coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

किन नेपाल पसे भारतीय प्रहरीका डिएसपी नागराज ?

डोटी- छापामार शैलीमा आएका पाँचजना भारतीय प्रहरीका डिएसपी नागराज सहितको टोलीले बुधबार राती दिपायल सिलगढी नगरपालिका–७ लडागडाका लाल बहादुर आउजीलाई अपहरणको प्रयास गरे। डोटीको प्रसिद्ध  शैलेश्वरी मन्दिरको दर्शन गर्ने बाहनामा नेपाल छिरेका उनीहरुले धनगढीबाट पीएस टुर्स एण्ड ट्राभल्सको स्कारपिओ गाडी ल्याएका थिए।

अर्का स्थानीय यूवा प्रसाद पार्कीको सहायताले लडागडा पुगेर उनीहरुले लालबहादुरलाई अपहरण गरेर भारत लैजाने प्रयास गरे। स्थानीयको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिलगढीले उनीहरुलाई नियन्त्रणमा लियो।

यस्तो अपराधमा संलग्न पाँचैजना भारतीय प्रहरीलाई बिनाकुनै शर्त वा कारबाही नेपालको प्रहरीले शुक्रबार भारत पठाईदिएको छ। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमूख प्रहरी उपरीक्षक दिल्लीराज बिष्टले सम्मानका साथ स्कर्टिङ गरेर महाकाली अञ्चल प्रहरी कार्यालय कंचनपुर पुर्‍याए। महाकाली अञ्चल प्रहरी कार्यालयले सीमावर्ती शहर बनबासा लगेर भारतीय प्रहरीलाई हस्तान्तरण गर्‍यो । अपहरणमा परेका लाल बहादुर र उताबाट बाटो देखाउन ल्याईएका प्रसादलाई प्रहरीले यतै राखेको छ।

यस्तो कार्यमा संलग्न भारतीय प्रहरीलाई नेपाल प्रहरीले भने कार्बाहीको आबश्यकता महशुस गरेन्। न भारतीय पक्षसंग संबादको आबश्यकता सम्झ्यो । उल्टो ‘दुई देशबीचको मामला’ भनेर स–सम्मान भारत पुर्‍याईदियो ।

‘यो दुई देशबीचको कुरा हो । सामान्य अनुसन्धान गर्न हामीहरु पनि उता गएका हुन्छौ। तर, उनिहरुले सामान्य त्रुटी गरे,’ सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलका प्रमूख प्रहरी नायब महानिरिक्षक रोमेन्द्र सिँह देउजाले भने, ‘हामीले जाँदा अनुमती लिएर जान्छौ। उनीहरु नलिईकन आए।’ यसबिषयमा उनीहरुले गल्ती स्वीकार गरेको उनले दाबी गरे। ‘हामीलाई प्रक्रिया थाहा थिएन भनेर उनीहरुले भने । तरपनि त्यो त भन्ने कुरा मात्रै हो,’ उनले थपे ।

भारतीय प्रहरीले लाल बहादुर २०१६ सेप्टेम्बरमा कर्नाटकमा भएको बैंक अफ महाराष्ट्रमा भएको १४ लाख भारतीय रुपैँया चोरीमा संलग्न रहेको स्रोतले जनायो। एक राष्ट्रमा अपराध गरेर अर्को राष्ट्रमा गई लुकेर बसेको अपराधीलाई अपराध भएको क्षेत्रको राष्ट्रको आग्रहमा लुकेको क्षेत्र भएको राष्ट्रले पक्रेर ‘सपुर्दगी’ गर्नुपर्ने  अन्तर्राष्ट्रिय ब्यबस्था छ। यो पनि सपुर्दगी सन्धि भएको देशहरुको बिचमा मात्रै हुन्छ । नेपाल र भारतका बिचमा बि.स. २०१० सालमै सपूर्दगी सन्धि भएको छ।

तर, यो घटनामा नेपाली नागरिक संलग्न रहेकाले नेपालको ‘सपुर्दगी ऐन–२०७०’ ले नेपाली नागरिकको हकमा भने सपुर्दगी नहुने ब्यबस्था उल्लेख गरेको छ । यसै कारण भारतीय प्रहरी आफै आएर अपहरण गर्ने प्रयास गरेको हुनसक्ने नेपाल प्रहरीको अनुमान छ ।

यसरी भारतीय प्रहरी नेपाल पसेको यो पहिलो घटना भने होईन् । २०७३ बैशाख १२ गते पनि यसैगरी हतियार सहित नेपाल प्रवेश गरेको ५ जना भारतीय प्रहरीको टोली डोटी र अछामको सिमानामा पर्ने चौखुट्टेमा नेपाल प्रहरीले पक्राउ गरेको थियो । त्यतिबेला पनि नेपालीलाई अपहरण गर्न आएको अनुमान गरिएको थियो । त्यसबेला पनि उनीहरुलाई नेपाल प्रहरीले स–सम्मानका साथ भारत पुर्‍यायाईदिएको थियो।

यसबाहेक सिमाक्षेत्रका गाउँ तथा शहरहरुमा भारतीय प्रहरीहरु दिनदहाडै पसेर आतंक मच्चाउदै आएका समाचारहरु बेला–बेला आईरहन्छन् । थुप्रै पटक नेपाल प्रहरीले पक्राउ समेत गर्ने गरेका छन् । तर, पक्राउ परेका भारतीय प्रहरीहरुलाई नेपाल प्रहरीले स–सम्मान भारतमै बुझाउने गरेको छ । जुन स्वधिन मुलूकको ‘लाचारीपन’ रहेको टिप्पणी हुने गरेको छ।

 

 

प्रकाशित: १९ जेष्ठ २०७४ १२:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App