coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

अन्तराष्ट्रिय स्तरको क्यान्सर अस्पताल नेपालमै

ललितपुर – ललितपुर हरिसिद्धीस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर शनिबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । हस्पिटलको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी हुन् । 

गुणस्तरीय क्यान्सर उपचार सेवा प्रदान गर्ने उद्देश्यसहित अन्तराष्ट्रिय मापदण्ड अनुसार अस्पताल स्थापना गरिएको अस्पतालका कार्यकारी अध्यक्ष्य डा.सुदिप श्रेष्ठले जानकारी दिए । उनका अनुसार क्यान्सर उपचारका लागि वर्षेनी हजारौं नेपालीहरु बाहिर गएर ठूला धनराशी खर्च भएको छ । ‘क्यान्सर निको हुनसक्छ’ भन्ने नाराकासाथ पहिलो चरणमा ५० शैयाको अस्पताल सुरु गरिसकेको र दोस्रो चरणमा अस्पतालमा एक सय ५० शैयाको नयाँ भवन निर्माण योजना रहेको बताए। 

अस्पतालको औपचारिक उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले बढ्दो आधुनिकता र खानपानले नेपालीहरुमा क्यान्सरको दर बढेकाले यसको रोकथामका लागि हस्पिटलले ठूलो भूमिका खेल्ने बताइन् । ‘क्यान्सर जस्तो जटिल रोगसँग लड्न सबै तह र तप्काबाट एकजुट हुनुपर्छ,’ उनले भनिन्, ‘नेपालमा क्यान्सर लाग्नुको मुख्य कारण अशिक्षा र चेतनाको कमी हो।’ उनले क्यान्सरबारे गाउँगाउँमा जनचेतनामुलक कार्यक्रम गर्न आवश्यक रहेकोले यसतर्फ सरकारी र निजी क्षेत्र सबैको ध्यान जानुपर्नेमा जोड दिइन्।  ‘अब निजी र सरकारी अस्पताल हातेमालो गर्दै स्वास्थ्य सेवालाई चुस्त बनाउन आवश्यक छ,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘सरकारले पनि यस्ता रोगहरुलाई भगाउनतर्फ लाग्नुपर्छ ।’

कार्यक्रममा स्वास्थ्य मन्त्री गगन थापा र उद्योगमन्त्री नविन्द्रराज जोशी पनि सहभागी थिए । स्वास्थ्य मन्त्री थापाले सरकारले नागरिकलाई क्यान्सर अस्पताल छिर्नै नपर्ने वातावरण बनाउन लागेको बताए । ‘कुनै पनि नागरिकलाई क्यान्सर लागेर अस्पताल छिर्न नपर्ने अभियान हामीले सञ्चालन गर्न लागेका छौं,’ उनले भने, ‘सकेसम्म क्यान्सरलाई निराकरण गर्ने अभियान सरकारले सुरु गर्छ ।’ उनले गाउँगाउँमा क्यान्सर रोगबारे जनचेतनाको कमी भएकोले पनि नेपालमा वर्षेनी क्यान्सर रोगीहरुको संख्या बढेको बताए । ‘यो आर्थिक वर्षमा हामीले देशभरका एक हजार स्वास्थ्य चौकीमा क्यान्सरसहित नसर्ने रोगको परिक्षण सेवा सुरु गरिरहेका छौं,’ मन्त्री थापाले भने, ‘अर्को वर्षदेखि पुरै स्वास्थ्य चौकीहरुमा क्यान्सर रोग परीक्षणका उपकरणहरू पुर्याउँछौं ।’ 

उद्योगमन्त्री नविन्द्रराज जोशीले क्यान्सरजस्तो महङ्गो र जटिल रोगको निदानतर्फ सबैले हातेमालो गर्नुपर्ने बताए । उनले कुनै पनि बिरामी रकम अभावमा पनि उपचारबाट वञ्चित हुन नपर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए।
 

प्रकाशित: २० जेष्ठ २०७४ १०:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App