६ वैशाख २०८१ बिहीबार
राजनीति

नेपाली राजनीतिमा भारतलाई उछिन्दै चीन, नयाँ रणनीति रच्दै भारत

नेपालको राजनीतिमा चीन प्रत्यक्ष भूमिकामा उत्रिएको भन्दै भारतमा भय र सतर्कता बढेको छ। नेपालमा सरकार टिकाउने र ढलाउने खेलमा चीन प्रत्यक्ष संलग्न हुन थालेको भारतको बुझाइ छ। पछिल्ला केही समययता नेपाली राजनीतिमा चीन अभूतपूर्व सक्रिय रहेको भन्दै भारत त्यसको काउण्टरमा उत्रने तयारीमा देखिन्छ। नेपाल मामिलाका जानकार भारतीय सेनाका पूर्व रथी अशोक मेहताले यसको स्पष्ट खुलासा गरेका छन्। भारतीय प्रभाव खुम्चिदै र चीनको हस्तक्षेप बढ्दै गएको निष्कर्षसहित भारतले नयाँ रणनीति सोँचेको मेहता बताउँछन्।

मेहताले चीन निकटमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विस्तारै भारतको नजिक पुगेका खुलासा गरे। ‘प्रचण्डजी नयाँ उभारिएर आएको नेता हो, उहाँले अहिले बल्ल संसदीय अभ्यास र परराष्ट्र सम्बन्धबारे बुझ्दै हुनुहुन्छ,’ मेहताले 'नागरिक शो'मा खुलस्त भनेका छन्, ‘अहिलेको सरकार भारतमैत्री थिएन अब बन्ने सरकार भारतमैत्री हुनेछ।’ उनले अबको सरकार कसरी भारतमैत्री हुन्छ भन्ने आधारहरु पनि खुलाएका छन्।
हेर्नुहोस् नागरिक शोः

मेहतासँगको विस्तृत अन्तर्वार्ता

० नेपालमा जबजब राजनीतिक परिवर्तन र सरकार फेर्ने कसरत सुरु हुन्छ भारतीय सक्रियता काठमाडौंमा बढ्छ । अहिले पनि सरकार फेर्ने दौडसँगै दिल्लीबाट तपाईँहरु काठमाडौं ओर्लनुभएको छ । भन्न मिल्छ यो भ्रमणका एजेण्डा के के हुन् ?
अवश्य मिल्छ । मेरो काठमाडौं आउने योजना पहिल्यै तय थियो । अहिले काठमाडौंमा भारत–पाकिस्तान ट्रयाक–२ चलिरहेको छ, त्यसैले आएको हुँ । हामी तीन दिनसम्म भारत–पाकिस्तान ट्रयाक–२ सम्मेलनमा सहभागी भयौं । जहाँ गैरसरकारी तहमा छलफल हुन्छ । यो जर्मनको एक संस्थाले आयोजना गरेको हो । सम्मेलन सकियो तर केही दिन अझै नेपालमै बस्छु ।

म अहिलेको राजनीतिक परिवर्तनका कारण काठमाडौंमा अएको हैन । सरकार फेरिने समय परेको छ, यो संयोगमात्रै हो । नेपालमा अविश्वास प्रस्ताव दर्ता गराउने, सरकार फेर्ने क्रम चलिरहन्छ । कहिलेकाँही हामी आउँदा त्यही बेला पर्छ । म नोभेम्बर ६, ७ र ८ मा पुनः काठमाडौं आउँदैछु, त्यतिबेला नेपालमा हुने राजनीतिक घटनासँग मलाई नजोड्नुहोला ।

– यो सरकार भारतमैत्री थिएन । नयाँ सरकार बन्यो भने अहिलेकोभन्दा बढी भारतमैत्री हुनसक्छ । भारतले नयाँ सरकारलाई स्वागत गर्छ ।

