coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

तीन कविता : बिचौलिया

यश लामा

बिचौलिया

टुपी बाँधेर रातदिन पढ्छ

डिग्री, एमफिल र पिएचडी गर्छ

तर बोसो लाग्छ बिचौलियाको

र खुसी पनि उसैको घरमा हुन्छ।

 

हलो जोतेर

कान्लाभन्दा माथि उक्लन सक्दैन किसान

परदेशीको कमाइ सकिन्छ केटाकेटी खर्चमा

चित्रकारले चित्र कोरेर

एउटा चस्मा किन्छ मुस्किलले

शिक्षक चकको धुलो खाएर बाँच्छ

तर खुट्टामा चक्का

र जिउमा पखेटा हाल्छ बिचौलियाले

अनि जन्ती र मलामी पनि उसैको मुठीमा हुन्छ।

 

कहिलेदेखि सुरु भएको होला

बिचौलिया पढाउने गुरुकुलीय शिक्षा!

 

करङ भाँचिएर अलपत्र छ भर्‍याङ

किनारामा प्यारालाइसिस जिन्दगी बाँच्दै छ रेलिङ

क्यान्सरले ग्रस्त छ बाटो

हावाको दम बढेको छ धुलोधुँवाले

विकासे बजेट ओढेर मस्त निदाउँछ बिचौलिया

सरकार पनि उसैको संरक्षण गर्छ।

 

उफ्! कुन ठाउँ त्यस्तो होला

जहाँ बिचौलिया छैन।

 

ज्यामीको कुटो

गोरुको पुच्छर

भालेको सिउर

तरुनीको थुनदानी

गाउँमा पार्दै गरेको रक्सी

स्वतन्त्र वनमा फलेको काफल

मेरो टोपी

नानीको किताब, कापी र पेन्सिल

केही पनि अछुतो छैन।

 

बिचौलिया

ज्यामीको शरीरबाट पसिना निचोरेर

घरको भुइँ पुस्छ 

माली दिदीको आँसु निचोरेर

तनतनी पिउँछ

र सीमा नाघेर मनपरी गर्छ।

 

यसरी अभ्यस्त पारियो कि

अब उनीहरूबिना सुरक्षित बच्चा जन्मदैन

मरेको लास पोल्ने घाट पाइँदैन

र पाइँदैन नुन, तेल, भुटुन आदि।

 

हे आमा!

म अन्योलमा छु

यो देशमा बिचौलिया छ कि सरकार!

 

 

छोरीलाई शपथ

मेरी छोरीले शपथ ग्रहण नगर्दा

यत्रो हंगामा किन?

 

साला काम नपाएर

लिंग समातेर राजनीति गर्छ यार।

 

ए! गाउँले छिमेकी हो

तपाईंहरूले शपथ खुवाउन ल्याउनुभएको

तामाको भाँडाभरि पिसाब फेरेर

मस्त निदाइरहेकी छे छोरी

कृपया वरिपरि गएर डिस्टर्ब नगरिदिनुहोला।

 

आदरणीय गुरुवर्ग

तपाईंहरूबाट प्राप्त

धर्मग्रन्थहरूको चित्रांकित

टालोभरि हगेर हाँसिरहेकी छे छोरी

कृपया बालकमाथि रिस नपोखिदिनुहोला।

 

नेतागण

तपाईंहरूको राजनीतिक घोषणापत्रले

सिँगान पुछेपछि मात्र

ढुक्कसँग आँखा उघार्छे छोरीले

कृपया सोचेर जवाफ दिनुहोला

राजनीतिसँग किन तर्सिन्छे मेरी छोरी।

 

प्रिय अधिकारकर्मी

तपाईंहरुलाई देखेपछि

किन गन्हाउने गरी पाद्छे छोरीले

र, तिम्रा कुराभन्दा कैयौँगुणा

मीठो मानेर चुसिरहन्छे आमाको स्तन

कृपया आलिसान महलबाट

तल भुइँमा ओर्लेर जवाफ दिनुहोला।

 

ओई मनुवा!

