८ वैशाख २०८१ शनिबार
राजनीति

समृद्ध बर्दियाका लागी तटबन्ध, सडक सीमा

गुलरियामा आयोजित 'नागरिकसँग नागरिक' अन्तरक्रिया। तस्बिर : निर्मल

बर्दिया- बर्दियाका नागरिकले 'समृद्ध बर्दिया' निर्माणका लागि तटबन्ध, सुर्खेत जोड्ने तेलपानी सडक र भारतसँगको सीमा सञ्चालनको माग गरेका छन्। नागरिक दैनिकले गुलरियामा गरेकोे 'नागरिकसँग नागरिक' अन्तरक्रिया कार्यक्रममा सहभागिले विकासका लागि सञ्चार माध्यमको भूमिका अपरिहार्य रहेको पनि बताए।

समृद्ध जिल्ला हुने प्रशस्तै आधार भएको उल्लेख गर्दै बर्दियाका स्थानीयले नागरिक दैनिकले विकासका तीन मेरुदण्ड तटबन्ध, नाका, सडकका विषयलाई सञ्चार जगत्ले खबरदारी गरिदिनुपर्ने आग्रह गरे।

कार्यक्रममा सहभागी स्थानीयले नदी कटानले गुलरिया सदरमुकाम जोखिममा परेको बताउँदै समाधानका उपाय अपनाउन ढिलाइ गर्न नहुने विचार व्यक्त गरे। नदी कटानले गर्दा हजारौं विस्थापित भएको बताउँदै एमालेका तर्फबाट गुलरिया नगरपालिकाका मेयरका उम्मेदवार हरि ज्ञवालीले तटबन्धन र नाका एजेन्डाको रूपमा पार्टीले घोषणा पत्रमा उल्लेख गरेको बताए। बर्षेनी चर्कंदै गएको बाढीपिडितका समस्यालाई निर्वाचित प्रतिनिधिले चासोको साथ गुलरिया बचाउँ अभियानलाई अघि बढाउनुपर्ने उनले बताए। जिल्लाको पर्यटन र कृषिलाई महत्वका साथ उठाउनुपर्ने पनि उनको तर्क थियो।

'प्रचुर संभावना भएर पनि राज्यको राम्रो दृष्टिकोण नपरेकाले यँहाको विकास नभएको हो,' संघीय समाजवादी फोरमका सभासद् काशिम अलि सिद्धिकीले भने, 'बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटकीय हब हो तर यहाँ सडक राम्रो छैन अनि कसरी रोजगारी सिर्जना हुन्छ?'

'स्थानीय तहको निर्वाचनमा दलले ठूला सपना होइन जनजीविकासँग जोडिएका साना विषयलाई प्राथमिकता दिनु पर्छ,' गुलरिया उद्योग वाणिज्य संघका अध्यक्ष अमरबहादुर खड्काले  भने। बाँके र कैलालीको सीमानामा पर्ने नदी उत्पन्न समस्या समाधानमा सरकारले वास्ता नगरी विभेदपूर्ण तरिकाले बजेट विनियोजन गरेको सहभागीहरूको आरोप थियो। समानुपातिकढंगमा बजेट विनियोजनका लागि मिडियाले भूमिका खेल्नु पर्ने उनीहरूले आग्रह गरे। साथै, सञ्चार जगत्ले जिल्लाको विकासको लागी सन् २००९ मै नेपाल र भारतबीच सम्झौता भइसकेको नाका सञ्चालन, औद्योगिक क्षेत्रको स्थापना र कृषिको व्यावसायीकरण हुनुपर्ने धारणा व्यक्त गरे।

त्यस्तै, बजेटले यातायात क्षेत्रको कर बढाउँदा यो क्षेत्र मर्कामा परेको कृष्णसार यातायात व्यावसायी संघका अध्यक्ष शम्भु रिजालले बताए। बाटोको अवस्था दयनीय र कालोपत्रे नभएकाले यातायात व्यवसाय घाटामा चलिरहेको बताउँदै उनले विकासलाई गति दिन सडक निर्माण हुनुपर्ने धारणा राखे।

कार्यक्रमका अर्का कानुन व्यावसायी परिषद्का पार्षद् वीरबहादुर रोकायले भने, 'जनता मतदान गर्न उत्सुक छन् तर सरकाले चुनाव सारेका सारै छ।'

'बर्दिया निकुञ्ज पर्यटकीय केन्द्र हो,' पत्रकार महासंघका अध्यक्ष राजेन्द्र धितालले भने, 'निकुञ्जलाई नदी कटानले असर गरिरहँदा लालपूर्जा भएका सर्वसाधरणको निकुञ्ज भित्र परेको छ।' नदी कटानले पीडित सर्वसाधरणलाई प्याकेज राहत प्रदान गर्नुपर्ने उनले बताए।

बबई बहुमुखी क्याम्पसका सहायक प्रमुख हरि जोशीले बर्दियामा प्राविधिक शिक्षाको आवश्यकता औंल्याए। 'जिल्लामा सञ्चालन भएका प्लस टु र अन्य क्याम्पसमा प्राविधिक शिक्षा छैन,' उनले भने, 'यसले गर्दा पनि रोजगारी सिर्जना हुन सकेको छैन।' देशमा ६० वटा आंगिक क्याम्पस भए पनि जिल्लामा एउटा पनि आंगिक क्याम्पस नभएको अवस्थाप्रति मिडियाले आवाज उठाउनु पर्ने उनले बताए।

नागरिक समाज सञ्जालका संयोजक वालकृष्ण वलिले स्थानीय समाचारलाई नागरिकले प्राथमिकताकासाथ प्रकाशन गरोस् भन्ने सुझाव  दिए। 'नागरिकसँग नागरिक' कार्यक्रममा नागरिक अगुवा, पत्रकार, यातायात व्यावसायी, शैक्षिक संघसंस्थाका प्रतिनिधि सहभागिता रहेका थिए।

कार्यक्रममा नागरिक दैनिकका प्रकाशक विनोदराज ज्ञवाली, नागरिकका प्रधान सम्पादक गुणराज लुर्इंटेल र रिपब्लिका दैनिकका सम्पादक सुवास घिमिरे उपस्थित थिए।

प्रकाशित: २१ जेष्ठ २०७४ ०७:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App