० संयोग नै सही, तपाईँ सरकार फेरिने बेलामा नेपालमा हुनुहुन्छ । तपाईँको यहाँका नेताहरुसँग पक्कै भेट हुन्छ होला । के सन्देश बोकेर आउनुभएको छ दिल्लीबाट ?
मसँग कसैले सल्लाह मागे दिन्छु, तर म कुनै सन्देश वा योजना बनाएर यहाँ आएको हैन । म भारतीय सरकारको प्रतिनिधि पनि हैन । म त एक स्वतन्त्र मान्छे हुँ । तर कुनै पनि मुद्दामा भारतले के चाहन्छ भनेर कसैले सोध्छ भने बुझेसम्मको राय दिन्छु ।

० अहिले सरकार परिवर्तन हुँदैछ, यो स्वाभाविक ठान्नु हुन्छ या अनपेक्षित लागेको छ ?
पछिल्लो ९ वर्षमा ९ वटा प्रधानमन्त्री भइसके । नेपालको विकास र स्थिरताका लागि यो हानिकारक हो । तर अर्को कोणबाट हेर्ने हो भने यो प्रजातान्त्रिक प्रकृया हो । अविश्वासको प्रस्तावले सरकार हटाउने यस अगाडिको संविधानमा पनि थियो, अहिले पनि छ । संवैधानिक व्यवस्थाअनुसार भएका राजनीतिक घटनालाई स्वीकार्नैपर्छ । हेरौं अब सरकार फेरिन्छ, प्रधानमन्त्री ओलीजी अदालतमा जानुहुन्छ वा राष्ट्रपतिकहाँ । त्यसपछि के के हुन्छ त्यो भन्न सकिँदैन । राजनीतिमा जे पनि हुन सक्छ ।

० ओली नेतृत्वको यो सरकारप्रति भारत सकारात्मक थिएन भन्ने बुझाइ छ । उसो भए यो सरकार ढल्दा भारत खुसी नै होला ?
हो, यो सरकार बाहिरबाट हेर्दा भारतमैत्री (इण्डिया फ्रेण्ड्ली) थिएन । अब नयाँ सरकार बन्यो भने अहिलेको सरकारभन्दा बढी भारतमैत्री हुनसक्छ । त्यसैले भारतले नयाँ सरकारलाई स्वागत गर्छ ।

– शेरबहादुर देउवा नै भारतको रोजाईमा पर्छन् । पुष्पकमल दाहाल र देउवा मध्ये भारतका लागि देउवा बढी अनुकूल छन् ।

उसोभए नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मध्ये कस्लाई भारतले रोज्छ ?
पारम्परिक दृष्टि (कन्भेन्स्नल थिंकिङ) को हिसाबले त अवश्य पनि शेरबहादुर देउवा नै भारतको रोजाईमा पर्छन् । किनकि भारतीय राजनीतिक दल र नेपाली कांग्रेसको निकै लामो सम्बन्ध छ । नेपाली कांग्रेसको स्थापनादेखि नै भारतसँग उसको सम्बन्ध छ । तर कंग्रेसको तुलनामा माओवादी त अस्ति भर्खर न जन्मेको दल हो । दुई जनामा छान्न पर्यो भने दुबैजना भारतको लागि ठीकै छन् । तर देउवा अझ बढी अनुकूल छन् ।

० सरकार फेर्नमा भारतको भूमिका छ भन्छन् नि ?
भारतलाई खाए पनि सुख छैन नखाए पनि सुख छैन । यसमा केही भन्न सक्दिन ।

