७ वैशाख २०८१ शुक्रबार
कला

लाससँग खेल्ने कथामा 'भुइँमान्छे'

काठमाडौं- अस्पतालमा पोस्टमार्टम गर्ने चिकित्सकको कथामा आधारित फिल्म 'भुइँमान्छे' को टिजरसँगै अडियो सार्वजनिक भएको छ। राजधानीमा गत शुक्रबार आयोजित कार्यक्रममा फिल्म युनिटले आगामी साउन २० गतेबाट फिल्म रिलिज हुनेसमेत जानकारी गरायो।

फिल्मका निर्देशक नवराज बुढाथोकीले शवलाई चिर्ने मान्छेको पनि आफ्नै जिन्दगी हुने र उसले समाजबाट अपेक्षित व्यवहार नपाउँदा आउने परिस्थितिलाई फिल्मले देखाउने बताए। 'दैनिक लास चिर्ने मान्छेको जीवन कस्तो हुन्छ। उसलाई समाजले कसरी हेरेको हुन्छ? यस्तै मनोविज्ञानलाई फिल्ममा देखाएका छौं,' निर्देशक बुढाथोकीले भने।

फिल्ममा चिकित्सकको भूमिकामा देखिएका कलाकार रमेश बुढाथोकीले अहिलेसम्म आफूले अभिनय गरेका फिल्मभन्दा 'भुइँमान्छे' मा फरक चरित्रमा दर्शकले पाउने बताए। 'मैले यसमा अभिनय गर्दा केही फरक नै महसुस गरें र यो विषय नै आफैंमा फरक हो,' उनले भने, 'शवसँग खेल्ने मानिसको मनोविज्ञान कस्तो होला? मैले यो चरित्रकै लागि सम्बन्धित क्षेत्रका चिकित्सकसँग भेटेर उनको व्यवहार, हाउभाउ नियालेको पनि थिएँ।'

फिल्मका निर्माता रोहिणी भट्टराईले फिल्म निर्माण गर्न सोचेजस्तो सहज नभएको बताए। 'फिल्म निर्माणभन्दा झन्डै एक वर्ष अगाडिदेखि नै अनुसन्धान गरेका थियौं। फिल्म तयार भएपछि पनि हलमा आउन झन्डै एक वर्ष नै लाग्यो,' उनले भने, 'विषयवस्तु गहन भएकाले पनि कसैको अस्तित्वमा आँच नआउने किसिमले हामीले यसलाई निर्माण गरेका छौं।'

शैली इन्टरटेनमेन्ट एन्ड मुभिज र शैली थिएटरको ब्यानरमा निर्माण भएको फिल्ममा सिपोरा गुरुङ, रमेश बुढाथोकी, सहिन प्रजापति, रोहिणी भट्टराई, बादल भट्ट, रामबाबु रेग्मी, सशांक बोहोरा, आर्यन न्यौपाने, नारायण न्यौपाने, सानु ताम्राकार, सौरभ ढकाल, हरि यादवको अभिनय छ। फिल्ममा तारा केसी, पुष्कर गुरुङ र नवीन श्रेष्ठ विशेष भूमिकामा छन् ।

फिल्ममा विदुर पाण्डेको छायांकन, गम्भीरराज कर्णिकार र मधुसुदन सञ्जेलको सम्पादन, अर्जुन पोखरेल र देवेन्द्र राईको संगीत, कमल राई र कविराज गहतराजको नृत्य तथा अष्ट महर्जनको द्वन्द्व छ।

प्रकाशित: २२ जेष्ठ २०७४ ०४:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App