१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

राजस्वका महानिर्देशक शर्मा पक्राउ

काठमाडौं- भ्रष्टाचार गरेको आरोपमा आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार उनलाई लाजिम्पाटस्थित राजस्व कार्यालय परिसरबाट पक्राउ गरेको हो।

विभिन्न कम्पनीको कर निर्धारणमा भ्रष्टाचार गरेको उजुरीका आधारमा छानबिनका लागि शर्मालाई पक्राउ गरिएको आयोगले जनाएको छ। टंगालस्थित अख्तियारको हिरासतमा राखेर शर्मामाथि थप अनुसन्धान सुरु गरेको आयोगका एक अधिकारीले बताए।

विभिन्न कम्पनीको कर निर्धारणमा महानिर्देशक शर्माले अर्बौं रुपैयाँ छुट दिएको उजुरी अख्तियारमा परेको थियो। अख्तियारका एक उच्च अधिकारीले भने, 'शर्माले गरेका अनियमिततासम्बन्धी धेरै उजुरी परेका छन्। उजुरी निकै गम्भीर प्रकृतिको भएकाले आयोगले यो मुद्दालाई विशेष रूपमा लिएको छ।' ती अधिकारीका अनुसार आयोगले यसअघि उनीमाथि प्रारम्भिक छानबिन गरेको थियो।

कर फर्स्योट आयोगका सदस्यसचिवसमेत रहेका शर्मा आयोगबाट विभिन्न व्यापारीको २१ अर्ब रुपैयाँ कर मिनाहा, एनसेलको स्वामित्व बिक्री गर्दा करिब ३३ अर्ब पुँजीगत लाभकर छुट दिन भूमिका खेलेको, अकुत सम्पत्ति जोडेको, सुनसरीको प्रमुख जिल्ला अधिकारी हुँदा सुगम ग्यासको 'फुटरिङ' र 'नेकरिङ' गरेको मुद्दामा उद्योगी शिवप्रसाद घिमिरेलाई उन्मुक्ति दिएकोलगायत आरोपमा मुछिएका छन्।

रामशरण महत पछिल्लोपटक अर्थमन्त्री बनेका बेला बनेको कर फर्स्योट आयोगमा शर्माको भूमिका शंकास्पद रहेको थियो। आयोगको मूल उद्देश्य व्यवसाय टाट पल्टेर कर उठ्न नसक्ने अवस्था आएपछि मात्र त्यस्ता व्यवसायीलाई कर छुट दिने थियो। तर आयोगले भ्याट तिर्न बाँकी रहेका व्यवसायीलाई समेत छुट दिएको थियो। ब्याजमा केही मिनाहा दिनुपर्नेमा सावाँमा समेत छुट दिएको देखिएको थियो। शर्माकै अग्रसरतामा भ्याटमा छुट दिइएको उच्च पदस्थ सरकारी अधिकारीको दाबी छ। महालेखा परीक्षकले यसै वर्षको लेखा परीक्षण प्रतिवेदनमा आयोगले सिद्धान्तविपरीत अर्बौं रकम कर छुट दिएको जनाएको छ। उक्त रकम असुलउपर गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। शर्मा आयोगका सदस्यसचिव थिए। अख्तियारले शर्माबाहेक आयोगका अन्य पदाधिकारीलाई भने हिरासतमा लिएको छैन।

चार्टर्ड एकाउन्टेन्ट एलडी महत यसका अध्यक्ष थिए भने त्यस बेला अर्थमन्त्री रामशरण महत थिए।

एनसेल कर प्रकरणमा पनि शर्माको भूमिका शंकास्पद थियो। एनसेल सञ्चालन गर्ने तत्कालीन कम्पनी पुरानो टेलिया सोनेराले कर लाग्ने–नलाग्ने विषयमा शर्मासमक्ष पूर्वादेश माग्दा उनले लामो समयसम्म उत्तर नदिएर भूमिका शंकास्पद बनाएका थिए। अर्थ मन्त्रालय र यसका सबै अधिकारीले एनसेल बेचेबापतको लाभकर टेलिया सोनेराले तिर्नुपर्ने बताइरहेका बेला शर्माले सार्वजनिक रूपमा कर तिर्नु नपर्ने बताउँदै आएका थिए। संसद्का विभिन्न समितिमा भएको छलफलमा पनि उनले कर तिर्नुनपर्ने बताएर आलोचित बनेका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीसँग मिलेर टेलिया सोनेराबाट मोटो रकम लिएको आरोप शर्मामाथि छ। 