० भारतीय मिडियाले मोदीको नेपाल नीति असफल भयो, मित्र शक्ति नेपाललाई मोदीले चिढ्याउने काम गरे भन्ने छ ? साँच्ची मोदी नीति असफल भएको हो ?
हो, मोदीजीको चाहना पूरा नभएकै हो । तर मोदीजीको नेपालप्रतिको भावना गलत थिएन । प्रधानमन्त्री भएपछि मोदीको पहिलो चाहना नेपाल भ्रमण गर्ने थियो तर केही व्यवहारिक अड्चनले भुटान जानुभयो । तर यसअगाडि कहिल्यै नभएको कुरा एकैवर्षमा मोदीजीले नेपालमा दुई पटकसम्म भ्रमण गर्नुभयो । नेपाली जनताको मन जितेर उहाँ फर्किनुभएकै हो । तर जब संविधान जारी गर्ने प्रसंग आयो त्यसमा भारतले मधेस र जनजातिको हक अधिकार संविधानमा सुनिश्चित नभएको देखेर नेपाल सरकारलाई त्यो मिलाउनु भनेको थियो । भन्ने तरिका गलत थियो । जसरी भनियो त्यो राजनीतिक र कूटनीतिक शैलीको थिएन । निकै फितलो शैली भयो । तर भावना ठीक थियो ।
नाकाबन्दी गरेर भारतले पायो कि गुमायो ?

– मोदीले नेपालमा जे गर्न चाहन्थे त्यसको उल्टो भयो ।

नाकाबन्दीले भारतलाई धक्का लाग्यो । नेपाल–भारत सम्बन्ध बिग्रियो । नाकाबन्दी भारतले गरेको थिएन । तर भारतको भूमिका गलत थियो । यी सबै कुरा भए पनि भारतले भूकम्पमा गरेको भूमिकालाई नेपालीले बिर्सेका छैनन्, बिर्सनु हुँदैन । जनताले नाकाबन्दी भुलेको छैन, सँगसँगै भूकम्पमा भारतले लगाएको गुन पनि भुलेको छैन ।

० भूकम्पमा भारतले गरेको योगदान देखाएर नाकाबन्दीबाट नेपाली जनतालाई परेको चोटको भर्पाइ हुन्छ ?
नाकाबन्दीले नेपाली जनताको मनमा यति धेरै भारतविरोधी भावना जागृत गर्यो जुन यस अगाडि कहिल्यै भएको थिएन । नेपाल–भारत सम्बन्धमा जुन स्तरमा क्षति पुग्यो त्यो नयाँ दिल्लीले थाहा पाएन । तर अब भारतले क्षति नियन्त्रण गर्नुपर्छ । अब भारतले नेपाली जनतालाई आफ्नो धारणा बदल्नका लागि ठोस पहल गर्नुपर्छ । भारतले नेपालको लागि आर्थिक प्याकेजबारे सोँच्नुपर्छ । ७ वर्षको अवधिमा नवीकरण हुने जुन नेपाल–भारत व्यापार सन्धि छ, त्यो अबको सेप्टेम्बर–अक्टुबरमा नवीकरण हुँदैछ, त्यसमा भारतले नेपालको पक्षमा सम्झौता गर्नुपर्छ । नेपालको अर्थतन्त्रमा भूकम्प र नाकाबन्दीले नकारात्मक असर गरेको छ । त्यसैले भारतले यो कुरा बुझेर नेपालको हित हुनेगरी सन्धि गर्नुपर्छ । नेपालको आर्थिक स्थिति पूर्ववत अवस्थामा ल्याउनका लागि भारतले सबै खाले सहयोग गर्नुपर्छ ताकि नेपालको आर्थिक अवस्था सुधारियोस् ।

