८ वैशाख २०८१ शनिबार
खेल

हल्लाभन्दा बाहिर भारत

बर्मिङ्घम – साबिक विजेता भारतले च्याम्पियन्स ट्रफीअन्तर्गत आइतबार इड्गावास्टनमा हुने आफ्नो पहिलो खेलमा चिर प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दा मैदानबाहिर चलिरहेका हल्लालाई बेवास्ता गर्दैै सुखद नतिजाको दाउमा हुनेछ ।

सञ्चारमाध्यमहरूमा कप्तान विराट कोहली र प्रशिक्षक अनिल कुम्बलेबीच विवाद उत्पन्न भएको भन्ने खबर बाहिरिन थालेपछि उत्कृष्ट एवं सन्तुलित खेलाडीको भारत प्रतियोगिताकै दाबेदार टोलीमध्यको एक भए तापनि केही दबाबमा परेको थियो ।

गत जुनमा प्रशिक्षकमा नियुक्त भएपछि पूर्व लेग स्पिनरसमेत रहेका कुम्बलेको प्रशिक्षणमा भारतले पाँचवटा टेस्ट शृंखला जितिसकेको छ । 

च्याम्पियन्स ट्रफी सकिएलगत्तै उनको सम्झौता पनि सकिनेछ तर प्रतियोगिता सुरु हुनुभन्दा एक साता पहिला प्रशिक्षक पदका लागि आवेदन खुला गर्ने बोर्ड अफ कन्ट्रोल इन इन्डियाको निर्णयमाथि धेरैले प्रश्न उठाइरहेका छन् ।

‘प्रशिक्षक र कप्तानबीच कुनै कुरा मिलेको थिएन भने किन गत मार्चमा अस्ट्रेलिया भ्रमणलगत्तै यो विषयमा कुनै निर्णय  गरिएन ?’ सर्वोच्च अदालतले गठन गरेको चार सदस्यीय कमिटीमा रहे पनि बिसिसिआईको विरोधपछि राजीनामा दिँदै रामचन्द्र गुहाँले राजीनामापत्रमा भनेका छन्, ‘एउटा महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता चाँडै आउँदै छ भन्ने थाहा हँुदा पनि अन्तिम समयसम्म यो समस्या समाधानका लागि किन कुनै कदम चालिएन ?’

आइसिसीले दिने वार्षिक सहयोगमा केही कटौती भएपछि भारतले च्याम्पियन्स ट्रफीमा भाग नलिने संकेत गरेको थियो । यससँगै भारतले चार वर्षअघि इड्गावास्टनमा सम्पन्न खेलमा भारतले इङ्ल्यान्डलाई पराजित गर्दैै जितेको च्याम्पियन्स ट्रफीको उपाधि रक्षा गर्न नसक्ने खतरा बढेको थियो । वर्षाले प्रभावित भएपछि उक्त खेल २० ओभरमा झारिएको थियो ।

तर कोहलीले इङ्ल्यान्ड भ्रमणमा निस्कनुअघि भनेका थिए,‘हामी जितका भोका छांै र हामी सधैं यसकै बारेमा मात्र सोचिरहेका हुन्छौं ।’

यता पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदीले डब्लुडब्लु डट आइसिसी क्रिकेट डट कममा कोहलीको नेतृत्वमा रहेको टोली ब्याटिङ र बलिङ दुवै पक्षमा बलियो भएको उल्लेख गरेका थिए । 

‘कोहलीले टोलीको मेरुदण्डको भूमिका खेल्दा भारतसँग रोहित शर्मा, अजिन्क्या रहाणे, शेखर धवन, मेहन्द्रसिंह धोनी र युवराज सिंहजस्ता ब्याट्सम्यान छन् जो खेल जिताउन सक्षम छन् । साथै तीव्र गतिका बलर भुवनेश्वर कुमार र मोहम्मद सामी तथा स्पिनर रविचन्द्रन आश्विन र रवीन्द्र जडेजा भएको भारतीय टोलीको बलिङ आक्रमण पनि बलियो सन्तुलित छ,’ अफ्रिदीको भनाइ थियो । 

तर कप्तान तथा विकेटकिपर ब्याट्सम्यान सरफराज अहमद र ठूलो सट प्रहार गर्न सक्ने फहिम असरफका कारण पाकिस्तानी टोलीलाई पनि कम भने आकलन गर्न मिल्दैन ।

‘हामीसँग गुमाउनु केही छैन, हामी यहाँ हाम्रो स्वाभाविक खेल खेल्छाैं,’ सरफराजले गत साता भनेका थिए, ‘हामी प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै जित हात पार्छौं भन्नेमा आशावादी छाैं।’

दुवै टोलीका खेलाडीले यस खेललाई केवल एक खेलको रूपमा लिए पनि भारत र पाकिस्तानबीचको खेलले विश्वभर रहेका करोडौं दर्शकको ध्यान खिच्ने भएकाले पनि यस खेलले धेरै महत्व राख्दछ ।

अहिलेसम्म भारतले एकदिवसीय विश्वकप र ट्वान्टी–२० विश्वकप क्रिकेटमा पाकिस्तासँग कुनै खेल गुमाएको छैन।

तर च्याम्पियन्स ट्रफीमा भएका तीन भिडन्तमा भने पाकिस्तानले दुई पटक भारतलाई पराजित गरिसकेको छ।

प्रकाशित: २१ जेष्ठ २०७४ ०६:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App