६ वैशाख २०८१ बिहीबार
राजनीति

मतदान गर्न आतुर मधेस

छत्र कार्की/अमर खड्का

सुनसरी- दुहबी–११ स्थित तनमुना बस्तीका बासिन्दा शुक्रबार मध्याह्नको टन्टलापुर घाम छल्न रूखमुनि बनाइएको चौतारोमा गफिइरहेका थिए। असार १४ मा हुन लागेको दोस्रो चरणको स्थानीय तह चुनावमै उनीहरूको गफ केन्द्रित थियो।

नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारको घरभन्दा करिब तीन किलोमिटर दक्षिणमा रहेको यो बस्तीमा मधेसी समुदायको बाहुल्य छ। उनीहरू सामान्य खेतीकिसानी गरेर गुजारा चलाउँदै आएका छन्। गच्छदारको पकड रहेको मानिएको यस गाउँका बासिन्दाले आफूहरू मतदान गर्न आतुर रहेको बताए। 

'राजपा पनि चुनावमा आउने भएपछि अझ उत्साही भएको छु। उम्मेदवार टुंगो लगाइहाले भोट माग्न घरघर हिँड्न थालिन्थ्यो।' –महेन्द्र शर्मा, दुहबी नगरपालिका, तनमुना

'अब चुनाव हुनैपर्छ, बरु दलहरूले चाँडो उम्मेदवार टुंगो लगाए हुन्थ्यो नि,' स्थानीय महेन्द्र शर्माले भने, 'विभिन्न बहाना बनाएर कसैले पनि चुनाव सार्न हुँदैन, स्थानीय चुनाव जनतासँग प्रत्यक्ष गाँसिएको छ।' कुराकानीका क्रममा उनले ६ वटा मधेसी दल मिलेर हालै गठन भएको राष्ट्रिय जनता पार्टी (राजपा) को समर्थक रहेको खुलाए।

'राजपा पनि चुनावमा आउने भएपछि अझ उत्साही भएको छु,' उनलेे भने, 'उम्मेदवार टुंगो लागेचाहिँ मत माग्न घरघर हिँड्न थालिन्थ्यो।' आन्दोलनकै एउटा पाटोका रूपमा चुनावमा भाग लिने राजपाको निर्णय उचित लागेको उनको भनाइ छ। उनले यसो भनिरहँदा त्यहाँ बसेका अन्य स्थानीयले सहमति प्रकट गरेजस्तो देखिन्थ्यो। 

 विश्रामस्थलभन्दा सय मिटर माथितिर मधेसी महिला गर्मी छल्न छहारीमा बसिरहेका थिए। त्यहाँ पनि चुनावी चर्चाले स्थान नपाउने कुरै भएन। तराई–मधेसमा गाउँमा गर्मीयाममा बिहानभर काम गर्ने अनि दिउँसो खाना खाएर सुत्ने कि त साथीहरूसँग गफिने चलन छ। दुहबीबजारदेखि तनमुनाका गाउँ पुग्दा समूह–समूहमा गफिइरहेका थुपै्र भेटिए। 

'हाम्रो' होइन, राम्रो उम्मेदवार

दुहबी–११ कै  ६० वर्षीया लहरी चौधरीले गाउँमा पूरै चुनावको माहोल तयार भइसकेको सुनाइन्। यसअघि थुप्रै पटक मतदान गरिसकेकी उनले यसपालिचाहिँ 'हाम्रो' भन्दा पनि राम्रो उम्मेदवार छनोट गर्ने बताइन्। उनले चुनावी अनुभव सुनाउँदै भनिन्, 'पहिले गाउँ–गाउँमा ठुल्ठूला आमसभा गर्थे। अहिले चाहिँ उम्मेदवार टुंगो नलाग्दै पार्टीको चिह्नमा भोट हाल्नुपर्छ है भन्दै थुप्रै आइसके।' पार्टीलाई भन्दा पनि राम्रो व्यक्तिलाई मत हाल्ने सोच बनाएको उनको भनाइ छ। 'यहाँ त गाउँका अगुवाले जसलाई भन्यो उसलाई भोट दिने चलन छ, त्यसो हुँदा कहिलेकाहीं खराब मान्छेले पनि जित्न सक्छ,' उनले भनिन्, 'यसचोटि आफ्नै विवेक प्रयोग गर्छु, अरूले भनेर कहाँ हुन्छ र!'

