८ वैशाख २०८१ शनिबार
अर्थ

पर्यटक आगमन दरमा उत्साहजनक वृद्धि

झापा- सन् २०१७ को सुरुआतमा सुस्त देखिएको विदेशी पर्यटक आगमन दर पछिल्लो केही महिनामा ह्वात्तै बढेको छ। पूर्वी नाकाको पैदलमार्ग हुँदै नेपाल भित्रने विदेशी पर्यटक संख्या बढेपछि पूर्वको पर्यटन कारोबारले यतिबेला राहत महसुस गरिरहेको छ।

पर्यटन क्षेत्रमा काम गरिरहेका सरकारी अधिकारी तथा व्यवसायीहरुका अनुसार नेपालमा देखिएको शान्तिपूर्ण अवस्थाले पर्यटक आगमन दरमा उत्साहजनक वृद्धि भएको हो। नयाँ संविधान जारी हुने बेलाको आन्तरिक सकस, त्यसले उत्पन्न गरेको असुरक्षा, भारतीय नाकाबन्दी तथा मधेसमा चलेको लामो आन्दोलनका कारण लामो समय पूर्वी नाका ठप्पप्रायः रह्यो। त्यसपछिका कयौं महिनामा पनि अवस्था सुध्रनै सकेन।

तर, पछिल्ला तीन महिनामा पर्यटक आगमन दर लगातार उकालो लाग्दो छ। यसले सरकारी तथा निजी क्षेत्रलाई उत्साही बनाएको छ। 'बिस्तारै छाउँदै गएको शान्ति, उल्लेख्य रुपमा घटेको बन्द–हड्तालको क्रमले पर्यटक आगमन दरमा उत्साहपूर्ण संकेत देखिएको छ,' पर्यटन व्यवसायी ऋषि तिम्सिनाले भने, 'यही क्रम जारी रहे अरु सुधार हुन सक्छ।'

व्यवसायी तथा सरकारी निकाय यसरी पुलकित हुनुको कारण तथ्यांकले नै देखाउँछ। काँकडभिट्टास्थित अध्यागमन कार्यालय प्रमुख रामप्रसाद फुयाँलले दिएको जानकारी अनुसार  सन् २०१७ को जनवरीदेखि मे सम्मको  पाँच महिनाभित्र पूर्वी नाका भएर आठ हजार ७९ जना पर्यटक नेपाल प्रवेश गरेका छन् । यो संख्या अघिल्लो वर्षको पूरैभन्दा पनि बढी हो। गत वर्षको यही अवधिमा तीन हजार ३६ जना मात्र पर्यटक आएका थिए।

गत वर्ष ६ हजारको हाराहारीमा पर्यटक आएका थिए। तर, यसपटक पाँच महिनामै अघिल्लो वर्षभन्दा धेरै  पर्यटक आइसकेका छन्। अहिलेको अवस्था जारी रहे अबको सात महिनामा यो संख्या तीन गुणा बढ्न सक्ने अनुमान पर्यटन कार्यालयको छ। अध्यागमन कार्यालय काँकडभिट्टाका अनुसार सन् २०१४ देखि २०१६ सम्मको अवधिमा यो नाकाबाट पैदलमार्ग भएर प्रवेश गर्ने पर्यटकको संख्या हरेक वर्ष घट्दो रहेको थियो ।

 राजनीतिक दलहरुको लापरबाहीले पर्यटन व्यवसाय जोखिममा पर्ने गरेको तर यसपटक उल्लेख्य सुधार भएको पर्यटन कार्यालयका कर्मचारी बताउँछन्। 'आन्दोलन गरेर अशान्ति उत्पन्न गराउने दलहरुले पर्यटन व्यवसाय ध्वस्त पारेका हुन्,' क्षेत्रीय पर्यटन कार्यालयका एक कर्मचारीले आक्रोश पोख्दै भने, 'अहिले उनीहरु चुपचाप रहँदा देखिएको प्रगतिले नै यो देखाउँछ।'

सन् २०१७ सुरु भएयता केही अपवाद बाहेक पूर्वमा बन्द–हड्तालका घटना भएका छैनन्। त्यसअघिका हप्तौं लामो समयसम्मका बन्द हड्तालले पर्यटकलाई अत्याउने गरेको सम्बद्धहरु बताउँछन्। राजनीतिक  अवस्थामा आएको सुधारसँगै पर्यटकले सुरक्षित महसुस गर्ने भएकाले अहिलेको सुधार सम्भव भएको उनीहरुको भनाइ छ।

अधिकांश समय राजमार्गमा सवारी साधन गुडिरहने, बजार तथा पसल खुलै रहिरहने अवस्थाले पूर्वमा आन्तरिक पर्यटकको चहलपहल पनि बढाएको छ। आन्तरिक र विदेशी पर्यटकको संख्या बढेकै कारण पर्यटन क्षेत्रमा पछिल्लो समयमा उत्साह सञ्चार भएको हो। चालु वर्षकै पहिलो दुई महिनासम्म आन्तरिक पर्यटकको मात्रै चहलपहल थियो। तर, नेपाल घुम्न बानी परेका वा रहर गर्नेहरुसम्म यहाँको सकारात्मक स्थितिको खबर पुगेपछि छोटो समयमै अवस्थामा सुधार आउको हो।