शर्माले केही समयअघिसम्म ठूला करदाता कार्यालयमार्फत व्यवसायीबाट रकम असुल्ने गरेको स्वयं व्यवसायीले गुनासो गर्दै आएका छन्। उनले ठूला करदातामा आबद्ध अधिकांश व्यवसायीबाट कर विवरणको ०.२ रकम लिने गरेको उद्योग वाणिज्य महासंघका उच्च अधिकारीहरू बताउँछन्। 'कर विवरण बुझाउँदा राजस्वबाहेक ०.२ प्रतिशत रकम नबुझाएसम्म करचुक्ता प्रमाणपत्र दिने गरिन्थ्यो,' महासंघका एक उच्च अधिकारीले शुक्रबार नागरिकसँग भने, 'कर अधिकृतसँग यसबारेमा गुनासो गर्दा सीधै शर्मासँग डिल गर भन्ने गर्दै आएका छन्।'

विभागका महानिर्देशक हुनुअघि शर्मा सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक थिए। त्यसबेला उनले धेरै व्यवसायी र सर्वसाधारणलाई धम्की दिएर रकम असुल गरेको आरोप लाग्दै आएको छ। शर्मा सम्पत्ति शुद्धीकरणमा हुदाँ त्यहाँ एकजना महिलासँग १० लाख रुपैयाँ लिएको आरोपमा शाखा अधिकृतलाई अख्तियारले पक्राउ गरेको थियो। यो काण्डमा पनि शर्मा मुछिएका थिए।

यस्तै, शर्मा सुनसरीमा प्रमुख जिल्ला अधिकारी हुँदा ग्यास व्यवसायीसँग पैसा लिएको आरोप लागेको थियो। ग्यासको 'फुटरिङ', 'नेकरिङ' काण्डमा व्यवसायी शिव घिमिरेसँग पैसा ख्वाएर उनलाई कारबाही नगरेको शर्मामाथि आरोप थियो।

ललितपुरमा प्रमुख जिल्ला अधिकारी हुँदा पनि उनले ढुंगाखानी सञ्चालन गर्ने व्यवसायीसँग मिलोमतो गरी रकम असुली गरेको आरोप लागेको थियो।

आन्तरिक राजस्व विभागमा शर्मा भन्दा पहिलेका महानिर्देशक राजन खनाल र टंकमणि शर्माले नक्कली भ्याट प्रकरणमा अनुसन्धान गरी व्यवसायीलाई कारबाही गरे पनि शर्मा आएपछि यो प्रकरण एकाएक सेलाएको थियो। शर्मा महानिर्देशक भएको भदौमा तीन वर्ष पुगे पनि अहिलेसम्म अनुसन्धानका कुनै पनि काम गराएका छैनन्।

शर्माको काम गर्ने शैली र आचरण शंकास्पद रहे तापनि कुनै पनि अर्थमन्त्रीले शर्मालाई हटाएनन्। अर्थ मन्त्रालयका अधिकारीहरू शर्माले कमाएको ७० प्रतिशत रकम उपल्लो तहका पदाधिकारीलाई बाँड्ने गरेको बताउँछन्। शर्मा रकम बाँडेर आफ्नो पोजिसन यथावत् राख्ने चतुर खेलाडीका रूपमा अर्थ मन्त्रालयमा चिनिन्छन्।

आफूले लोकसेवा आयोगका परीक्षार्थीका लागि पुस्तक लेखेर प्रशस्त आयआर्जन गरेको दाबी गर्दै आएका छन्। 

प्रकाशित: २० जेष्ठ २०७४ ०१:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App