मधेसी र थारू बाहुल्य सुनसरीका दुहबी र इनरुवा नगरपालिका तथा हरिनगरा, गढी, बर्जु, देवानगन्ज, कोसी र भोक्राहा गाउँपालिकाका मतदातालाई आफ्नो जनप्रतिनिधि छान्न हुटहुटी पलाएको देखिन्छ।

दुहबी नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदारको गृहनगर भए पनि मधेसी दलमा भएको टुटफुटले स्थानीय जनता विभिन्न दलमा बाँडिएका छन्।  त्यही भएर दलहरू यी क्षेत्रमा तालमेल गर्ने रणनीतिमा छन्। मधेसीसँगै कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपालगायत दलले पनि मधेसी दलको प्रभाव  क्षेत्रमा तालमेल गर्ने बताएका छन्।

 तालमेलको गठजोड

दुहबी नगरपालिकामा माओवादी केन्द्रले मेयरमा अर्थलाल चौधरी र उपमेयरमा रोजिना खातुनलाई उम्मेदवार बनाएको भोट माग्न थालेको छ। एमालेले मेयरमा विनय पोखरेल र उपमेयरमा चन्द्रकला विश्वासलाई उठाउने निश्चित छ। कांग्रेसले मेयरमा गौरीशंकर रौनियार र उपमेयरमा कल्पना कार्कीलाई अगाडि सार्ने चर्चा भए पनि औपचारिक घोषणा बाँकी छ। लोकतान्त्रिक फोरमले रामनाथ रौनियार, कुमार थापा, प्रदीप चौधरी र वेद गच्छदारमध्येबाट एकजनालाई मेयरको टिकट दिने भएको छ। अन्य मधेसी दल, संघीय समाजवादी फोरम, नेपाल र राजपा उम्मेदवार छान्न लागिपरेका छन्।

भारतीय सिमानासँग जोडिएको हरिनगरामा मधेसी दलहरूबाटै साझा उम्मेदवार उठाउने पहल भइरहेको छ। संविधान जारी भएपछि असन्तुष्ट संयुक्त मधेसी मोर्चाले गरेको बन्द र आन्दोलनबाट अत्यधिक सास्ती व्यहोरेका हरिनगरा क्षेत्रका बासिन्दा मधेसी समुदायबाटै राम्रो उम्मेदवार उठाउन चाहन्छन्।

'कहाँबाट कसलाई उठाउँदा ठिक हुन्छ भनेर 'फिल्डवर्क' मा जुटेका छौं, दुई दिनभित्रमै हाम्रो उम्मेदवार टुंगो लगाउँछौं,' राजपाका इरफान अन्सारीले भने, 'हाम्रो पार्टीबाट उपयुक्त उम्मेदवार छनोट गर्ने प्रक्रिया  थालिसकेका छांै। मधेसी दलबीच तालमेलको कुरा पनि भइरहेको छ।' हरिनगरामा मधेसी दलबीच तालमेल भएमा नेपाली कांग्रेससँग मुख्य प्रतिस्पर्धा हुन्छ। हरिनगरामा कांग्रेसका तर्फबाट प्रमुखमा गफार मियाँ र उपप्रमुखमा रिमझिम भगतको नाम टुंगो लागिसकेको छ।  संविधानसभाको दोस्रो निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ५ मा लोकतान्त्रिक फोरमबाट उम्मेदवार भएका गफार संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका थिए। उनको कांग्रेस प्रवेशले आफ्नो संगठन बलियो भएको कांग्रेसको दाबी छ। हरिनगरामा संघीय समाजवादी फोरमबाट अध्यक्षमा राजकुमार मेहता, पारसकुमार देव र धर्मवीर आर्यले दाबेदारी गदैं आएका छन्।

