरमा पुग्ने जनशक्ति छैन।' 

प्रकाशित: २२ जेष्ठ २०७४ ०६:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App