७ वैशाख २०८१ शुक्रबार
राजनीति

विराटनगर महानगरपालिका : चुनाव जित्ने कसरतमा सबै दल

विराटनगर- स्थानीय तह निर्वाचनका लागि एक लाख १२ हजार ८ सय ३२ मतदाता रहेको विराटनगर महानगरपालिकामा जित हासिल गर्न  सबै राजनीति दलले कसरत थालेका छन्। राजनीतिक र आर्थिक इतिहास बोकेको १ सय ४ वर्ष पुरानो सहर विराटनगरमा ‘जित’ को झन्डा फहर्‍याउने सबै दलको दाबी छ।

राजनीतिक र आर्थिक इतिहास बोकेको १ सय ४ वर्ष पुरानो सहर विराटनगरमा ‘जित’ को झन्डा फहर्‍याउने सबै दलको दाबी।

माओवादी केन्द्रबाहेक अरु ठूला दलले महानगरपालिकामा मेयर र उपमेयरको उम्मेदवार टुंग्याउन बाँकी रहे पनि चुनावी तयारी र प्रचारप्रसार भने सबैले तीव्र पारेका छन्। पटक–पटक चुनाव मिति सर्नाले नेपाली कांग्रेस,  एमाले, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमले विराटनगरमा उम्मेदवार घोषणा गर्न ढिलाइ गरिरहेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङले विराटनगरमा दुईपटक मेयर भइसकेका प्रल्हाद साहलाई टिकट दिने निर्णय गरेको छ।

 १९ वटा वडा रहेको विराटनगरमा ६० हजार १ सय १९ पुरुष र ५२ हजार ७ सय १३ महिला मतदाता छन्। पुरुष मतदाताभन्दा थोरै कम संख्यामा रहे पनि विराटनगरमा नेपाली कांग्रेसबाट डिल्ला संग्रौलाबाहेक महिलाले मेयर पदमा दाबी गरेका छैनन्। माओवादी केन्द्रले महानगरको मेयरमा भोगेन्द्र यादव र उपमेयरमा नमिता न्यौपानेलाई उम्मेदवार बनाइसकेको छ। एमाले मोरङले भने कांग्रेसको उम्मेदवारी पर्खिरहेको छ। संघीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिक फोरम र राष्ट्रिय जनता पार्टीले तालमेल मिलाउन उम्मेदवारको टुंगोमा ढिलाइ गरिरहेका छन्।

 महानगरपालिका बनाउन ‘योगदान र पहल’ गरेको दाबी गर्दै सबै दलले मतदाता रिझाउँदै छन्। आ–आफ्नो पक्षमा ‘वातावरण’ बनेको भन्दै सबै दलले विराटनगरमा जित्ने दाबी गरिरहेका छन्। ‘विराटनगर भनेको कांग्रेसको पकड भएको ठाउँ हो, यहाँ त हाम्रो जित सुनिश्चित छ,’ मोरङ कांग्रेस सभापति डिगबहादुर लिम्बुले भने, ‘मेयर–उपमेयर मात्रै होइन, विराटनगरका सबैवडामा जित्छौं, त्यहीअनुसारको तयारी भइरहेको छ।’ उनले दुईचार दिनमै मेयर–उपमेयर र सबै वडाका उम्मेदवार टुंगो लाग्ने जानकारी दिए।

 विराटनगर महानगरपालिकामा चुनावी कमान्ड सम्हालेका एमाले पोलिटब्युरो सदस्य लालबाबु पण्डितले एमालेले नै जित्ने दाबी गरे। ‘विराटनगरलाई महानगर बनाउन एमालेले निर्वाह गरेेको भूमिकासँग मतदाता जानकार छन्,’ पण्डितले भने, ‘पहिला पनि विराटनगरको मेयर एमालेले नै जितेको हो, यसपटक पनि हाम्रो जित निश्चित छ।’ उनले मेयर, उपमेयरसहित वहुसंख्यक वडामा एमालेले जित्नेगरी उम्मेदवारी टुंग्याउने गृहकार्य भइरहेको जनाए।

