लन्डन – पछिल्लो केही महिनादेखि प्रशिक्षक आर्सेन वेंगरको भविष्यका बारेमा रहेको अन्योल तोड्दै आर्सनलले बुधबार उनीसँग थप दुई वर्षका लागि सम्झौता गरेको घोषणा गरेको छ ।
आर्सनल पछिल्लो २० वर्षमा पहिलो पटक च्याम्पिन्स लिगमा छनोट हुन असफल भएपछि वेंगरका लागि यस सिजन सुखद हुन सकेको थिएन । तर उनको प्रशिक्षणमा आर्सनलले गत शनिबार इङ्लिस प्रिमियर लिग च्याम्पियन चेल्सीलाई पराजित गर्दै एफए कपको उपाधि जित्न सफल भएको थियो । नयाँ सम्झौतासँगै फ्रान्सेली प्रशिक्षक वेंगरले क्लबमा २३ वर्ष बिताउने भएका छन् । उनको सम्झौताका लागि मंगलबार बसेको बोर्ड बैठकले स्वीकृति दिएको अनुमान गरिएको छ।
‘म यो क्लबलाई माया गर्छु । भविष्यका लागि आशावादी र उत्साही छु । हामी कसरी राम्रो गर्न सकिन्छ र सबै प्रतियोगितामा कसरी बलियो बन्न सकिन्छ भन्नेमा केन्द्रित हुनेछाैं,’ वेंगरले भने, ‘अहिलेको टोली बलियो छ र केही खेलाडी थप गरे हामी अझ थप सशक्त हुनेछांै ।’
आर्सनलले वेंगर र क्लबका कार्यकारी निर्देशक इभान गाजिड्सले टोलीको मैदान र मैदानबाहिर हुने गतिविधिको अध्ययन गर्दै उपाधि चुनौतीमा रहेका कमजोरी औंल्याएर त्यसलाई सुधार्ने गर्ने बताएको छ ।
‘हाम्रो प्रमुख लक्ष्य भनेको प्रिमियर लिगको उपाधि जित्नु हो साथै युरोपका अन्य प्रतियोगिताहरू पनि,’ अमेरिकन लगानीकर्ता स्टन कोरिन्केले भने, ‘यो नै हाम्रा समर्थक, खेलाडी, पदाधिकारी, प्रशिक्षक र बोर्डले आशा गर्ने कुरा हो । हामी यो उपलब्धि हासिल नगरेसम्म विश्राम लिने छैनांै । यो अभियानलाई सफल पार्ने अभियानमा वेंगर सहयोगी बन्न लायक छन् ।’
नयाँ सम्झौतासँगै वेंगरले लामो समयदेखि चल्दै आएको अन्योललाई चिरेका छन् । यस सम्झौताअघि वेंगर क्लबसँगको २१ वर्षे कार्यकालमा पूर्णविराम लगाउने संघारमा पुगेका थिए ।
जर्मन महारथी बायर्न म्युनिखसँग १०–२ को लज्जास्पद हार बेहोरेपछि आर्सनल यस सिजनको च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको थियो ।
त्यसपछि उनले समर्थकहरूको चर्को आलोचना सहनुपरेको थियो । उनीहरूले घरेलु मैदानमा हुने खेल हेर्न अस्वीकार गर्दै ‘वेंगर आउट’ भन्ने नारा लेखेको ब्यानर देखाउने गरेका थिए ।
गत साता चेल्सीलाई पराजित गर्दै एफए कपको उपाधि जित्नुअघि वेंगरको प्रशिक्षणमा आर्सनलले पछिल्ला ८ खेलमा ७ खेल जित्दै सिजनको सुखद अन्त्य गरेको थियो ।
तर उनले आफू केही समर्थकको व्यवहारबाट दुखित भएको र यसले टोलीमा डरलाग्दो वातावरण सिर्जना गरेको बताएका थिए ।
वेम्बलीमा चेल्सीलाई पराजित गरेसँगै आर्सनलले पछिल्लो ४ वर्षमा तेस्रो पटक एफए कपको उपाधि जितेको थियो । यससँगै वेंगर एफए कपको इतिहासमा सात पटक उपाधि जित्ने पहिलो प्रशिक्षक बनेका थिए ।
क्लबमा अब उनको प्रमुख उद्देश्य भनेको एलेक्स सान्चेज र मेसुट ओजिलको जोडीलाई नयाँ सम्झौताका लागि सहमत गराउने र अर्को सिजनका लागि टोली बलियो बनाउने हुनेछ ।
‘हामी केही शीर्ष र क्षमतावान् खेलाडीसँग सम्झौता गर्नेछौं र यस क्रममा हामीले टोलीमा रहेका केही खेलाडी गुमाउनुपर्ने हुन सक्छ,’ वेंगरले भने, ‘हामी दिगो रूपमा उपाधिका लागि चुनौती दिन चाहन्छौं र हामी अर्को सिजन यसमै केन्द्रित हुनेछांै ।’
नयाँ सम्झौतासँगै वेंगरले लामो समयदेखि चल्दै आएको अन्योललाई चिरेका छन् । यस सम्झौताअघि वेंगर क्लबसँगको २१ वर्षे कार्यकालमा पूर्णविराम लगाउने संघारमा पुगेका थिए ।
प्रकाशित: १९ जेष्ठ २०७४ ०४:१४ शुक्रबार