८ वैशाख २०८१ शनिबार
राजनीति

किसानको अन्यौलता: रोपाई गर्नु की भोट हाल्न जानु

खोटाङ– स्थानीय तहको दोश्रो चरणको निर्वाचन मिति मध्य असारमा तोकिँदा खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका युवा किसान संग्राम राईलाई चित्त बुझेको छैन। ‘मुठी खाएर मुरी उव्जाउने समय’मा निर्वाचन मिति तोकिँदा खेतीपातीका काम गर्ने धेरै किसान भोट हाल्न नभ्याउने राईको भनाई छ। ‘असार १४ मा तोकिएको निर्वाचनले किसानलाई असर गर्छ। त्यो बेला सबै किसान धान रोप्न व्यास्त हुन्छन्,’ डाँडाखर्क कृषि बहुउद्धेश्यीय कृषि स्रोत केन्द्रका सञ्चालक रहेका राईले भने, ‘धेरैजसो त काम छाडेर भए पनि भोट हाल्न जालान् तर सबै जान्छन् भन्न सकिन्न।’

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा जिष्ट कृषि फर्म सञ्चालन गरिरहेका किसान फौदसिं कार्की हरेक वर्षको मध्य असारमा रोपाईमा व्यस्त हुन्छन् । अर्मपर्म र सरसघौमा रोपाई गर्ने समयमा निर्वाचन मिति तोकिँदा मतदानमा सोचे अनुशार किसानको सहभागीता नरहने कार्की बताउँछन्। ‘त्यो समय भनेको किसानको उत्पादन गर्ने समय हो,’ कार्कीले भने, ‘अन्य समयमा किसानको जती सहभागीता हुन्थ्यो, त्यो समयमा नहुन सक्छ ।’ यसअघि प्रयोग गरिएका मताधिकारबाट किसानको जनजीवनमा कुनै परिवर्तन आउन नसकेका कारण पनि किसानले मतलाई भन्दा खेतलाई प्राथमिकता दिने उनको भनाई छ।

खोटाङको १५ हजार २०२ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । सरकारले समय र मौसमलाई ख्याल नगरी दोश्रो चरणको मिति तोक्दा अधिकांश किसान सन्तुष्ट छैनन् । किसान प्रायः असारभरी नै रोपाईमा व्यस्त हुन्छन् । मताधिकार प्रयोग गर्न जाँदा खेतीपातीमा अशर पुग्छ, खेतीपाती नछाड्दा १९ वर्षपछि आएको आफ्नो मताधिकारको अवशर गुम्छ । त्यही भएर उनीहरुमा अन्योल देखिएको छ ।  एउटै कुलो वा नहरबाट पालोमा रोपाई गर्ने किसान यसबाट सबैभन्दा बढि प्रभावित हुन्छन्। निर्वाचनका दिन पानीको पालो परेका किसानको पालो छुटे पुःन पानीको पालो पाउन हप्ता दिन कुर्नुपर्ने हुन्छ। कतिपय पानी नपर्ने खेतमा असारको आकासे पानी परेको मौकामा रोपाई गर्नुपर्ने बाध्यता पनि उत्तिकै छ । अन्न उत्पादनको महत्वपूर्ण समयमा निर्बाचन मिति तोकिएपछि मतदानका लागि समय मिलाउन समस्या परिरहेको किसानको गुनासो छ । जेठ ३१ गते हुने निर्वाचनलाई असार ९ गते गर्ने भनेको केही दिनमै हप्ता दिनपछि सारिएकामा पनि किसानमा असन्तुष्टी छ। असार १४ गते तोकिएको निर्वाचनले खोटाङका कछाड र बेँसी क्षेत्रका किसान बढि मारमा पर्ने शुभम् फाउण्डेसनका कार्यकारी निर्देशक सुर्य राईले बताए । असार याम लेकाली क्षेत्रमा फलफुल र वनजन्य बोटबिरुवा रोप्ने मौसम पनि हो । ‘असार किसानका लागि महत्वपूर्ण समय हो, कछाड र बेँसी क्षेत्रका किसान रोपाईमा व्यस्त हुन्छन्,’ शुभम् फाउण्डेसनका कार्यकारी निर्देशक राईले भने, ‘लेकाली क्षेत्रमा फलफुल र वनजन्य बोटबिरुवा रोप्ने किसानका लागि पनि यो निर्वाचन मिति उपयुक्त समय होईन।’

लामो समयसम्म निर्वाचन नहुँदा निम्तिएको बेतिथि र विसंगतीबाट मुक्ती मिल्ने आशामा कतिपय किसान भने काम मायाँ मारेरै भए पनि भोट हाल्न जाने तयारीमा पनि छन् । तर, सबै किसानले समान तरिकाले निर्वाचनलाई महत्व दिएका छैनन् । त्यही भएर आफ्नो नगरपालिका र गाउँपालिका बनाउनका लागि वर्षौँपछि आएको अवशरलाई पहिलो प्राथमिकतामा राखेर सदुपयोग गर्नुपर्ने शुभम् फाउण्डेसनका कार्यकारी निर्देशक राईले बताए । ग्रामिण क्षेत्रका अधिकांश परिवार कृषिमै निर्भर रहेका कारण मध्य असारमा हुने निर्वाचनले उम्मेदवार र कार्यकर्ता समेत प्रभावित छन् । सबै खेतीपातीमा व्यस्त हुनुपर्ने भएकाले निर्वाचन प्रचार–प्रसार तथा घरदैलो अभियानमा समेत अशर पुग्ने स्वयं दलका नेता तथा कार्यकर्ता बताउँछन्।

प्रकाशित: १९ जेष्ठ २०७४ १४:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App