७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रविधिको विकाससँगै अपराधको क्षेत्रमा नयाँ चुनौति: प्रधानमन्त्री

अर्जुन तामाङ

काठमाडौं-  प्रधानमन्त्री पुष्पकमल दाहालले प्रविधिको विकाससँगै अपराधको क्षेत्रमा नयाँ चुनौति र जटिलता थपिएकाले नयाँ पुस्ताका प्रहरी निरीक्षक सचेत हुनु पर्ने बताएका छन्। प्रहरी निरीक्षक आधारभूत तालिम १६५औँ समूहको दीक्षान्त समारोहमा प्रधानमन्त्री दाहालले नयाँ प्रविधिसँगै अपराधको शैलीमा फरक रुप भित्रिएकाले दीक्षित प्रहरी निरीक्षकलाई सचेत गराएका हुन्।

प्रधानमन्त्री दाहालले आधारभूत तालिम सफलतापूर्ण ढंगले सफल गरेकोमा बधाई दिदै भने,‘राज्यको सूरक्षा र सञ्चालनमा आन्तरिक सूरक्षाको महत्वपूर्ण र गहन जिम्मेवारी सरकारले नेपाल प्रहरीलाई दिएको छ। प्रहरी कानून कार्यान्वयन तथा सरकारको कार्यकारीणी अधिकारको अग्रपंतिको आँखा हो ।’ दाहालले नेपाल प्रहरीको इतिहास त्याग, समर्पण, कर्तव्यनिष्ठ, बलिदानसँग जोडिएकाले सत्य सेवा सुरक्षणम प्रति बफादार रहन निर्देशन समेत दिए।

‘दीक्षित प्रहरी निरीक्षक जटिल सामाजिक परिवेशका चुनौतीहरु सामना गर्न सैद्धान्तिक तथा व्यवहारिक रुपमा सफल भएको विश्वास छ ।’ प्रधानमन्त्रीले भने,‘नागरिकको सेवामा समर्पित संगठन भएका कारण नागरिक प्रति सदैव उत्तरदायी र जिम्मेवार हुनुपर्छ ।’

सरकारले स्थानीय तहको पहिलो चरणको निर्वाचन व्यापक जनसहभागितामा सम्पन्न गरिसकेकाले दोस्रो चरणको निर्वाचन पनि उत्सवकै रुपमा तयारी भएको प्रधानमन्त्रीको भनाई छ। यसका लागि प्रहरीले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा जिम्मेवारी बहन गर्नु पर्ने प्रधानमन्त्रीको भनाई थियो। 

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज, काठमाडौंमा सञ्चालित प्रहरी निरीक्षक आधारभूत तालिम  १६५ औं समूहको दीक्षान्त समारोहमा प्रधानमन्त्री दाहालले त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा संचालित ‘पोष्ट ग्य्राजुएट डिप्लोमा इन पुलिस साइन्सेस’ को विभिन्न विधामा प्रथम भएकाहरुलाई पनि सम्मान गरिएको छ । समूहको सर्वप्रथम भएका प्रहरी निरीक्षक नारायण थापा, सर्वद्धितीय र शारीरिक व्यायाममा प्रथम मोतिलाल योञ्जन तामाङ, सर्वतृतीय केशवराज भट, अध्ययन प्रथम नरेश राज मल्ल, कवाज प्रथम नरबहादुर साउद, प्रहरी युक्ति तथा कारबाहीमा प्रथम दीपक थापा, चादमारीमा प्रथम पुष्कर पन्त र महिला तर्फको उत्कृष्ट अनु लामालाई सम्मान सम्मान गरिएको छ।

प्रकाशित: १९ जेष्ठ २०७४ १३:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App