८ वैशाख २०८१ शनिबार
राजनीति

अलमलमा उम्मेदवार, अन्योलमा मतदाता

वृद्धासँग मत माग्दै घोराही उपमहानगरका १५ कांग्रेसका अध्यक्ष उम्मेदवार रमेश पाण्डे । तस्बिर : देवेन्द्र बस्नेत

दाङ – वैशाख ३१ मा हुने चुनावको तयारीमा नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज जीवन गौतम ९ वैशाखमा घोराही उपमहानगरपालिकाको मेयर उम्मेदवार चुनिए । सोही दिन सरकारले स्थानीय तह निर्वाचन दुई चरणमा गर्ने निर्णय गर्याे । जसअनुसार प्रदेश १, २, ५, ७ को निर्वाचन दोस्रो चरणमा जेठ ३१ गते गर्ने निर्णय भयो । त्यसपछि गौतमले जेठ ३१ का लागि भोट माग्न थाले । ‘वैशाख ३१ मा निर्वाचन हुनेर सोहीअनुसार मतदातासँग भोट मागिरहेको थिएँ,’ उनले भने, ‘तर जुन दिन उम्मेदवार चुनिएँ, उसैदिन साँझ चुनाव सार्ने निर्णय सरकारले गर्याे ।’

बर्खाको झरी अनि खेतीपातीको व्यस्त समयमा भएकाले असार १४ मा  चुनाव हुनेमा उम्मेदवारहरू विश्वस्त छैनन् ।

वैशाख ३१ का लागि भोट माग्दै हिँडेका जीवनलाई मतदातासमक्ष एक महिनाको ‘भाका’ सार्दा केही असहज भएको थियो । ‘मधेसी दललाई सहमतिमा ल्याउने प्रयासस्वरूप जेठ ३१ मा सारेको भनेर मतदातालाई एक महिनापछि निर्वाचन हुनेमा ढुक्क बनाएँ,’ उनले भने । जेठ ३१ लक्षित उनको चुनावी प्रचार ३६ दिन सम्म चल्यो । जेठ ३१ लक्षित उनको प्रचार अभियान निर्वाचनको उत्तराद्र्धमा पुग्नै आँट्दा सरकारले गत सोमबार फेरि चुनावको तिथि सारिदियो । ‘अब चुनाव हुन्छ भनेर मतदाता पनि विश्वस्त भएका बेला फेरि मिति सारियो,’ उनले भने, ‘मतदातालाई असार ९ गते पक्कापक्की भनेर मनाउन कसरत गर्नुपर्याे ।’ सोमबार सरकारले तय गरेको मितिअनुरूप मंगलबार उनले एक दिन असार ९ लाई लक्षित गर्दै चुनावी प्रचार थाले । त्यो प्रचार पनि एकै दिनमा मात्रै सीमित भयो । सरकारले बुधबार फेरि चुनाव मिति सारेर असार १४ मा पुर्याइदिएको छ । ‘पटकपटकको मिति परिवर्तनले निर्वाचन हुने–नहुनेमा धेरै आशंका छ,’ उनले भने, ‘हामी आफैं पनि यसप्रति सशंकित हुनुपर्ने बेला आइसकेको छ ।’ 

जीवनजस्तै स्थानीय तहको निर्वाचनमा होमिएका उम्मेदवालाई पटकपटक मिति परिवर्तनले अन्योल बनाएको छ । बर्खाको झरी अनि खेतीपातीको व्यस्त समयमा भएकाले असार १४ मा  चुनाव हुनेमा उम्मेदवारहरू विश्वस्त छैनन् । 

‘पटकपटकका यस्ता मिति परिवर्तनले उत्साह घटाइदिएको छ,’ घोराही उपमहानगरपालिकाका एमालेका मेयर उम्मेदवार नरुलाल चौधरीले भने, ‘चुनाव हुन्छ कि हुन्न भन्ने आशंका सर्वत्रै बनिसकेको छ ।’ 

पछिल्लोपटक सरकारले तय गरेको असार १४ को मिति मतदाताअनुकूल नभएकाले पनि निर्वाचनमाथिको आशंका तीव्र बढेको छ । ‘असार १४ मतदाता खेतमा व्यस्त हुने समय हो’, चौधरी भन्छन्, ‘त्यस्तो बेलामा निर्वाचन हुन्छ कि हुँदैन भन्नेमै हामीलाई शंका छ ।’ 