अब छोरीको बदलामा म खान्छु शपथ

र भन्छु तिमीहरूजस्तो लिंग समातेर

घटिया राजनीति गर्दिनँ।

 

हे भगवान्

मेरो कलेजो निकालेर खाऊ

या जस्तोसुकै कठोर सजाय देउ

म संस्कारको नाममा

छोरी बाँध्न सक्दिनँ।

 

माकाफुइँ ज्योतिष पनि

कम्मरमुनि हेरेर मान्छेको नाम राख्छ यार!

 

यी हावा, पानी र माटो पनि

के भएका होलान्

छोरीले शपथ नखाएदेखि

भोक हडताल बसिरहेका छन्

र सूर्यको तापक्रम बढाइरहेछन्

पोलियो खुवाउने दिदी

र खोप लगाउने बहिनी पनि

शपथकै वकालत गरिबस्छन्।

 

समाज पनि यसरी बटारिरहेछन् कि

मानौँ अब यिनलाई सोझाउन

त्यहीँ मरेका शासक आउनुपर्छ।

 

मेरी छोरीले कसम नखाँदा

यत्रो हंगामा

शपथ खाएर हिँड्नेहरूको

व्यावहारिक लीला देख्दा सब चुपचाप।

 

हे महामानव हो!

सिद्धान्तको बुटी झुन्ड्याएर

कठोर शपथ खुवाउन सकिनँ मैले छोरीलाई।

 

मलाई माफ गर्नुहोला

यो फेसनजस्तो शपथ मात्र खुवाउने

सामाजिक अध्यादेशविरुद्ध उभिएको छु।

 

 

 

ट्याग

जन्मेकै दिनदेखि

मान्छेमा लाग्ने पहिलो ट्याग हो–

जात।

 

दोस्रो ट्याग

उसको समाजमा भर पर्छ।

 

तेस्रो

चौथो

र, अरु ट्यागहरू

तथाकथित बुद्धिजीवीले

राहतजस्तै गरी बाँडिदिन्छन्।

 

यी ट्याग गन्ने हो भने

क्याल्कुलेटर नै ह्याङ हुनेसम्म

भइसकेँ हुँला सायद म पनि।

 

अघिल्लो वर्ष मात्रै

मान्छेको निधार हेरेर

थला परेका कैयौँ कम्प्युटर

आजसम्म घर फर्केका छैनन्।

 

कविता सुनाउँदा

प्रथमपटक लागेको ट्याग

र, तिम्रो औँलाले घोँचीघोँची

कुपोषणले मरेका मान्छे देखाएको दिन

म कहिल्यै पनि बिर्सन सक्दिनँ।

 

अलिक अबेला गोठालोबाट फर्केको

छिमेकी काकालाई लागेको ट्याग सम्झँदा

आज पनि लाजले पानी–पानी हुन्छु म।

 

सहर गएर सिनेमा हेरेकै भरमा

बिहे हुन नसकेका चेली देखेपछि

क्रोध र करुणाको आँसु

छुट्याउन सक्ने भएका रहेछन् बन्धुहरूले पनि।

 

सहरको नाम लिनै हुँदैन

कुन्नि के सम्झेर थुक्दा हुन् गाउँलेले।

 

रातो झन्डा बोकेदेखि

निधारमा रातो ट्याग लागेको हो मेरो

तिमीले सोचेजस्तो कालो धब्बा होइन।

 

थोरबहुत बाल्न थालेपछि

विभिन्न समूहमा विभक्त हुँदो रहेछ मान्छे।

 

आमाको मिन्सुरेसन रोकिएदेखि

मृत्युपर्यन्त लाग्दोरहेछ मान्छेमा ट्याग

लैंगिक

सामाजिक

चारित्रिक

शैक्षिक

नैतिक

राजनीतिक आदि आदि।

 

जति सोचे पनि

जति अन्वेषण गरे पनि

मैले पत्ता लगाउन सकिनँ

यी ट्याग लगाउनेहरूको

जात छ कि छैन

विचार हुन्छ कि हुँदैन

लिंग हुन्छ कि हुँदैन

धर्म हुन्छ कि हुँदैन

र यिनीहरू मान्छे हुन् कि होइनन्?

प्रकाशित: २० जेष्ठ २०७४ ०३:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App