८ वैशाख २०८१ शनिबार
राजनीति

दुई वर्षपछि भूकम्प पीडितको हातमा आवास अनुदान

खोटाङ – महाभूकम्प गएको दुई वर्षपछि खोटाङका भूकम्प पीडितलाई निजी आवास अनुदान वापतको रकम वितरण गर्न थालिएको छ । 

२०७२ साल वैशाख १२ गतेको महाभूकम्प तथा सोको पराकम्पनका कारण क्षतिग्रस्त निजी आवास तथा भवन पुनर्निर्माणका लागि शुक्रबारदेखि सालपा विकास बैंक र सेञ्चुरी कमर्सियल बैंकबाट अनुदान वितरण सुरु गरिएको हो । सालपा विकास बैंकको कार्यालयमा प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका भूकम्प पीडित रिमानसिं तामाङलाई अनुदान वापतको चेक हस्तान्तरण गरेर अनुदान वितरण सुरु गरेका हुन् ।

 भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुःनर्निमाणका लागि भूकम्प पीडितलाई पहिलो किस्तावापत ५० हजारका दरले पहिलोपल्ट अनुदान बाँड्न थालिएको हो । सालपा र सेञ्चुरी कमर्सियल बैंकबाट १ हजार ३५४ लाभग्राहीलाई आवास अनुदान वितरण हुने जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत एबं आवास निर्माण सम्बन्धीका फोकल पर्सन रविकिरण आचार्यले बताए । 

सालपा विकास बैंकबाट हलेसी तुवाचुङ नगरपालिका र ऐसेलुखर्क गाउँपालिकाका ५१८ लाभग्राहीलाई आवास अनुदान वितरण हुने जानकारी दिइएको छ । यस्तै, सेञ्चुरी कमर्सियल बैंकबाट केपीलासगढी र लामीडाँडा गाउँपालिकाका ८३६ लाभग्राहीलाई आवास अनुदान वितरण हुने आचार्यले बताए । आवास अनुदान लिनका लागि सदरमुकाम दिक्तेलस्थित सालपा बिकास बैंक र सेञ्चुरी कमर्सियल बैंकमा लाभग्राहीको भीड लागेको छ । ढिलै भए पनि आवास अनुदान पाउँदा भूकम्प पीडितले राहतको महसुस गरेका बताएका छन् । 

जिल्लाका सालपा विकास बैंक र सेञ्चुरी कमर्सियल बैंक बाहेक राष्ट्रिय वाणिज्य बैंक दिक्तेल, राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय खोटाङबजार, बैंक अफ काठमाडौं र ज्योती विकास बैंकको शाखा कार्यालयबाट आवास अनुदान वितरणको व्यवस्था मिलाइएको छ । बैंक अफ काठमाडौंबाट रुपाकोट मझुवागढी नगरपालिकाका लाभग्राहीलाई, राष्ट्रिय वाणिज्य बैंक दिक्तेलबाट साकेला गाउँपालिकाका लाभग्राहीलाई, ज्योती विकास बैंकबाट दिप्रुङ र बराहपोखरी गाउँपालिकाका लाभग्राही तथा खोटाङबजारस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयबाट खोटेहाङ र जन्तेढुंगा गाउँपालिकाका लाभग्राहीलाई आवास अनुदान वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

अन्य बैंकबाट पनि हप्ता दिनभित्र आवास अनुदान वापतको रकम वितरण हुने जिल्ला समन्वय समितिले जनाएको छ । ‘रकम वितरणका लागि कोलेनिकाबाट पहल भइरहेको छ,’ आचार्यले भने, ‘हप्ता दिनपछि सबै बैंकबाट आवास अनुदान वितरण हुन्छ ।’ लाभग्राहीलाई पहिलो किस्तामा ५० हजार, डिपिसिको काम सकिएपछि दोश्रो किस्तामा १ लाख ५० हजार र छाना हाल्ने बेलामा तेश्रो किस्तावापत ७ ५ हजार तथा शौचालय निर्माणपछि २५ हजार रकम खातामा उपलव्ध गराइने जनाइएको छ । भूकम्पका कारण खोटाङमा १३ हजार ७९९ घरमा क्षती पुगेको तथ्यांक थियो । 

भूकम्पपछिको पुनःनिर्माणका लागि पुनःनिर्माण प्राधिकरणबाट जिल्लामा पहिलो र दोश्रो किस्ता गरी ३३ करोड ४७ लाख ४० हजार रकम जिल्ला समन्वय समितिमा आएको छ । वैशाख १७ मै आवास निर्माणको रकम आए पनि प्राधिकरणले वितरण गर्ने बैंक छनौटमा ढिलाई गर्दा रकम वितरणमा पनि ढिलाइ भएको हो । ‘ढिलै भए पनि भूकम्प पीडितको हातमा अनुदान पुर्याउन सफल भएका छौँ,’ प्रजिअ पोखरेलले भने, ‘यसलाई सफल बनाउन सँधै प्रयासरत रहने छौँ ।’ भूकम्पपछिको पुनःनिर्माणका लागि लगत संकलन तथा सर्भेक्षणका काम सकिए लगत्तै जिल्लामा आवास अनुदान सम्झौताका लागि प्रकृया अघि बढाइएको थियो । 

प्रकाशित: २० जेष्ठ २०७४ ०७:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App