बौद्धमार्गीको थलोका रुपमा चर्चित तिब्बतमा राजा छिरङ देचङभन्दा पहिले बौद्ध गुम्बा वा विहार समेत थिएनन्। बरु त्यतिबेला तिब्बतमा फाट्टफुट्ट मन्दिर भने भेटिन्थे।
तिब्बतमा पहिलोपटक गुम्बा बनाउने प्रयास पनि नेपालबाटै सुरु भएको थियो। तान्त्रिक विधिबाट बज्रगुरु पद्मसम्भवले नेपालमा ध्यान गरेपछि मात्र तिब्बतमा गुम्बा निर्माण सम्भव भएको इतिहासविद् तथा संस्कृतिविद् डा. जगमान गुरुङ बताउँछन्।
निर्माणाधीन गुम्बा रातमा अदृश्य शक्तिले निरन्तर भत्काइदिएपछि त्यसको शान्तिका लागि पद्मसम्भवले जोखना हेरेर ध्यानद्वारा नेपालको मुस्ताङमा लो केघर गुम्बा बनाए।
तिब्बती राजा देचङका पालामा अर्थात् आठौँ शताब्दी आसपासमा नेपालबाट तिब्बत गएका पदमसम्भवले बौद्ध धर्मको प्रचार मात्र गरेनन्, तिब्बतकै पहिलो सामे गुम्बा बनाउन सुरु गरे। उक्त गुम्बा निर्माणका क्रममा बिघ्न–बाधा उत्पन्न हुन्थे। दिनभरि सामे गुम्बा निर्माणको काम गरिन्थ्यो। तर, रात परेपछि अदृश्य शक्ति (असुर) ले गुम्बा भत्काइदिन्थ्यो। असुरको अर्थ त्यहाँका वनवादी हुन सक्ने गुरुङ बताउँछन्। आफ्नो हालिमुहाली चलिरहेका क्षेत्रमा अर्कै धर्मको अस्तित्व स्थापना हुन खोजेपछि त्यसलाई रोक्न गुम्बा भत्काइएको हुन सक्ने गुरुङ बताउँछन्। उक्त गुम्बा भारतको उडन्तपुरी बिहारको नमुनामा बनाउन लागिएको थियो।
निर्माणाधीन गुम्बा रातमा अदृश्य शक्तिले निरन्तर भत्काइदिएपछि त्यसको शान्तिका लागि पद्मसम्भवले जोखना हेरेर ध्यानद्वारा नेपालको मुस्ताङमा लो केघर (लो भनेको तिब्बती भाषामा मुस्ताङ र केघर भनेको मुस्ताङमा रहेको कुनै एक ठाउँको नाम) गुम्बा बनाए। नेपालमा गुम्बा बनाएपछि तिब्बतमा बिघ्न शान्ति भयो। त्यसपछि तिब्बतमा सामे गुम्बा बनाउन सम्भव भएको ऐतिहासिक मिथक भेटिन्छ। नेपाल र भारतबाट तिब्बतमा गएको भनिएको बौद्धधर्म तिब्बतमा पुगेपछि लामास्टिक बौद्ध धर्मका रूपमा विकास भयो। जसलाई तिब्बतीयन बुद्धिजम अर्थात् लामास्टिक बुद्धिजम पनि भनिन्छ।
लामास्टिक बुद्धिजम अन्तर्गत नेपालको मुस्ताङमा गुम्बा बनाएपछि मात्र तिब्बतमा पनि गुम्बा बनाउन सम्भव भएको गुरुङ बताउँछन्। लामास्टिक अर्थात् तिब्बतीयन बुद्धिजममा 'लो केघर' पहिलो गुम्बा र पहिलो निधितीर्थका रुपमा समेत चर्चित छ।