पैदलमार्ग हुँदै काँकडभिट्टा नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकको संख्या बढेसँगै पर्यटकको भरमा आफ्नो व्यवसाय चलाउँदै आएका व्यवसायी हर्षित छन्, 'केही अघिसम्म विदेशी पर्यटकको आगमन दर ज्यादै कम थियो', काँकडभिट्टाकै सबैभन्दा ठूलो होटल रियाजका प्रबन्ध निर्देशक प्रविण भण्डारी भन्छन्, 'दुई–तीन महिनायता संख्या बढेको छ। यसको नतिजा सकारात्मक देखिएको छ।'

होटल व्यवसायीहरुका अनुसार सीमावर्ती भारतीय पर्यटनस्थल दार्जिलिङ, सिक्किम, कालिम्पोङतिर घुम्न आउने विदेशी पर्यटक असुरक्षाका कारण नेपालतिर आउन हिच्किन्थे। तर, अहिले अवस्था बद्लिँदै गएको छ। 'अचेल पूर्वोत्तर भारत घुमेपछि नेपाल पस्ने विदेशी बढिरहेका छन्,' पर्यटन व्यवसायी उदय श्रेष्ठले भने, 'पहिलेभन्दा अलि धेरै समय उनीहरुले नेपालमा बिताइरहेका छन्। उनीहरुले जति धेरै समय यता बिताए, हाम्रा लागि उत्तिनै राम्रो संकेत हो।' 

बंगलादेश, अमेरिका, भुटान, दक्षिण कोरिया, बेलायत, श्रीलंका लगायत मुलुकका पर्यटक यो नाकाबाट बढी आउँछन्। उनीहरुले झापासहित पूर्वका इलाम,पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटालगायत देशका विभिन्न जिल्लाको पर्यटनस्थलको अवलोकन गर्ने गरेको पर्यटन कार्यालयको भनाइ छ। 

पर्यटक आगमनले होटल व्यवसाय, पर्यटन क्षेत्रको रोजगारी वृद्धिमा मात्रै टेवा पुगिरहेको छैन, यसले सरकारको आम्दानी पनि उल्लेख्य बढाइरहेको छ। यसले नेपाललाई दोहोरो फाइदा दिलाइरहेको छ। पैदलमार्ग हुँदै नेपाल भित्रिने पर्यटकको संख्या बढेसँगै अध्यागमन कार्यालयको राजस्व असुलीमा समेत प्रगति भएको छ।

चालु आर्थिक वर्ष २०७३/७४ को बितेको दश महिनामा कार्यालयले ८४ लाख ९२ हजार ६ सय ८५ रुपैयाँ राजस्व पनि संकलन गरेको कार्यालय प्रमुख फुयाँलले जानकारी दिए। फुयाँलका अनुसार संकलित राजस्व गत वर्षको यही अवधिको तुलनामा १२ लाख ७२ हजार ३६ रुपैयाँले बढी हो।

 गत वर्ष ७२ लाख २० हजार ६ सय ४९ रुपैयाँ राजस्व संकलन भएको थियो। 'राजस्व वृद्धि हुनुको प्रमुख कारण पर्यटकको संख्या बढ्नु नै हो,' कार्यालय प्रमुख फुयाँलले भने, 'बन्द, हडताल, चक्काजाम, सडक अवरोधको शृंखलाको अन्त्य र सरकारले नाकामा पर्यटन प्रहरीको व्यवस्था गरेर देखाएको सतर्कता नै प्रमुख कारण हो।' अध्यागमनलेे तीन प्रकारका भिसा जारी गर्ने गरेको छ। कार्यालयले १५ दिनका लागि भिसा जारी गरेबापत २५ अमेरिकी डलर, ३० दिनका लागि ४० डलर र ९० दिनका लागि एक सय डलर लिने गरेको छ।

अहिलेको अवस्थालाई अझै सुधार गर्न राजनीतिक दलहरुले जिम्मेवार बन्नुपर्ने जानकारहरु औंल्याउँछन्। 'पर्यटक चढेको गाडी नछुने, उनीहरुलाई दुर्व्यवहार नगर्ने, यात्रामा अवरोध नगर्ने मात्रै हो भने पनि पर्यटनमा आमुल सुधार सम्भव छ,' पर्यटन व्यवसायी ऋषि तिम्सिनाको आग्रह छ, 'यति मात्रै गर्न दलहरु तयार हुने हो भने पर्यटनले हाम्रो उन्नति सम्भव गर्नेछ।'

प्रकाशित: २२ जेष्ठ २०७४ ०४:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App