० भारतीय मिडियाहरु चीनप्रति निकै सतर्क र भयवित देखिन्छन्, चिनिया प्रभाव बढ्यो भनेर प्रस्तुत गर्छन् । तपाईँलाई पनि त्यस्तै लाग्छ ?
चीनको नेपालमा प्रभाव बढ्दो छ । चीन नेपालको हर क्षेत्रमा पुगेको छ । अस्ती ओली सरकार ढल्नै लाग्दा चीनले मिलायो । यसअघि चीनले नेपालको राजनीतिमा यसरी निर्णायक भूमिका खेलेको थिएन । चीनले त भन्थ्यो– हामी कुनै पनि देशको आन्तरिक मामलामा हस्तक्षेप गर्दैनौं । तर अहिले चीन नपुगेको नेपालको कुनै भूगोल छैन । माओवादी आन्दोलनपछि भारतले छाडेको राजनीतिक रिक्तता (पोलिटिकल स्पेस) चीनले लियो । 
एक समय यस्तो थियो मधेसमा चीनको प्रवेश निषेधजस्तै थियो । पूर्व–पश्चिम राजमार्ग बनाउँदा कन्चनपुरको केही क्षेत्र चीनको ठेकेदारलाई दिइयो । भारतले विरोध गर्यो– मधेसमा चीन कसरी आउन सक्छ ? पछि ठेक्का रद्द गरेर भारतलाई नै दिइयो । तर अहिले चीन नेपालका सबै भूगोल र सबै दलमा छिरेको छ ।
यो बिर्सनु हुँदैन कि भारत–चीनबीच द्वन्द्वात्मक सम्बन्ध छ । कुनै बेला भारत र चीनको युद्ध भएको थियो । त्यसैले छिमेकी मुलुकमा चीनले जे गर्छ त्यो भारतले टुलुटुलु हेरेर बस्न सक्दैन । चीनको गतिविधि व्यापारिक÷व्यवसायिक छ भने ठीक छ, तर राजनीतिक खालको छ भने भारत चनाखो हुनैपर्छ ।

– चीनले भन्थ्यो– हामी कुनै पनि देशको आन्तरिक मामलामा हस्तक्षेप गर्दैनौं । तर अहिले चीन नपुगेको नेपालको कुनै भूगोल छैन । माओवादी आन्दोलनपछि भारतले छाडेको राजनीतिक रिक्तता चीनले लियो । 

० माओवादी अध्यक्ष दाहाल त केही अघिसम्म भारतप्रति निकै आक्रमक हुनुहुन्थ्यो । उहाँ पनि अब भारतको विश्वास पात्र बन्नुभयो ?
परिवर्तन छ नि । उहाँ त नयाँ नेता हो । जंगलबाट मंगलमा आउनुभयो । संसदीय प्रणाली र वैदेशिक नीतिको बारेमा उहाँलाई धेरै ज्ञान छैन । सुरुमा त माओवादीको स्थापना नै भारतको विकल्पमा हुनुपर्छ भनेर भयो । उहाँहरुले भारतको विकल्पमा चीनलाई रोज्नुभएको हो । सुरुमा त माओवादी चीनमैत्री थियो । यहाँको राजनीति बुझ्दै गएपछि मझधारमा आयो ।

० असन्तुष्ट मधेसकेन्द्रित दलहरु पनि अबको सरकारमा सामेल हुन्छन् ? उहाँहरुलाई केही सुझाव दिनुभएको छ ?
ओली सरकारले उनीहरुको माग सम्बोधन गरेको छैन । मधेसी दलहरु सरकार फेरिने प्रतिक्षामै छन् । नयाँ सरकारले हामी माग पूरा गर्छौै भन्यो भने स्वभाविक रुपमा सरकारमा सहभागी हुनुपर्छ । जसले मधेसको माग सम्बोधन गर्छ, उसैको पक्षमा लाग्नुपर्छ । म यही सल्लाह दिन्छु ।