तिब्बती भाषामा लो केघर गुम्बालाई तेरनेताङ (तेरको अर्थ निधि र नेको अर्थ तीर्थ) भनिन्छ। बुद्ध धर्ममा तान्त्रिक तथा धार्मिक ग्रन्थ राखिएका ठाउँलाई निधि तीर्थ भनिन्छ। संसारभर त्यस्ता २८ निधि तीर्थ रहेका छन्। जसमध्ये लो केघर पहिलो निधि तीर्थ भएको डा. गुरुङ बताउँछन्। 'लो केघर बुद्धधर्मका निधि तीर्थमध्येको पहिलो र निकै महत्वपूर्ण निधि तीर्थ हो, त्यसैले यसको निकै ठूलो महत्व छ,' गुरुङ भन्छन्। लो केघरका बारेमा नेपालमा निकै कम मानिसलाई मात्र जानकारी छ तर पूरै तिब्बतमा लो केघरलाई सबैभन्दा महत्वपूर्ण निधि तीर्थका रुपमा लिइने गुरुङ बताउँछन्। उनी भन्छन्, 'बौद्ध निधि तीर्थको सूची नेपालले बनाएको होइन, यो त तिब्बती बौद्धमार्गीको सूचीमा रहेको छ, त्यसैले उनीहरूले यसलाई विशेष महत्व दिन्छन्। लो केघर गुम्बामा शाक्यमुनि बुद्धलाई होइन, बज्रगुरु पद्मसम्भवलाई गुरु देवताका रुपमा थपना गरिन्छ।'
निङ्मा सम्प्रदायका नाग्पा अर्थात् बिहे गर्ने लामाको केन्द्रबिन्दु मानिने लो केघर गुम्बा हाल जीर्ण अवस्थामा छ। त्यहाँ स–साना पार्टीमा आकाशमा उड्दै गरेका सिद्ध लामाको आकृति खोपेर रंग लगाएर काठको फ्रेममा सजाएर राखिएको छ। तर यस्ता महत्वपूर्ण धार्मिक स्थलको कसैले वास्ता नगरेको गुरुङको भनाइ छ। 'अहिले पनि तिब्बतबाट ठूलो संख्यामा बौद्धमार्गी लो केघरके दर्शन गर्न आउँछन्,' उनले भने, 'अहिले यातायात सहजताका कारण पनि त्यहाँ जान सजिलो भएको छ।'
आन्तरिक र बाह्य पर्यटन, विशेषगरी धार्मिक पर्यटनको आकर्षणका लागि सम्भावना बोकेको त्यो गुम्बा मुस्ताङको चराङदेखि माथि मराङ गाउँको नजिकै रहेको छ। त्यहाँका स्थानीयले अहिले पनि साँझ–बिहान गएर पूजा गर्ने गुरुङ बताउँछन्। 'प्रत्येक वर्ष मुस्ताङबाट निङमा सम्प्रदायका नाग्पाले पूजा गर्छन्। त्यहाँको अवस्था अहिले पनि केही हदसम्म जीवन्त देख्न सकिन्छ। यसबारे पुरातत्व विभागलाई कुनै चासो नै छैन,' उनले भने। विदेशको पैसाबाट गुम्बा बन्ने प्रवृत्ति मौलाए पनि ऐतिहासिक महत्व बोकेका यस्ता क्षेत्रको संरक्षणमा कसैले ध्यान नपुगेको गुरुङ बताउँछन्।
पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवर पनि लो केघर गुम्बाको संरक्षणमा हाल कुनै काम अघि नबढेको बताउँछन्। 'यो महत्वपूर्ण गुम्बा हो भन्ने विभागलाई थाहा छ तर हाल संरक्षणका लागि कुनै काम भइरहेको छैन,' कुँवरले भने।
विभागकी पुरातत्व अधिकृत मञ्जुसिंह भण्डारी यो गुम्बा विभागको लिस्टिङमा रहेको बताउँछिन्। 'सातौँ शताब्दीमा बज्रगुरु पद्मसम्भवले बनाएको महत्वपूर्ण गुम्बा हो भनिन्छ तर स्थानीय स्तरबाट पनि संरक्षणको आवाज नउठाएको वा पहल नगरेकाले पनि विभागको ध्यान त्यतातिर पुगेको छैन,' भण्डारीले भनिन।
ऐतिहासिक गुम्बा भनिए पनि त्यस्तो कुनै प्रमाण भने फेला नपरेको उनको भनाइ छ। भूकम्पपछि भत्किएका संरचना निर्माणमा केन्द्रित हुनुपरेकाले संरक्षणको काम अघि बढ्न नसेको उनको भनाइ छ।
प्रकाशित: २० जेष्ठ २०७४ ०२:४४ शनिबार