coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

वीरगन्ज महानगर : उम्मेदवार टुंग्याउन दलहरू व्यस्त

वीरगन्ज- भर्खरै महानगर घोषणा भएको र दोस्रो चरणको स्थानीय तह निर्वाचन तयारीमा जुटिसकेका वीरगन्ज महानगरपालिकामा दलहरूलाई उम्मेदवार छान्न  त्यति सजिलो छैन्। थुप्रै आकांक्षीहरू छन्। सबैले आआफ्नो पक्षमा नेतृत्वलाई दबाब दिइरहेका छन्।

'कसले जित्ला मेयरमा भन्ने कुरा उम्मेदवारमा भर पर्छ,' नागरिक  अगुवा पन्नालाल गुप्ताले भने, 'उम्मेदवार चयनमा पर्ख हेरको मनिस्थितिमा रहेका दलहरूलाई, आंकाक्षीहरूको दबावले पनि निर्णय गर्न समस्या पारेको छ।'

 गर्मीसँगै वीरगन्जमा चुनावी सरगर्मी पनि बढेको छ। पछिल्लो मधेस आन्दोलनको केन्द्र बनेको वीरगन्जमा स्थानीय तहको चुनाव  लागिसकेको छ। दलहरू उम्मेदवार घोषणाको अन्तिम तयारीमा रहेको बेला मतदाताले समेत यस चुनावमा आफ्नो चासो बढाएका छन्। आकांक्षीहरूको संख्या बढी भएकाले दलहरूले उम्मेदवारको नाम घोषणामा ढिलाइ गर्दा चुनाव केन्द्रित औपचारिक कार्यक्रमहरू भने भएका छैनन्। सम्भावित उम्मेदवारहरूले वीरगन्जमा मधेसी–नेवार, माडवारी–मुस्लिमलगायत जातीय समीकरण मिलाउने प्रयास पनि सुरु गरिसकेका छन्। यसबाहेक कुर्मी, यादव, कानुलगायतको जातीय भोटबैंकलाई आकर्षित गर्ने खालको प्यानल निर्माणको कसरतमा पनि दलहरू छन्। भारतको बिहार प्रान्तको पूर्वी चम्पारणसँग सीमा जोडिएको वीरगगन्जमा पारीको जातीय राजनीतिको छाया पर्ने आकलन गर्ने पनि धेरै छन्।

 'वीरगन्ज धेरै दृष्टिकोणले महŒवपूर्ण छ तर कुरा यहाँको मात्र होइन। पर्सा कांग्रेस जिल्लाका ११ गाउँपालिका, एउटा नगरपालिका र वीरगन्ज महानगरपालिका सबैमा उम्मेदवार छान्न व्यस्त छ। गृहकार्य अन्तिम चरणमा छ,' कांग्रेस केन्द्रीय सदस्य अजय चौरसियाले भने, 'सम्बन्धित गाउँपालिका, नगरपालिका र महानगरपालिका इकाइ समितिले सर्वसम्मत निर्णय गरेर नाम दिने, त्यहाँ विवाद भए क्षेत्रीय समितिले निर्णय गर्ने र क्षेत्रले नसके जिल्ला समितिले उम्मेदवार टुंग्याउने नीति छ।'

विभिन्न दलहरूले रणनीतिक महŒवको ठाउँका रुपमा लिरहेको वीरगन्जको मेयरको उम्मेदवार पार्टी जिल्ला सभापति अजयकुमार द्विवेदीलाई बनाउनुपर्ने दबाब कार्यकर्ताबाट आएको उनले बताए।

 'जिल्ला सभापति द्विवेदीले म चुनाव लड्छुँ भनिसक्नु भएको छैन्, कार्यकर्ताहरूको चाहिँ निकै दबाव छ,' चौरसियाले भने, 'अरु आकांक्षीले पनि पार्टी सभापति द्विवेदी अघि सरे समर्थन रहने जनाइसकेका छन्।' कार्यकर्ताहरूबाट उम्मेदवार बन्न दबाव आइरहेको द्विवेदीले पनि स्वीकारे। 'दबाव दिने कार्यकर्तालाई मैले भनेको छुँ, जसले टिक पाए पनि कांग्रेस जित्नुपर्छ,' द्विवेदीले भने, 'मैले आफू नै उम्मेदवार हुनुपर्छ भन्ने सोचेको छैन्।' द्विवेदीले यसो भने पनि कांग्रेस कार्यकर्ताले भने उनैलाई उम्मेदवार बताउन थालिसकेका छन्। उता कांग्रेस केन्द्रीय नेतृत्व तहले पनि द्विवेदीलाई उम्मेदवार बनाउन चाहिरहेको स्रोतको दाबी छ।