 एमालेले विराटनगर महानगरमा मेयरबाहेक पदमा गठबन्धन गर्न अरु पार्टीसँग छलफल पनि गरिरहेको छ। ‘मेयरबाहेकका पदमा गठबन्धन गर्न केही पार्टीसँग छलफल भइरहेको छ,’ पण्डितले भने, ‘अन्तिम टुंगो लागेको छैन।’ संघीय समाजवादी फोरमले पनि विराटनगरमा आफ्नो बलियो जनाधार रहेको भन्दै जितको दाबी गरेको छ। फोरमका मोरङ अध्यक्ष राजकुमार यादव महानगरको मेयर, उपमेयर र १२ वटाभन्दा बढी वडामा आफ्नो पार्टीले जित्ने दाबी गर्छन्।

 ‘परिवर्तनकारी शक्तिसँग तालमेल गरेर महानगरमा चुनाव लड्ने तयारी भइरहेको छ,’ यादवले भने, ‘एमालेबाहेक सबै दलसँग तालमेल गर्न फोरम खुल्ला छ।’ उनले चाँडै उम्मेदवार टुग्याउने पनि बताए।

राजपाका मोरङ संयोजक महम्मद कादिर मधेसवादी पाँचवटा पार्टीबीच एकीकरण भएपछि जनतामा उत्साह थपिएकाले विराटनगरमा आफूहरू बलियो अवस्था रहेको बताउँछन्।

नेपाल लोकतान्त्रिक फोरमका मोरङ अध्यक्ष भक्तिनाथ माझीले पनि विराटनगर महानगरपालिकामा आफूले जित्ने दाबी गरे। उनले पनि अन्य दलसँग तालमेल गर्ने कुरा भइरहेको बताए।

 विराटनगर महानगरमा मोरङका तीनवटा संसदीय क्षेत्र पर्छन। क्षेत्र नम्बर ५, ६ र ७ का धेरै इलाका महानगरपालिका राखिएको छ। दोस्रो संविधानसभा चुनावमा यी तीनै क्षेत्रबाट कांग्रेसका उम्मेदवार विजयी भए। यी तीनवटै क्षेत्रमध्ये ५ मा दोस्रो स्थानमा संघीय समाजवादी फोरम थियो। क्षेत्र नम्बर ६ र ७ मा दोस्रो स्थानमा नेपाल लोकतान्त्रिक फोरम थियो। यहाँ पहाडी र मधेसी दुवैको बराबरजस्तै संख्या छ।

विवेकशील र साझा पनि उम्मेदवार खोजीमा

 काठमाडौं महानगरपालिकामा ‘उत्साहजनक’ मत पाएका विवेकशील नेपाल र साझा पार्टीले पनि विराटनगर महानगरको मेयर, उपमेयरमा ‘आँखा’ लगाएका छन्। गत साता दुवै दलका नेताले विराटनगर आएर चुनावी अन्तरक्रिया गरी आफ्नो उपस्थिति देखाइसकेका छन्।

 स्रोतका अनुसार विवेकशील नेपालले विराटनगरको मेयर र उपमेयर दुवै पदमा उम्मेदवारी दिने तयारी गरिरहेको छ। विवेकशील नेपालका अध्यक्ष उज्जवल थापा र साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले इटहरी र विराटनगरमा मेयर, उपमेयरमा उम्मेदवारी दिनेबारेमा छलफल गरेका थिए।  यी दुवै पार्टी विराटनगरमा चर्चित युवा उम्मेदवारको खोजीमा छन्। सामाजिक छवि बनाएकालाई उम्मेदवार बनाउँदा विराटनगरमा पनि उत्साहजनक मत पाइने उनीहरूको आकलन छ। कांग्रेस, एमाले र मधेसवादी दलमा मेयर र उपमेयरका थुप्रै आकाक्षी छन्। टिकट वितरण हुँदा यी दलमा आन्तरिक किचलो बढ्ने र त्यसको फाइदा आफूलाई हुने विवेकशील र साझाको विश्लेषण छ।

प्रकाशित: २२ जेष्ठ २०७४ ०३:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App