coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

ताहिरको बलिङमा श्रीलंका ध्वस्त

लन्डन- लेग स्पिनर इमरान ताहिरले ४ विकेट लिएपछि दक्षिण अफ्रिकाले शनिबार श्रीलंकामाथि ९६ रनको सानदार जित हात पार्दै च्याम्पियन्स ट्रफीमा सुखद सुरुआत गरेको छ। ताहिरले ८.३ ओभरमा २७ रन खर्चंदै ४ विकेट लिएपछि ३ सय रनको विजयलक्ष्य पछ्याएको श्रीलंका ४१.१ ओभरमा २ सय ३ रनमा सीमित भएको थियो।

श्रीलंका ११६–२ को बलियो स्थितिमा रहेका बेला १८औं ओभमा बलिङ गर्न आएका ताहिरले जादुमय बलिङ गरेपछि दक्षिण अफ्रिकाले खेल आफ्नो पक्षमा पारेको हो।

दिनेश चण्डीमल (१२)लाई एबी डी भिलियर्सले रनआउट गराएका थिए। त्यसको तीन बलपछि उनले चामरा कपुगेदरालाई खाता खोल्नै नपाई एलबिडब्लुको सिकार बनाएका थिए।

त्यस्तै श्रीलंकाका लागि सर्वाधिक ५७ रन जोडेका कप्तान उपुल थारंगालाई पनि ताहिरले डेभिड मिल्नरबाट क्याच गराउँदै पवेलियनको बाटो देखाएका थिए। नियमित कप्तान एन्जेलो म्याथ्युज पिडुँलाको समस्याका कारण टोलीबाहिर रहने भएपछि थारंगाले कप्तानको जिम्मेवारी पाएका थिए। ६९ बल खेलेका उनले ६ चौका प्रहार गरे।

उनले पहिलो विकेटका लागि ओपनर निरोसान डिकबेलासँग ६९ रनको साझोदारी गर्दै टोलीलाई राम्रो सुरुआत दिलाएका थिए। ३३ बल खेलेका डिकबेलाले ५ चौका र १ छक्काको मद्दतमा ४१ रन जोडेका थिए।

कुशल परेराले ६६ बलमा ५ चौकाको मद्दतमा अविजित ४४ रन जोड्नुबाहेक त्यसपछि आएका कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। जसका कारण श्रीलंका ८.३ ओभरको खेल बाँकी रहँदै सबै विकेट गुमाई २ सय ३ रनमा सीमित भयो।

दक्षिण अफ्रिकाका लागि क्रिस मोरिसले २ तथा कासिगो रावाडा र मोने मार्केलले समान १ विकेट लिए।

यता ढिलो गतिमा बलिङ गरेका कारण कप्तान थारंगाले समूह चरणका बाँकी दुई खेल गुमाउने भएपछि श्रीलंका थप दबाबमा परेको छ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ओपनर हासिम अमलाको १ सय ३ रनको मद्दतमा निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ९९ रनको योगफल खडा गरेको थियो।

१ सय १५ बल खेलेका अमलाले ५ चौका प्रहार गरे। एकदिवसीय क्रिकेटमा उनको यो २५औं शतक हो।  श्रीलंकाविरुद्ध भने उनको यो पाँचांै शतक हो।

उनले दोस्रो विकेटका लागि फाप डु प्लेसीसँग १ सय ४५ रनको साझेदारी गरेका थिए। ७० बल सामना गरेका डु प्लेसीले ६ चौकाको मद्दतमा ७५ रन जोडे। त्यस्तै जेपी डुमिनीले अविजित ३८, क्विन्टन डि ककले २३ र मोरिसले २० रनको योगदान गरेका थिए। श्रीलंकाका नुवान प्रदीपले २ तथा सिकुगे प्रसन्ना र सुरंगा लकमलले समान १ विकेट लिए।

प्रकाशित: २२ जेष्ठ २०७४ ०३:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App