 एमाले जिल्ला तहबाट मेयरको उम्मेदवारका लागि सिफारिसमध्ये सुन्दर कुर्मीले भोट माग्दै घरदैलो थालिसकेका छन्। उनी एमाले भ्रातृ संगठन राष्ट्रिय मधेसी संगठनका पर्सा अध्यक्ष हुन्। 'यहाँबाट नेता चिरञ्जीवी आचार्य, कुर्मी र मनोज चौधरीको नाम मेयर उम्मेदवारका लागि प्रदेश समितिमा सिफारिस भएको छ,' एमाले पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साहले भने, 'निर्णयचाहिँ भइसकेको छैन्।' प्रदेश समितिबाट जिल्लाले सिफारिस गरेबाहेकको नाम पनि आउनसक्ने उनले बताए।  एमालेभित्र बसरुद्दिन अन्सारीको नाम पनि  मेयर उम्मेदवारका रुपमा चर्चामा छ। अन्सारी दोस्रो  संविधानसभा निर्वाचनमा तत्कालीन एकीकृत मओवादीबाट पर्सा क्षेत्र नम्बर २ मा उम्मेदवार  थिए।

 माओवादी केन्द्रले पर्सामा चुनावको जिम्मेवारी नेत्री उर्मिला अर्याललाई दिएको नेता पिएल श्रेष्ठले बताए। 'जिल्लामा कुनै पनि तहमा उम्मेदवारको नाम टुंगो लागिसकेको छैन्,' श्रेष्ठले भने, 'केही दिनभित्र सबै उम्मेदवारको नाम आइसक्नेछ।'  अर्यालले आफूहरू उम्मेदवार तय गर्न लागेको बताइन्।

मधेसवादीका उम्मेदवार

 संघीय समाजवादी फोरम नेपालबाट उद्योगपति विजय सरावगीलार्य मेयरको रुपमा अगाडि सारिएको सो पार्टीका कार्यकर्ता बताउँछन्। सरावगी चैत ६ गते संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका हुन्। उपेन्द्र यादव नेतृत्वको फोरम नेपालले पहिलो चरणको निर्वाचनमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग विभिन्न ठाउँमा तालमेल गरेको थियो। उसले दोस्रो चरणमा पर्सामा भने एकल तयारी अघि बढाएको छ। 

पार्टी जिल्ला सदस्य आजाद हुसैनले वीरगन्ज महानगरको मत, अवस्था र कार्यकर्ताको चाहना अनुसार सरावगी मेयरको उम्मेदवार बन्न लागेको बताए। 'पार्टीले दिएको कुनै पनि जिम्मेवारी निर्वाह गर्नु मेरो कर्तव्य हो,' सरावगीले भने, 'पार्टीबाट आधिकारिक निर्णय आएपछि मात्र मैले मेयरको उम्मेदवार हुँ भन्न पाउँछु।' सरावगीलाई फोरम नेपालका पर्सा अध्यक्ष प्रदीप यादवले भरपुर साथ र समर्थन दिएपछि उनी मेयरका लागि बलियो दावेदार भएका हुन्।

 राष्ट्रिय जनता पार्टी (राजपा) ले उम्मेदवार ट्ंगो लगाएपछि मात्र वीरगन्जको चुनाव रोमाञ्चक हुनेछ। तर राजपाले अहिलेसम्म स्थानीय चुनावमा भाग लिने वा नलिने भन्ने निर्णय गरिसकेको छैन। राजपा चुनावमा आए पूर्वमेयर विमल श्रीवास्तव नै उम्मेदवार हुने चर्चा छ। राजपामा आबद्ध अरु दलका नेताहरूले भने उनको नाममा समर्थन जनाइसकेका छैनन्। राजपाभित्रको एक पक्षले गत मधेस आन्दोलनमा सक्रिय भएको भन्दै राजेशमान सिंहको नाम मेयर उम्मेदवारमा अघि सार्ने तयारी गरेको छ। 

'पार्टी अहिले आन्दोलनमै छ, चुनावमा जाने वातावरण बन्यो भने पार्टीले मलाई मेयरको उम्मेदवार बनाउने आशा छ,' नेवार समुदायका मधेसवादी नेता सिंहले भने, 'टिकट पाएँ भने लड्छु र जित्छु पनि।' राजपाबाट सांसद रमेश कुर्मी, अधिवक्ता सुरेन्द्र कुर्मी र नेता पुरुषोत्तमलाल झाको नाम पनि मेयरका लागि चर्चामा छ। 'संविधान संशोधन नगरिकन हुने चुनावमा नजाने हाम्रो अहिलेसम्मको निर्णय हो, चुनावी कार्यक्रम बहिष्कार गर्ने र बिथोल्ने मनसायमा कार्यकर्ता छन्,' सो दलका नेता निजामोद्दीन समानीले भने, 'पार्टी चुनावमा गए पो उम्मेदवार को कुरा हुन्छ।'

प्रकाशित: २२ जेष्ठ २०७४ ०३:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App