७ वैशाख २०८१ शुक्रबार
राजनीति

सम्भावना उजागर भए समृद्ध सुदूरपश्चिम

दिलबहादुर छत्याल/योगेश रावल

धनगढी- समृद्ध सुदुरपश्चिम बनाउन सञ्चार क्षेत्रले सुदुरपश्चिममा भएका अथाह संभावनालाई उजागर गरिदिन स्थानीयले आग्रह गरेका छन्। अहिलेसम्म राज्यबाट पछि पारिएको प्रदेश नम्बर ७ का सबै संभावना उजागर गरिए समृद्ध प्रदेश बन्ने उनीहरूको धारणा छ।

भारत र चीनसँग नाका जोडिएको यस क्षेत्रमा नाका खोलिए आर्थिक उन्नती गर्न सकिने नगारिक अगुवा प्रमोद पाठकले बताए। 'नाका खुलेमा दुई ठूला मुलुकबाट हामीले धेरै फाइदा लिन सक्छौं' उनले भने।

धनगढीमा शनिबार आयोजित 'नागरिकसँग नागरिक' अन्तरक्रिया कार्यक्रममा बोल्ने क्रममा विभिन्न क्षेत्रका व्यक्तिले पर्यटन, जलस्रोत, कृषि लगायतका धेरै संभावना रहेको बताए। नगारिक समाजका अगुवा धर्मराज पाठकले यस क्षेत्रका वासिन्दाका आवश्यकता पूरा गर्न र समृद्ध सुदुरपश्चिम बनाउन पर्यटन र जलस्रोतको उपयोग हुन नसकेको बताए। 'धेरै समयदेखि संभावनाका कुरा गरिए पनि उपयोग भने गर्न नसकिएको अवस्था छ,' उनले भने।

नागरिक समाजका अगुवा रविन पन्तले सुदुरपश्चिममा जातीय विभेद, छाउपडी, महिलाविभेद मात्र नभई सुन्दर पर्यटकीय स्थल र अन्य धेरै संभावना रहेको बताए। 'यहाँका संभावनालाई उजागर गरेर समृद्ध बनाउन सकिन्छ,' उनले भने।

भारत र चीनसँग नाका जोडिएको यस क्षेत्रमा नाका खोलिए आर्थिक उन्नती गर्न सकिने नगारिक अगुवा प्रमोद पाठकले बताए। 'नाका खुलेमा दुई ठूला मुलुकबाट हामीले धेरै फाइदा लिन सक्छौं' उनले भने।

साहित्यकार तथा गोदावरी कोटी होम यज्ञ संचालन समितीका संयोजक पदमराज जोशीले सुदुरपश्चिममा गोदावरी धाम, परशुराम धाम, दिल्पेश्वर धाम, वैद्यनाथ धाम भएकाले धार्मिक पर्यटनको संभावना रहेको बताए। ६, ७ घन्टाको दूरीमा पुग्न सकिने ती स्थानमा भारतीय धार्मिक पर्यटकलाई आकर्षण गर्न सकिए पर्यटन फस्टाउने उनले बताए।

यसैगरी इन्जिनियरिङ कलेज धनगढीका क्याम्पस प्रमुख शिवहरि मुडभरीले रोजगारी र उत्पादन वृद्धी हुने खालका उद्योगको स्थापना हुनुपर्नेमा जोड दिए। देशको कुल संभावनाको झन्डै आधा जलविद्युत् उत्पादन क्षमता भएको सुदुरपश्चिममा विकासको अथाह संभावना रहेको पनि उनले बताए।

कानुन व्यवसायी गंगाप्रसाद उपाध्यायले धनगढीलाई व्यवस्थित नगर बनाइनु पर्ने बताए। यसैगरी सुशासन कार्यान्वयन गरेर मानव अधिकार र न्यायमा सबैको पहुँच हुनुपर्ने पनि उनले बताए।

उद्योग वाणिज्य संघ कैलालीका उपाध्यक्ष गजराज पाण्डेयले किशोर अवस्थामै पश्चिम सेती परियोजना र पञ्चेश्वर बन्ने सुनेको उल्लेख गर्दै ती आयोजना थालनीमा सञ्चार क्षेत्रले पहल गरिदिनुपर्ने बताए। हवाई मैदान कालोपत्रे, अस्पतालमा आइसियू कक्ष बनाउने लगायतका काम निजी क्षेत्रको अग्रसरतामा भएको बताए।

खेलकुद प्रशिक्षक रतन खातीले खेलाडीलाई प्रोत्साहन हुने गतिविधि सञ्चालन गरेर खेल केन्द्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता रहको औल्याए।

शिक्षक कमल जोशीले शिक्षा व्यवहारिक र उपयोगी हुन पर्ने बताए। शिक्षा प्रविधिमैत्री हुनुपर्ने उनको भनाइ थियो।

