६ वैशाख २०८१ बिहीबार
अर्थ

आँखा लेन्स उद्योग स्थापना गर्न सरकारी अनुदान

काठमाडौं – नेपाल आँखा कार्यक्रम अन्तर्गत सञ्चालन हुँदै आएको आँखाको लेन्स उत्पादनलाई उद्योगको रुपमा स्थापना गर्न सरकारले अनुदान दिने भएको छ । तिलगंगा नेत्र विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको लेन्स प्रयोगशालालाई आँखा लेन्स उद्योगको रुपमा स्थापना गर्न उद्योग मन्त्रालयले अनुदान स्वरुप १० करोड रुपैयाँ दिने निर्णय गरेको हो । 

प्रयोगशालालाई उद्योगको रुपमा स्थापना गर्ने उद्देश्यसाथ वैशाख २८ गते सरकार र नेपाल आँखा कार्यक्रमको नेतृत्व गर्दै आएका डा. सन्दुक रुइतबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । आँखाको लेन्स उत्पादन उद्योगको क्षमता अभिवृद्धिका लागि मेसिन उपकरण किन्न उद्योग मन्त्रालयले उक्त रकम दिने निर्णय गरेको मन्त्रालयले जनाएको छ । सरकारको सहयोगमा उत्पादित आँखाको लेन्स नेपालभित्र बिक्री गर्दा सहुलियत दरमा दिने र बढीभन्दा बढी देशमा निर्यात गर्ने लक्ष्यसमेत राखिएको छ ।

हाल उत्पादन भइरहेको आँखाको लेन्सलाई उद्योगको रुपमा स्थापना गर्न अनुदान दिने निर्णय गरिएको उद्योगमन्त्री नविन्द्रराज जोशीले बताए । सरकारसँग समझदारीपछि डा. रुइतले आँखा कार्यक्रममा लगानी र भौतिक सुविधा थप गर्न सकेमा उद्योगको रुपमा विकास गर्न सकिने सम्भावना रहेको बताएका थिए । उनले नेपाल आँखाको लेन्स र मोतिबिन्दुको चाहिने सामग्रीमा आत्मनिर्भर भएको र निर्यात समेत भइरहेको जानकारी गराएका थिए । 

प्रतिष्ठानले दुई दशकदेखि आँखाको लेन्स उत्पादन गर्दै आएको छ । प्रतिष्ठानबाट सञ्चालित लेन्स ल्याबोरेटरीबाट हालसम्म करिब ४९ लाख लेन्स उत्पादन गरी वितरण गरिएको छ । 

उक्त ल्याबोरेटरीबाट हाल वार्षिक पाँच लाख लेन्स उत्पादन भइरहेको छ । यस कार्यक्रमलाई थप विस्तार र व्यावसायिक उत्पादन गर्दै वार्षिक १५ लाख लेन्स उत्पादन गर्ने लक्ष्य राखिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रको उच्चमागलाई पूरा गर्न वार्षिक १५ लाख लेन्स उत्पादन गर्ने कारखाना स्थापना गर्नुपर्ने समझदारीपत्रमा उल्लेख गरिएको छ ।

उद्योग मन्त्रालयले लेन्स उद्योगको क्षमता विस्ताको लागि आवश्यक भौतिक, आर्थिक र प्रर्वाधार विकासका लागि आवश्यकता अनुसार सहजीकरण गर्ने र नेपाल भित्रने कम गुणस्तरका सस्ता लेन्सको आयात रोक्न उद्योग मन्त्रालयले आवश्यक पहल सहमति भएको थियो ।  लेन्स उद्योगको लागि आवश्यक कच्चा पदार्थ तथा मेसिनरी आयातमा उद्योग मन्त्रालयले सहजीकरणको भूमिका निर्वाह गर्नेछ । 

लेन्स उद्योगले उद्योग क्षेत्रमा सामाजिक उत्तरदायित्वको भूमिका निर्वाह गरी स्थानीय जनताको हित प्रवद्र्धनमा काम गर्ने र गुणस्तरीय लेन्सको उत्पादन गरी नेपालमा बिक्री वितरण गर्नुका साथै आयात प्रतिस्थापन गर्न समेत दुई पक्षबीच सहमति भएको थियो । 

हाल उत्पादन भइरहेको लेन्समध्ये ५० प्रतिशत निर्यात भइहरेको छ । नेपालमा उत्पादित लेन्स विश्वका ५० मुलुकमा निर्यात भइरहेको छ । विदेशमा निर्यात गर्दा प्रतिलेन्स १६ डलर पर्छ भने नेपालीलाई दुई सय रुपैयाँभन्दा कम मूल्य बिक्री भइरहेको छ । 

सहमति अनुसार सरकारले नेपाल आँखा कार्यक्रमले सञ्चालन गर्ने मोतिबिन्दु रोगको शल्यक्रिया गरी प्रत्यारोपण गरिने कृत्रिम लेन्सको उत्पादन गर्ने तथा सोका लागि आवश्यक सहायक सामाग्री तथा कच्चा पदार्थ समेतको उत्पादन गर्ने, उद्योग स्थापनाका निमित्त सहजीकरण र समन्वय गर्नेछ । 

लेन्स उद्योगलाई राष्ट्रिय गौरवको आयोजना वा राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा स्थापित गर्न मन्त्रालयको तर्फबाट आवश्यक सहजीकरण गर्ने समझदारी भएको थियो । त्यसैगरी, उद्योगको लागि उत्पादन वृद्धि प्रवद्र्धन तया संरक्षण गर्न आवश्यक भौतिक, आर्थिक तथा नीतिगत सहयोगको लागि सरकारले आवश्यक पहल गर्नेछ । 

उद्योग मन्त्रालयले लेन्स उद्योग स्थापनामा रहेको प्रक्रियागत समस्यालाई प्रचलित कानुनको दायरामा रही समाधान गर्न सहजकर्ताको भूमिका निर्वाह गर्ने र अन्तर्राष्ट्रिय प्रवद्र्धनका निमित्त आर्थिक कूटनीतिका माध्यमबाट आवश्यक सहकार्य गर्नेछ ।

त्यसैगरी, उद्योग म्यागासेसे पुरस्कार विजेता वैज्ञानिक डा.महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्रसँग उद्योग मन्त्रालयले एक करोड ५० लाख अनुदान दिने निर्णयसमेत गरेको छ । 

राष्ट्रिय आविस्कार केन्द्रले उत्पादन गरेको विद्युतीय सवारीको प्रयोगलाई समेत उद्योग मन्त्रालयले प्रवद्र्धन गर्ने भएको छ । यसका साथै नेपाली किसानलाई सरल र सहुलियत मूल्यमा धान काट्ने मेसिन उपलब्ध गराउन यस्तो मेस्निको आविस्कारको लागि समेत राष्ट्रिय आविस्कार केन्द्रलाई उद्योग मन्त्रालयले सहयोग पु¥याउने जनाएको छ । राष्ट्रिय आविस्कार केन्द्रको क्षमता विस्तालाई ध्यानमा राखी उद्योग मन्त्रालयले उक्त रकम सहयोग गरेको जनाएको छ ।

प्रकाशित: २१ जेष्ठ २०७४ ०६:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App