coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

विरोधबीच प्रधानमन्त्री निर्वाचन कार्यतालिका

काठमाडौं- प्रमुख प्रतिपक्षी दल एमालेलगायतको विरोध कायमै रहे पनि व्यवस्थपिका संसद् सचिवालयले नयाँ प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।

दिनभर सहमति जुटाउने  प्रयास  सफल नभएपछि शुक्रबार अबेर संसद्का महासचिव मनोहरप्रसाद  भट्टराईले आइतबार प्रधानमन्त्रीको निर्वाचन गर्नेगरी कार्यतालिका सार्वजनिक गरेका हुन्।

सभामुख ओनसरी घर्ती मगरले संसद्का महासचिवलाई कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएकी थिइन्। सभामुखको निर्देशनलगत्तै महासचिव भट्टराईले प्रधानमन्त्री पदका दाबेदारले शनिबार मनोनयन दर्ता गर्ने र आइतबार निर्वाचन हुने कार्यसूची सार्वजनिक गरेका हुन्।

कार्यतालिकाअनुसार शनिबार  संविधानको धारा २९८ उपधारा ३ बमोजिम प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भनी उम्मेदवारीको सूचना दर्ता गर्न ११ बजेदेखि ४ बजेसम्मको अवधि तोकिएको छ। शनिबार नै ४ः३० बजेपछि  उम्मेदवारको सूची प्रकाशन गर्ने र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सूचना टाँस गरिने कार्यतालिकामा उल्लेख छ।

आइतबार ११ बजे संसद् बैठकमा उम्मेदवारले उम्मेदवारीको सूचना प्रकाशन गरेपछि प्रस्तावक र समर्थकले प्रस्ताव र समर्थन गर्ने समय तोकिएको छ। उम्मेदवारीको सूचनामाथि सामूहिक छलफल हुने र एकैसाथ निर्णयार्थ प्रस्तुत हुने कार्यतालिकामा उल्लेख छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न पठाएको पत्र गत बिहीबार नै सभामुखले  सदनमा प्रस्तुत गर्न  खोजेकी थिइन्। तर, एमालेले भरतपुर महानगरपालिकामा स्थगित मतगणना सुचारु गर्न माग गर्दै सदन अवरुद्ध गरेका कारण पत्र संसद्मा प्रस्तुत हुन सकेन।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएर काम चलाऊ प्रधानमन्त्रीका रुपमा काम गर्दै आएका छन्। सहमतिमा नयाँ प्रधानमन्त्री चयन गर्न राष्ट्रपति भण्डारीले सुरुमा एक साता दिएकी थिइन्। सहमति हुन नसकेपछि बहुमतीय प्रक्रियाका लागि राष्ट्रपतिले दोस्रोपटक पत्र पठाएकी हुन्। एमालेले सदनमा उक्त पत्र पढेर सुनाउन नदिएपछि सूचना टाँसेर प्रधानमन्त्री चयन प्रक्रिया अगाडि बढेको हो।

'सबै दललाई सहमतिमा ल्याएर बहुमतीय प्रक्रिया अवलम्बन गरी प्रधानमन्त्री चयनका लागि दिनभर प्रयास गरियो', सभामुख घर्ती भनिन्, 'तर सफल हुन नसकेपछि दलहरुको सहमतिमै सूचना टाँसेर प्रक्रिया अगाडि बढाउन लगाएकी हुँ।'

