८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्री ओलीको राजीनामा र तीन तहको चुनावबारे छलफल

काठमाडौं- प्रमुख राजनीतिक दलबीच विवाद चुलिइरहँदा सरकारको नेतृत्व गर्दै आएको नेकपा एमालेभित्र मध्यमार्ग खोज्ने प्रयास हुने भएको छ। मंगलबार बालुवाटारमा सुरु भएको एमाले स्थायी कमिटी बैठकले नयाँ परिस्थितिमा पार्टीले तय गर्ने नयाँ मार्गबारे निर्णय गर्ने अपेक्षा गरिएको छ।

प्रमुख राजनीतिक दलबीच द्वन्द्व बढ्दै गए त्यसले संविधान कार्यान्वयनमा समस्या पार्ने भन्दै सहमतिका लागि सबै पक्षले एक एक कदम पछि हटेर सहमति खोज्ने प्रयास हुन लागेको एक एमाले नेताले बताए।

एमाले उच्च स्रोतअनुसार बैठकमा मध्यमार्गी प्रस्तावका रुपमा पहिले प्रधानमन्त्री ओलीले राजीनामा दिने, त्यसपछि सबै दल मिलेर बजेटका बाँकी विधेयक पारित गर्ने र त्यसपछि सहमतिको सरकार निर्माण र संविधान कार्यान्वयनसहितका विषयमा नयाँ शिराबाट सहमति प्रयास गर्ने विषय आउनेछ।

'यसमा सरकारको नेतृत्वसहितका विषयमा खुला छलफल हुनुपर्नेछ,' एक स्थायी कमिटी सदस्यले नागरिकन्युजसँग भने , 'नयाँ सरकार गठन हुँदा त्यसका नीति तथा कार्यक्रम मात्र नभएर तीन तहको निर्वाचन, पुनर्निर्माणसहितका समस्या समाधानका लागि स्पष्ट खाकाका साथ दलहरुबीच सहमति गरेर जानुपर्छ।'

प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले पछिल्लो विकसित राजनीतिक घटनाबारे निर्णय लिन स्थायी कमिटी बैठक बोलाएका हुन्। स्थायी कमिटी बैठक तत्कालीन राजनीतिक घटनाक्रमबारे निर्णय गर्न संसद्मा अविश्वास प्रस्ताव आएको पाँच दिनपछि बस्न लागेको हो।

नेकपा माओवादी केन्द्रले एमालेसँग गठबन्धन तोड्दै नयाँ सरकार गठनका लागि कांग्रेससँग मिलेर ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याएको छ। त्यसयता दलहरुबीच तीव्र ध्रुवीकरण छ।

 

प्रकाशित: ४ श्रावण २०७३ ०४:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App