 लोकतान्त्रिकका फोरमका केन्द्रीय सदस्य रामनन्द पण्डितले हरिनगरामा कांग्रेससँग असन्तुष्ट रहेकालाई आफ्नो पार्टीमा भिœयाएर उम्मेदवार बनाउने तयारी भइरहेको बताए।  माओवादी केन्द्रले यहाँ दिलु मियाँलाई अध्यक्ष र मुन्नी मेहतालाई उपाध्यक्षमा उठाउने भएको छ। एमाले र राप्रपाले भने हरिनगरामा उम्मेदवार टुंगो लगाइसकेका छैनन्।

संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवको गृहपालिका भोक्राहा र कोसीमा मधेसी दलका साथै अन्य दल पनि चुनावमा लागेका छन्। भोक्राहामा एमालेले भर्खरै कांग्रेसबाट प्रवेश गरेका मुनिम अन्सारीलाई अध्यक्षमा उम्मेदवार बनाउने तयारी गरेको छ। 'भोक्राहामा एमालेको स्थिति बलियो बन्दै गएको छ, त्यहाँ नसोचेको नतिजा आउन सक्छ,' एमाले जिल्ला कमिटी सचिवालय सदस्य राम चौलागाईंले भने। कांग्रेसले भोक्राहामा अजमल अजाजलाई उम्मेदवार बनाएको छ। माओवादी केन्द्रले पञ्चनारायण मण्डललाई उम्मेदवार बनाएको छ। राप्रपा र  मधेसी दलले भने उम्मेदवार टुंगो लगाइसकेको छैनन्।

कोसी गाउँपालिकामा पनि कांग्रेसले अयुब अन्सारीलाई प्रमुख र अनिता यादवलाई उपप्रमुखमा टिकट दिने भएको छ। कोसीमा मधेसी दल, एमाले, माओवादी केन्द्र र राप्रपाले उम्मेदवार टुंगो लगाउन बाँकी छ।

बर्जु गाउँपालिका मधेसी दलको बाहुल्य स्थान हो। यहाँ नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम, नेपाल, राष्ट्रिय जनता पार्टी (राजपा) सहित मुख्य दलहरू  कांग्रेस, एमाले, माओवादी केन्द चुनावी प्रतिस्पर्धामा उत्रिने भएका छन्। बर्जुमा संघीय समाजवादी फोरम नेपालका तर्फबाट अध्यक्षमा परमानन्द मेहता र उपप्रमुखमा मूर्ति रामको टुंगो लागे पनि नाम सार्वजनिक गरिएको छैन। बर्जुमा कांग्रेसले प्रमुखमा इसरायल अन्सारीको टुंगो लगाए पनि उपप्रमुखमा विवादले गर्दा नाम टुंग्याउन केही दिन ढिलाइ हुने भएको छ।

एमालेले प्रमुखमा फनीलाल चौधरीलाई उठाउने भएको छ। माओवादी केन्द्रबाट सुरेन्द्र मेहता र विनोद गुरुङमध्ये एकलाई प्रमुखमा उठाउने तयारी छ।

कांग्रेसले मधेसी दलको प्रभाव रहेको  देवानगन्जमा प्रमुखमा लाली मेहतालाई उम्मेदवार बनाएको छ।  गढी गाउँपालिकाको प्रमुखमा श्रीप्रसाद यादव र उपप्रमुखमा रामकुमारी चौधरीलाई उम्मेदवार बनाएको छ। एमालेले गढीमा भद्रनारायण चौधरीलाई उम्मेदवार बनाएको छ। माओवादी केन्द्रले खगेन्द्र चौधरी र गणेश यादवमध्ये एकजनालाई प्रमुखको उम्मेदवार बनाउने भएको छ। माओवादी केन्द्रले देवानगन्ज प्रमुखको उम्मेदवारमा बेचन खत्वेको नाम टुंगो लगाउने भएको छ।