शुक्रबार बिहान ११ बजे सभामुखले सबै दलका प्रमुख सचेतक र सचेतकसँग संसद् भवन नयाँबानेश्वरमा बैठक गरेकी थिइन्। बैठकमा एमाले र सत्ता गठबन्धन पुरानै अडानमा कायम रहेपछि फेरि दिउँसो ३ बजे सिंहदरबारमा शीर्ष नेतासहितको बैठक बोलाएकी थिइन्। उक्त बैठकमा पनि एमालेले पुरानै अडानमा रही सदनको अवरोध हटेपछि मात्र प्रधानमन्त्री चयन प्रक्रिया सुरु गर्न भनेको थियो। माओवादी र कांग्रेसका नेताले भने संसद् नियमावलीको हवाला दिँदै निर्वाचन कार्यतालिका सार्वजनिक गर्न सदन सुचारु हुनुनपर्ने जिकिर गरेका थिए। संसद् नियमावलीको नियम ४९ ले निर्वाचन कार्यतालिका सार्वजनिक सूचना टाँसेर अघि बढाउन सक्ने व्यवस्था गरेकाले सोही अनुसार प्रक्रिया अघि बढाएको संसद् सचिवालयका प्रवक्ता भरत गौतमले बताए।

विपक्षी दललाई पनि सहमतिमा ल्याएर सूचना टाँसिएको सभामुख घर्तीले दाबी गरे पनि प्रतिपक्षी एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले भने आफूहरुको आग्रहलाई अस्वीकार गरी कार्यतालिका आएको बताए। सभामुख र सत्ता गठबन्धनसँगको बैठकमा आफूहरुले सदनको जारी अवरोध हटाएर आइतबारबाट प्रक्रिया सुरु गर्न आग्रह गरेको ढकालले बताए। राष्ट्रपतिबाट बहुमतको प्रक्रिया अवलम्बन गर्न पठाएको पत्र सदनमा प्रस्तुत भएपछि आफूहरु पनि उम्मेदवारको दाबेदार हुने भएकाले यस्तो प्रक्रिया अवलम्बन गर्न भनेको तर सरकारले त्यसलाई पेलेर अघि बढेको उनको आरोप छ।

आफूले समस्या भएका धेरै विषयमा दलका नेतासँग पटकपटक छलफल गर्ने गरेको, नियम तथा संविधानले दिएको अधिकार प्रयोग गरी काम गर्ने गरेको सभामुख घर्तीले बताइन्। प्रधानमन्त्री चयन प्रक्रियामा पनि सबै दलहरुसँग गहन छलफल गरेको र कार्यतालिका सार्वजनिक गर्न सबै दल सकारात्मक देखेपछि महासचिवलाई निर्देशन दिएको दाबी सभामुखले गरिन्। विगतमा पनि राजनीतिक सहमतिमा सूचनामार्फत प्रधानमन्त्री चयनको जानकारी दललाई दिएको परम्परा रहेको भन्दै उनले त्यसको निरन्तरता मात्र भएको दाबी गरिन्। एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले भने संसदीय पद्धतिमा राष्ट्रपतिले बहुमतीय आधारमा प्रधानमन्त्री चयन गर्नू भनी पठाएको पत्र संसद्मा नसुनाई सूचना जारी गर्नु नैतिकताको प्रश्न भएको बताए। नियमावलीले नरोकेको भन्दैमा अरुलाई जानकारी नहुनेगरी प्रधानमन्त्रीजस्तो पदमा चयन गर्न खोजिएबाट संसदीय अभ्यासमा सहयोग नपुग्ने टिप्पणी नेम्बाङले गरे।

 

कार्यतालिका

२० गते शनिबार

११ बजेदेखि ४ बजेसम्म-

संविधानको धारा २९८ उपधारा ३ बमोजिम प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भनी उम्मेदवारीको सूचना दर्ता गर्ने

४ः३० बजे

उम्मेदवारीको सूची प्रकाशन गर्ने र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सूचना टाँस गरिने

२१ जेठ आइतबार

११ बजे

संसद् बैठकमा उम्मेदवारले उम्मेदवारीको सूचना प्रकाशन गर्ने

प्रस्ताव र समर्थकले समर्थन गर्ने समय प्रदान गर्ने

उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल हुने

एकैसाथ निर्णयार्थ प्रस्तुत हुने

बहुमत प्राप्त गर्ने प्रधानमन्त्री चयन हुने

प्रकाशित: २० जेष्ठ २०७४ ०१:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App