७ वैशाख २०८१ शुक्रबार
राजनीति

भरतपुर मतगणना विवाद : निर्वाचन आयोग अनिर्णीत

काठमाडौं- भरतपुर महानगरपालिकाको मतगणनालाई निरन्तरता दिने कि मतगणना हुन बाँकी वडामा फेरि चुनाव गर्ने भन्ने विषयमा निर्वाचन आयोग अनिर्णीत बनेको छ।

मतगणनाका क्रममा गत आइतबार राति माओवादी प्रतिनिधिले मतपत्र च्यातेपछि अवरुद्ध भएको मतगणनालाई निरन्तरता दिने या फेरि मतदान गर्ने भन्ने विषयमा शुक्रबार बसेको आयोग बैठकले कुनै निर्णय लिन नसकेको हो।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने शुक्रबार बैठक बसे पनि सबै पदाधिकारी उपस्थित नभएका कारण निर्णय हुन नसकेको बताएका छन्। 'यस्तो महŒवपूर्ण विषयमा निर्णय गर्दा सबै पदाधिकारीको उपस्थिति हुनुपर्छ,' यादवले भने, 'एकजना आयुक्त काम विशेषले बाहिर हुनुभएकाले निर्णय हुन नसकेको हो, अब शनिबार निर्णय हुन्छ।'

मतपत्र च्यातिएका कारण मतगणना रोकिएपछि आयोगले उपमहान्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा अनुगमन टोली पठाएको थियो। टोलीले माओवादी गणक प्रतिनिधिले मतपत्र च्यातेको प्रतिवेदन आयोगलाई बुझाएको छ। त्यसपछि आयोगले मुख्य निर्वाचन अधिकृतलाई च्यातिएका मतपत्र गणना गर्न निर्देशन दिएको थियो। मुख्य निर्वाचन अधिकृतले स्थानीय राजनीतिक दलका प्रतिनिधिको उपस्थितिमा च्यातिएका मतपत्र गणना गर्दा ९० वटा मतपत्र च्यातिएको जनाएको छ।

वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत भरतपुर महानगरपालिकाका २९ वटा वडामध्ये २७ वटा वडाको मतगणना सम्पन्न भएको थियो। १९ वडाको मतगणनाका क्रममा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि मतगणना स्थगित भएको थियो।

भरतपुर महानगरपालिकको मेयरका एमालेका देवी ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहालबीच भइरहेको प्रतिस्पर्धामा सोचेअनुरूप मतान्तर घटाउन नसकेपछि माओवादी केन्द्रका गणना प्रतिनिधिले मतपत्र च्यातेका थिए। मतपत्र च्यात्ने काममा संग्लन माओवादी कार्यकर्ता मधु न्यौपाने र द्रोण सिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिए पनि धरौटीमा रिहा गरेको छ।

मतपत्र च्यातिएपछि माओवादीले पुनः मतदान गर्नुपर्ने माग गरेको छ भने एमालेले मतगणनालाई निरन्तरता दिन माग गरेको छ। मेयरकी उम्मेदवार दाहाल माओवादी केन्द्र र सत्तारूढ दल कांग्रेसका तर्फबाट संयुक्त उम्मेदवार भएकाले माओवादी पक्षमा निर्णय लिनुपर्ने भन्दै निर्वाचन आयोगमाथि चर्काे दबाब परिरहेको अयोगका एक अधिकारीले बताए।

प्रकाशित: २० जेष्ठ २०७४ ०१:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App