परिवर्तन हुँदै मतदाता

सुनसरी बराह नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट मेयरका प्रत्यासी बाबुराम बिष्ट आफ्नो क्षेत्रका मतदातासँग छलफलमै व्यस्त छन्। दुई दशकपछि हुन लागेको स्थानीय चुनावमा उठ्न पाउँदा उनी उत्साही छन्। २०५४ सालको स्थानीय चुनावमा टिकट नपाए पनि कांग्रेसको चुनावी अभियानमा उनी सक्रिय भएर लागिपरेका थिए।

'मेरो मूल्यांकन गरेर पार्टीले टिकट दिएको हो, यसपालि जित्ने आस छ,' मतदाता चक्रघट्टी बजारमा भेटिएका बिष्टले नागरिकसँग भने, 'मतदाताको मनोविज्ञान बुझेर चुनावी कार्यक्रम गर्दै आएको छु।' नगरमा एमालेसँग कांग्रेसको प्रतिस्पर्धा हुने उनको भनाइ छ। 

नगरपालिकाका कुल ११ वडामध्ये आधाजसोमा घरदैलो अभियान सिध्याइसकेका बिष्टले यसपालि मतदाता सचेत भएको पाएका छन्। 'शैक्षिक स्तर बढेकाले हुनसक्छ, मतदाता चनाखो हुँदै गएका छन्,' उनले भने, 'स्थानीय उम्मेदवारलाई नै जिताउनुपर्छ भन्ने उनीहरूको मनसाय रहेको देखिन्छ।'

बिष्टको कुरा चाख मानेर सुनिरहेका चक्रघट्टी बजारका व्यापारी तुलसी श्रेष्ठले जनताका समस्या सुन्ने र त्यसलाई तुरुन्त कार्यान्वयनमा लैजान सक्ने क्षमता भएका उम्मेदवारलाई यसपालि भोट दिने बताए। 'यसपालि नगर र गाउँको चुनाव भएकाले पार्टीभन्दा पनि 'राम्रा' उम्मेदवार जिताउनुपर्छ भन्ने मतदाता धेरै हुन्छन्, आखिर यिनै मतदाताको भोट निर्णायक हुन्छ,' उनले सुनाए। बराह मात्र होइन, सुनसरीका अन्य उपमहानगर, नगर तथा गाउँपालिकामा पनि १५ प्रतिशतसम्म मतदाताले व्यक्ति हेरेर भोट हाल्न सक्ने उनको आँकलन छ।

बराह नगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार नीलम खनाल पनि चक्रघट्टीस्थित पार्टीको नगर कार्यालय कार्यकर्तासँग चुनावी रणनीति बनाइरहेका थिए। २०५४ सालको स्थानीय निर्वाचनमा एमालेबाट उपाध्यक्ष जितेका खनालले यसपालि पनि मेयर/उपमेयरसहित सबै वडा जित्ने दाबी गरे। गाउँ–गाउँमा सूचना–प्रविधिको पहुँचले मतदाताको मनोविज्ञान परिवर्तन हुँदै गएको उनले बताए। 'तर अझै पनि पार्टीगत मत धेरै हुन्छ, पार्टीले कमजोर उम्मेदवार उठायो भनेचाहिँ त्यसले नतिजामा फरक पार्नसक्छ,' उनले स्पष्ट पारे।

विगतभन्दा यसपालिको स्थानीय चुनावलाई मतदाताले उत्सुकतासाथ हेरेको उनको अनुभव छ। विगतझैं यसपालि पनि यहाँ एमालेले कांग्रेससँग प्रतिस्पर्धा गर्ने उनी बताउँछन्। 'कतिपयलाई बर्खाका कारण कम खस्ने हो कि भन्ने चिन्ता छ, तर, अधिक मतदान हुन्छ भन्ने लाग्छ,' उनी थप्छन्।