० नेपालमा संघीयताको औचित्यबारे भारतले पुनःमूल्यांकन गर्दैछ भन्ने कुरा छ । संघीयतामा जाँदा नेपालमा आफ्नो प्रभाव झनै कमजोर हुने ठहरसहित भारतले नेपालमा संघीयता खारेज गर्न चाहेको छ रे, हो ?
यो कुरा गलत हो । भारत आफैँमा संघीय मुलुक हो । अहिले दिल्ली–काठमाडौंबीच मात्रै सम्बन्ध छ । नेपालमा जब संघीयता कार्यान्वयनमा आउँछ त्यतिबेला भारतको कुनै एक प्रदेशले पायक पर्ने नेपालको प्रदेशसँग समन्वय गर्छ । जस्तो कि ढाका र कलकत्ताबीचको सम्बन्ध छ । त्यसैले नेपालमा संघीयता हुँदा समन्वय गर्न कठिनाइ हुन्छ भन्ने गलत हो । एक प्रदेश सरकार र अर्को प्रदेश सरकारबीचमा सम्बन्ध हुन्छ । उदाहरणको लागि तराई मधेसमा बन्ने प्रदेशसँग भारतको युपि र विहारले समन्वय गर्छ । त्यसैले नेपालमा भारतले संघीयता चाहँदैन भन्नु गलत हुन्छ ।

– छिमेकी मुलुकमा चीनले जे गर्छ त्यो भारतले टुलुटुलु हेरेर बस्न सक्दैन । चीनको गतिविधि व्यापारिक÷व्यवसायिक छ भने ठीक छ, तर राजनीतिक खालको छ भने भारत चनाखो हुनैपर्छ ।

० राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापित हुने सम्भावना देख्नुहुन्छ ?
नेपालमा जनमत संग्रह भयो भने जनमतले हिन्दू राज्य र राजसंस्था चाहिन्छ भन्यो भने त्यसमा भारतले विरोध गर्दैन । भारत पनि हिन्दू बाहूल्य देश हो । राजा वा उनका छोराछोरी कसैलाई राजसंस्थाको जिम्मेवारी दिएर राजतन्त्र फर्काउन चाहन्छन् भने भारतको कुनै चित्त दुखाइ हुँदैन ।

० नेपालका दलहरु अहिले चुनावमा गए भने टप ३ पोजिसनमा को को आउँलान् ? कुनै प्रेडिक्सन छ ?
मेरो विचारमा नेपाली कांग्रेस पहिलो हुन्छ । एमाले दास्रो हुन्छ । यदि मधेसीहरु एकीकृत भएर चुनावमा गए भने तेस्रो शक्ति हुनेछन् । माओवादी त अहिले फुटेर निकै कमजोर भैसक्यो । मधेसी दल र माओवादीबीच तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुन्छ । तर नयाँ संविधानबमोजिम २४० सिटमा ४० प्रतिशत समानुपातिक प्रतिनिधित्वको व्यवस्था छ, यसले नेपालमा बहुमतको स्थिर सरकार बन्ने सम्भावना देखिँदैन । राजनीतिक अस्थिरता, मिलिजुली सरकार, अविश्वास प्रस्ताव सरकारको फेरबदल उही प्रकृया नेपालको राजनीतिमा दोहोरिन्छ ।

– अबको चुनावमा नेपाली कांग्रेस पहिलो, एमाले दास्रो हुन्छ । मधेसीहरु एकीकृत भएर चुनावमा गए तेस्रो शक्ति हुनेछन् ।

० मधेसको समस्या कसरी हल हुनसक्ने देख्नु हुन्छ ?
संसदबाट पारित भएका दुईवटा संसोधनले पनि मधेसी दलहरु खुसी छैनन् । त्यसबाट हासिल हुने कुरा अन्तरिम संविधानभन्दा कमै हुनेछ । नागरिकता, सीमांकनलगायतका संघीय गठबन्धन र मोर्चाका माग सम्बोधन गर्न अब बन्ने प्रचण्ड नेतृत्वको सरकारले गर्छु भनेको छ । मधेसवादी दलहरुको माग पूरा गरेपछि पनि नेपालको संकट सकिँदैन । संघीयतालाई कार्यान्वयनमा लैजाने र त्यसमा अभ्यस्त हुनका लागि थुप्रै चुनौती अझै बाँकी छन् ।

प्रकाशित: ४ श्रावण २०७३ ०५:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App