यसैगरी, महिला अधिकारकर्मी चित्रा पनेरूले ठूलाले अपराध गर्दा पनि उन्मुक्ति पाउने अवस्थाको अन्त्य हुनुपर्ने बताइन्। महिला हिंसा र लैगिंक विभेदका कुरा उठाएर पछाडि परेका वर्ग र लिंगलाई मूलप्रवाहमा ल्याउन सञ्चारक्षेत्रले अवाज उठाउनु पर्ने उनको भनाइ छ।

प्राध्यापक देवराज अवस्थी राज्यको यस क्षेत्रमा शिक्षामा लगानी न्यून रहेको बताए। सुदुरपश्चिममा महेन्द्रनगरको सिद्धनाथ विज्ञान क्याम्पस र डोटी बहुमुखी क्याम्पसबाहेक आंगिक क्याम्पस जिल्लामा नरहेको उल्लेख गर्दै सबै जिल्लामा त्रिभुवन विश्वविद्यालय वा सुदुरपश्चिम विश्वाविद्यालयको आगिंक क्याम्पस हुुनुपर्नेमा जोड दिए।

शिक्षक गणेश नेपालीले पर्यटकीयस्थल जस्तै बेहेडाबाबा, भादागाउँ होमस्टे लगायतका स्थानामा सडक पूर्वाधार विकास गर्नुपर्ने बताए। दलितमाथिको विभेद जारी रहेको बताउँदै उनले विभेद अन्त्य हुनुपर्ने धारणा व्यक्त गरे।

सेती महाकाली ट्रक व्यवसायी संघका अध्यक्ष देवबहादुर बमले अनियमिता र भ्रष्ट्राचार रोक्न सम्पत्ति शुद्धिकरण नीति कार्यान्वयन हुनुपर्ने बताए।

थारू कल्याणकारी सभा कैलालीका पूर्व सभापति प्रभात चौधरीले थारू समुदायलाई मानव अधिकारले दिएको सम्मान दिइनुपर्ने बताए।

उद्योग वाणिज्य संघ कैलालीका पूर्व अध्यक्ष दिनेश भण्डारीले उत्तर प्रदेशका मुख्य मन्त्री आदित्यनाथ योगीले मानसरोवर जानेलाई १ लाख भारु दिने घोषणा गरेको उल्लेख गर्दै सुदुरपश्चिमको नाका खोलेर त्यसको आर्थिक फाइदा लिन सक्नु पर्ने बताए। '५० हजारमै यहाँको बाटोबाट मानसरोवर पुग्न सकिन्छ,' उनले भने।

कलाकार डोटेली कान्छा र दलबहादुर वोगटीले सुदुरपश्चिमको खस र डोटेली भाषा, संस्कृती लोप हँुदै गइरहेकाले यसको संरक्षण गरिनुपर्ने बताए भने शिक्षक तीर्थराज पाण्डेयले कमैया, सुकम्बासी लगायतका समुदायको पुनर्वासको व्यवस्था गर्नुपर्ने बताए।

शिवचरण चौधरीले महिला हिंसाका कारण आत्महत्याका घटना हुने गरेको बताए। दलालहरूले चेलीहरूलाई फकाएर बेच्न लैजाने गरेको बताए। नागरिकको ढाड सेकिने गरी उपमहानगरपालिकाले कर बढाएको उनको भनाइ छ।

एमालेका केन्द्रिय सदस्य महेश्वर पाठकले केन्द्रबाट ठगिँदै आएको सुदुरपश्चिममा धेरै संभावना भएको बताए। 'पर्यटन, जलस्रोत लगायतको अपार संभावना छ,' उनले भने, 'खप्तड, बढीमालिका लगायतका स्थल छन्। गुरू योजना बनाएर धनगढी उपमहानगरपालिकालाई व्यवस्थित बनाउनु पर्छ।'

नेपाली कांग्रेस कैलालीका सचिव पूर्ण कुवरले संघीयताको सीमांकनका विषयमा विगतमा भएका आन्दोलनले दुई समुदायबीच रहेको तुष मेटाउनु पर्ने बताए। प्रदेश  र संसदिय निर्वाचनका लागि पनि समयमै झक्झक्याउनु पर्ने उनको भनाइ थियो।

माओवादी केन्द्रका मेयरका उम्मेदवार राज समझ रानाले सिचार्इंको अभाव, नदी कटान, ढल निकास लगायतका समस्या रहेको बताए।

राप्रपाका मेयरका उम्मेदवार बिष्णुबहादुर शाहले चुनावमा सबै दलले आचारसंहिता पालना गर्नुपर्ने बताए। धनगढीलाई व्यवस्थीत र सुन्दर शहर बनाउन योजना बनाएर कार्यान्वयन हुुनुपर्ने उनको भनाइ छ।

प्रकाशित: २१ जेष्ठ २०७४ ०७:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App