मतदाता सचेत हुँदै गएकाले नेताहरूको लम्बेतान भाषणमा उनीहरूको चासो घट्दै गएको उनले महसुस गरेका छन्। खनालले नगरमा एउटा चुनावीसभाबाहेक अन्य सभा नगर्ने एमालेको सोच रहेको उनी बताउँछन्। 'तपाईंहरूले जितेपछि हाम्रो ठाउँमा विकासका कस्ता काम गर्नुहुन्छ भनी प्रश्न गर्छन्। जथाभाबी प्रलोभन दिएर जितेका उम्मेदवारलाई लामो समय टिकेर राजनीति गर्न मुस्किल पर्छ,' उनी सुनाउँछन्। 

बराह नगरपालिकाका केही टोलमा एउटै घरमा कांग्रेस, एमाले, माओवादी केन्द्र र संघीय समाजवादी फोरमका झन्डा झुन्ड्याएको देखिन्छ। यसले एउटा पार्टीलाई मात्र हेरेर भोट दिने प्रवृत्तिमा परिवर्तन आएको देखाउँछ। 'अघिल्ला चुनावमा पार्टीगत मतदाता गन्न सजिलो थियो, अहिले सजिलै आकलन गर्न सकिँदैन,' बराह नगरपालिकामा माओवादी केन्द्रबाट मेयरका प्रत्यासी कमलबहादुर कटवाल भन्छन्, 'प्रतिबद्ध मतदाताले एउटै पार्टीको चुनाव चिह्नमा सातै छाप लगाउँलान्, तर, आममतदातामा त्यो लागू हुन सक्दैन।' संघीय समाजवादी फोरमसँग तालमेलका लागि पहल गरिरहेको माओवादी केन्द्रले एमालेसँग सम्मानजनक प्रतिस्पर्धा गर्ने कटवालको राय छ। प्रदेश नम्बर १ को केन्द्र बराह नगरपालिकामा हुनुपर्छ भन्ने माग राख्दै आएकाले त्यसले यहाँका जनताको मत आकर्षित गर्ने उनी जनाउँछन्। बराह नगरपालिकामा कुल ४७ हजार तीन सय ९८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

सुनसरीमा दुई उपमहानगरपालिका, चार नगरपालिका र ६ गाउँपालिकामध्ये मधेसी दलको प्रभाव मानिएको इनरुवामा पनि मधेसी दलबाहेकले उम्मेदवार टंुग्याएका छन्। एमालेबाट मेयरमा पोस्टकुमार नेपाल र माओवादी केन्द्रबाट मेयरमा सुरेन्द्र कटवाल तथा उपमेयरमा तोया गिरीको नाम टुंगो लागेको छ। कांग्रेसबाट मेयरमा राजन मेहता र उपमेयरमा जमुना पोखरेलको टुंगो लागे पनि सार्वजनिक गरिएको छैन। रामधुनी नगरपालिकामा पनि मधेसी दलको केही हदसम्म प्रभाव छ। यहाँ पनि उनीहरूले उम्मेदवारको टुंगो लगाइसकेका छैनन्।

संविधान जारी भएपछि त्यसमा असन्तुष्टि जनाउँदै आन्दोलनमा होमिएका मधेसी दल चुनावमा आएपछि जनतामा उत्साह थपिएको मधेस मामिलाका विश्लेषक विजयप्रसाद मिश्र बताउँछन्। 'उपेन्द्र यादवको संघीय फोरम र विजय गच्छदारको लोकतान्त्रिक फोरम पहिल्यै चुनाव आइसकेका थिए, चुनावप्रति मतदाताको लहर देखेर राजपालाई नैतिक दबाब परेकाले उनीहरू चुनावमा आएका हुन्, यसले चुनावको माहोललाई अझ सकारात्मक बनाएर लैजान्छ,' उनी भन्छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार सुनसरी जिल्लामा कुल मतदाता संख्या चार लाख २१ हजार एक ५९ छ।

प्रकाशित: २० जेष्ठ २०७४ ०१:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App