निर्वाचन मिति सर्दा चुनावी मैदानमा रहेका उम्मेदवारहरुलाई आर्थिक भार बढाइदिएको छ । समय लम्बिरहँदा स्वाभाविकै रूपमा उम्मेदवारलाई आर्थिक चाप थेग्न गाह्रो हुने माओवादी केन्द्रका मेयर उम्मेदवार गौतमले बताए । उनले भने, ‘एकातिर असार १४ मा निर्वाचन हुनेमा आशंका चुलियो भने अर्कोतिर पटकपटकको मिति परिवर्तनले हामीलाई आर्थिक भार बढ्दै गएको छ ।’ 

असार १४ मा निर्वाचन हुने आशंकाकै कारण जिल्लामा चुनावी माहोल मत्थर बन्दै गइरहेको छ । केही तहका उम्मेदवारहरूले त हाललाई प्रचार अभियान रोकिसकेका छन् । 

घोराही उपमहानगरपालिका वडा नम्बर १४ का कांग्रेसका वडा अध्यक्ष उम्मेदवार श्याम सुवेदीले आफ्नो चुनावी प्रचार घरदैलो गरेर तीव्र पार्दै थिए । बुधबारदेखि उनको प्रचार अभियान पूरै रोकिएको छ । उनले असार १४ मा निर्वाचन हुने वा फेरि मिति सर्ने भन्ने निक्र्योल चाहेका छन् । ‘असार १४ मै निर्वाचन हुने वा नहुने भन्ने आशंका भइरहेका बेला केही दिन पर्खौं भनेर घरदैलो अभियान रोकेका छौं,’ उनले भने, ‘आइतबारसम्म केन्द्र तहको राजनीतिक उपलब्धि हेरौं र सोहीअनुसार कदम अगाडि बढाउँला भनेका छौं ।’ पटकपटकको मिति परिवर्तनले उम्मेदवार मात्रै हैन, मतदातामा झनै आशंका चुलिएको छ । मतदाताको असन्तुष्टि सम्बोधन गर्न अहिले उम्मेदवारहरुलाई सकस भइरहेको छ । 

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का वडा सदस्य उम्मेदवार कांग्रेसका सुवास डाँगीले आफ्नो चुनावी प्रचारलाई निरन्तरता दिइरहेकै छन् । तर मतदातासमक्ष पुगेर भोट माग्दाको पहिलाको उत्साह पूरै मत्थर बनिसकेको उनी बताउँछन् । ‘प्रचारमा हिँडेका त छौं, तर चुनाव हुन्छ या हुन्न भन्ने आशंकाले चुनावी उत्साह पूरै हटिसकेको भन्दा हुन्छ,’ उनले भने । पटकपटक निर्वाचन सारिँदा मतदातामा स्वाभाविकै रूपमा नकारात्मक प्रभाव पर्छ नै । अहिले घरदैलोमा पुग्ने मतदाता अधिकांशले चुनाव हुने ‘आधार’ उम्मेदवारसँग मागिरहेका छन् । डाँगीले भने, ‘चुनाव हुन्छ भन्ने ग्यारेन्टी दिनुस् भनेर मतदाताले आधार मागिरहेका छन् ।’ 

घोराही १५ का कांग्रेस वडा अध्यक्षका उम्मेदवार रमेश पाण्डेले असार १४ बाट फेरि मिति सारियो भने पक्कै पनि दल र दलका उम्मेदवारप्रतिको विश्वास जनतामा पूरै गुम्ने बताउँछन् । 

निर्धारित मितिमै निर्वाचन हुन नसक्दा लोकतन्त्र खतरामा पर्ने टिप्पणी विश्लेषहरूको छ ।  विश्लेषक विनोद पोखरेलले असार १४ निर्वाचनका लागि अनुकूल मिति नरहेको बताए । ‘खेतीपातीमा व्यस्त हुने समय हो, तैपनि एक दिन काम छोडेर मतदाता भोट हाल्न जालान्, तर पानीले बाटो बिग्रेर मतदाता आइपुग्नै नसक्ने ठाउँ पनि हाम्रो गाउँ समाजमा छन्,’ उनले भने ‘त्यस्ता दुर्गमका नागरिर्क भोट हाल्नकै लागि जोखिम मोल्न कति तयार होलान् ?’

दाङमा दुई उपमहानगर, एक नगरपालिकासहित सात गाउँपालिका छन् । 

 

प्रकाशित: २१ जेष्ठ २०७४ ०२:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App