coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

साना दलको समर्थन खोज्दै देउवा

काठमाडौं – प्रधानमन्त्रीमा उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मधेसमा आन्दोलनरत राष्ट्रिय जनता पार्टीसहित संसद्मा प्रतिनिधित्व गर्ने साना दलको समर्थन आफ्नो पक्षमा जुटाउन सक्रिय भएका छन् । 

देउवाले शनिबार दिउँसो राजपा अध्यक्षमण्डलका सदस्यहरूसँग भेटी प्रधानमन्त्री निर्वाचनमा आफूलाई समर्थन गर्न आग्रह गरे । राजपा नेतासँगको भेटमा कांग्रेसका नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि र कृष्ण सिटौला पनि थिए । 

देउवाले संसद्मा प्रस्तुत संविधान संशोधन विधेयक पास गर्न दुईतिहाइ जुटाउन आफूले प्रयास गर्ने आश्वासन दिँदै समर्थन मागे । उनले राजपालाई सरकारमा सहभागी हुन पनि आग्रह गरे । 

देउवाको आग्रहलाई राजपा नेताहरूले सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । ‘हाम्रो समर्थनमा वर्तमान सत्ता गठबन्धन निर्माण भएको हो । समर्थन फिर्ता लिने वातावरण सरकारले नै बनायो,’ देउवासँगको भेटपछि राजपा अध्यक्षमण्डलका सदस्य शरतसिंह भण्डारीले भने, ‘हामीले उठाएका मुद्दा सम्बोधन गरे हामीले फेरि सरकारलाई समर्थन गर्छौं भनेर उहाँ (देउवा) लाई भन्यौं ।’ सरकारलाई समर्थन गर्ने या नगर्ने औपचारिक निर्णय भने आइतबार बस्ने पार्टी बैठकले लिने जानकारी भण्डारीले दिए । 

भेटमा राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर, सदस्यहरू राजेन्द्र महतो, भण्डारी र अनिल झा सहभागी थिए।

भेटमा देउवाले नयाँ सरकार निर्माण र सञ्चालनमा सहयोग गर्न आग्रह गर्दै कांग्रेसले लेखेको चिठी पनि राजपा नेताहरूलाई दिएका थिए । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको भेटमा राजपाका अन्य मागबारे पनि कुराकानी भएको थियो । राजपा नेताहरूले स्थानीय तह चुनावमा जान पार्टी दर्ता हुनुपर्ने, पार्टीले चुनावचिह्न पाउनुपर्नेलगायत विषय राखेका थिए । वातावरण बने चुनावमा जान तयार रहेको पनि उनीहरूले बताए । 

राजपा नेता मनीष सुमनले भने आफूहरू नयाँ प्रधानमन्त्री निर्वाचन प्रक्रियामा सहभागी नहुने दाबी गरेका छन् ।  ‘प्रधानमन्त्री चुन्ने प्रक्रियामा हामी सहभागी हुँदैनांै’, उनले भने । 

स्रोतका अनुसार देउवालाई समर्थन गर्ने या नगर्नेबारे राजपाभित्रै विवाद छ । महेन्द्र यादव, भण्डारी, अनिल झा देउवालाई समर्थन गर्नुपर्छ भन्ने पक्षमा छन् भने महतो, राजकिशोर यादव प्रधानमन्त्री निर्वाचन प्रक्रियामा पार्टी सहभागी हुननहुने अडानमा छन् । 

यस्तै देउवालाई समर्थन गर्ने या नगर्नेबारे राप्रपाले पनि औपचारिक निर्णय गरेको छैन । आइतबार बिहान बस्ने राप्रपा संसदीय दल र कार्यसम्पादन समितिको संयुक्त बैठकले  यसबारे औपचारिक  निर्णय लिने सहप्रवक्ता मोहन श्रेष्ठले बताए । राप्रपाका  नेताहरू देउवाको नेतृत्वमा सरकारमा जान इच्छुक देखिएका छन् । राप्रपालाई सरकारमा लिने प्रतिबद्धता आए उसले देउवालाई समर्थन गर्ने निश्चित छ । तर राप्रपालाई सरकारमा लैजानेनलैजानेबारे देउवाले केही बोलेका छैनन् । राप्रपा सहप्रवक्ता श्रेष्ठले सरकार बाहिर रहेर समर्थन गर्ने, सरकारमै जाने या सरकारलाई समर्थन नगर्ने तीनवटा विकल्पमध्ये एउटामा आइतबार बिहानसम्म पार्टीले निर्णय लिने बताए ।  

यसैगरी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल पनि देउवालाई समर्थन गर्ने या नगर्नेबारेमा शनिबारसम्म अनिर्णित छ । फोरम नेपालले आइतबार बिहान संसदीय दलको बैठक डाकेर  निर्णय गर्ने प्रमुख सचेतक शिवजी यादवले बताए । ‘हामी अझै अनिर्णित नै छौं । भोलि (आइतबार) बिहान पार्टी संसदीय दलको बैठक गरी यसबारे निर्णय गर्छौं,’ उनले भने ।

संसद्मा दुई सिट भएको परिवार दल पनि शनिबारम्म अनिर्णित छ । परिवार दलका अध्यक्ष एकनाथ ढकालले आइतबार बिहान पार्टीले बैठक गरी यसबारे निर्णय गर्ने बताए ।  संसद्मा रहेका अखण्ड पार्टी, नेकपा संयुक्तले भने देउवालाई समर्थन गर्ने जनाएका छन् । त्यस्तै विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक नेपालले  भने देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने भएको छ । 

प्रकाशित: २१ जेष्ठ २०७४ ०२:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App