७ वैशाख २०८१ शुक्रबार
समाज

धुलाेले बनेको फेसन

केही वर्ष अघिसम्म सल र स्कार्फ महिलाका काँधमा झुण्डिएका हुन्थे । घाँटीमा अड्याएर अगाडि र पछाडि लर्किन्थे । अचेल सल र स्कार्फ महिलाका काँधबाट तल लर्किदैनन्, टाउमा गुटमुटिएका हुन्छन् । 

महिलाका लागि काठमाडौंमा बढेको धुलो धुवाँबाट बच्ने कवच बन्न थालेको छ–स्कार्फ । 

ललितपुर सानेपाकी नलिना श्रेष्ठल अघिल्लो फागुनमै केही पातला स्कार्फ जोहो गरिसकेकी थिइन् । ‘जाडोमा बाक्लो स्कार्फले टाउको बेरियो, गर्मीका लागि पातला चाहियो नि !’ उनले भनिन् । 

सहरमा जताततै बुङ्बुङती धुला उड्न थालेपछि नलिनालाई स्कार्फ बेर्ने बानी परेको हो । ‘स्कार्फ नभई त बाहिर निस्कनै सकिँदैन, धुलोले सडकमा हिँडिसक्नु छ र ?’ पेसाले ‘मेडिकल रिप्रिजेन्टेटिभ (एमआर)’ उनी दैनिक स्कुटरमा आवतजावत गर्छिन् । 

‘स्कार्फ लगाउनै परेपछि कपालको ‘स्टाइल’ले कुनै अर्थ राख्दैन, बरु मन लागेको स्कार्फ किन्ने गरेकी छु ।’

‘जुन कुनामा पुगेपनि धुलो नभएको ठाउँ छैन, सास फेर्दा त धुलो खान्छौ नै, अनुहारको छाला समेत बिग्रिने डर छ,’ उनी भन्छिन्, ‘त्यसैले स्कार्फ लगाएर मात्र बाहिर निस्कन्छु ।’ 

श्रेष्ठ टाउकोदेखि नाक–मुखसम्म स्कार्फले छोप्छिन् र कामका लागि बाहिर निस्कन्छिन् । बिहानदेखि बेलुकासम्मै उनको टाउकोबाट नछुट्ने पहिरन बनेको छ–स्कार्फ । जाडोमा बाक्ला भुवाँदार स्कार्फ लगाएकी उनले गर्मीका लागि अलि पातला स्कार्फ जोहो गरेकी छिन् । 

नलिना जस्तै काठमाडौंका सडकमा हिँड्ने महिलाको पहिरन बनेको छ–टाउको छोप्ने स्कार्फ । उनीहरुले धुलो धुँवाबाट कपाल र अनुहारलाई बचाउन स्कार्फ प्रयोग गर्छन् । बाटामा जताततै धुलो उड्ने भएपछि अधिकांश महिला र युवती स्कार्फले नाक–मुख देखि टाउसम्म छोपेर हिँड्छन् । सबै महिला र युवतीले टाउकोदेखि नाक–मुखसम्म स्कार्फले ढाकेर हिड्न थालेपछि काठमाडौंका सडकको दृष्य महिलाले टाउको छोपेर हिड्नै पर्ने बाध्यता भएको मुस्लिम मुलुकको जस्तै हुन थालेको छ । 

काठमाडौं मेडिकल कलेज सिनामंगलकी स्टाफ नर्स दीपा आचार्यले एक वर्षदेखि धुलोबाट बच्न स्कार्फ प्रयोग गरिरहेकी छिन् । कलंकीदेखि सार्वजनिक बस चढेर ड्युटी आउँदा जाँदा चक्रपथको धुलोले कपाल फुस्रै बनाएपछि उनले स्कार्फ प्रयोग गर्न थालेकी हुन् । ‘ज्यान त अरु कपडाले पनि ढाक्छ, अनुहार र कपालका लागि स्कार्फभन्दा विकल्पै छैन,’ उनी भन्छिन् । 

‘हेयर स्टाइल’की  सौखिन दीपा लामो कपाललाई नयाँ–नयाँ तरिकाले काटेर खुल्ला छोड्न मन पराउँछिन् । तर, उनले ‘स्टाइलिस लुक्स’मा कपाल नकाटेको एक वर्ष भइसक्यो । ‘स्कार्फ लगाउनै परेपछि कपालको ‘स्टाइल’ले कुनै अर्थ राख्दैन, बरु मन लागेको स्कार्फ किन्ने गरेकी छु ।’ उनको रोजाइमा चहकिलो रङका स्कार्फ पर्छन् । 

गर्मीको समयमा टाउको पूर्णरुपमा छोपेर हिँड्दा कहिलेकाहीँ त्यति सहज नहुने उनको अनुभव छ । ‘जाडोमा त स्कार्फले न्यानो बनाउछ र चिसोबाट समेत बचाउँछ, टन्टलापुर घाम लागेका बेला स्कार्फ लगाउँदा उकुसमुकुस हुन्छ ।’ 

जाडोमा टाउको र घाँटीलाई न्यानो पार्न स्कार्फ बेर्नु उपयोगी भए पनि गर्मीमा नाक–मुख छोपेर स्कार्फ बेर्नु चाहिँ बाध्यता बनेको धेरै महिलाको अनुभव छ । गर्मीमा स्कार्फ लगाउँदा निस्कने पसिनाले कपाल झर्ने र टुक्रिने समस्या आएको नलिनाले बताइन् । 

काठमाडौंमा गएको वर्षभरि नै वायु प्रदुषणको मात्रा मापदण्डभन्दा माथि थियो । बनाउँदै गरिएका नयाँ सडक र मेलम्ची खानेपालीका लागि पाइप बिच्छ्याउन भत्काइएका सडकमा उड्ने धुलोका कारण सर्वसाधारणलाई सास फेर्न र हिँडडुल गर्न पनि सकस छ । 

धुलेकै कारण अनुहार र कपाललाई बचाउनका स्कार्फको प्रयोग एक प्रकारको फेसन नै बनिसकेको छ । धुलो बढेसँगै फेसन बनेको स्कार्फको बढ्दो बजारले पनि पुष्टि गर्छ । न्युरोडमा तीन वर्षदेखि स्कार्फ पसल चलाउदै आएकी जुनु लोप्चनका अनुसार केही स्कार्फको बिक्री पहिलेभन्दा बढेको छ । विभिन्न रङ र डिजाइनमा स्कार्फ भित्रने क्रम समेत वृद्धि भएको छ । 

‘पोहोरदेखि स्कार्फको बिक्री अत्यधिक बढेको छ, धुलोबाट बच्नका लागि धेरैले यसको प्रयोग गर्छन्,’ लोप्चन भन्छिन् ।  उनले दैनिक पचास–साठी वटासम्म स्कार्फ बेच्ने गरेकी छिन् । जाडोमा कटनको स्कार्फको बिक्री धेरै हुन्छ भने गर्मीमा चाही सिफनका धेरै बिक्छन् । 

प्रकाशित: १९ जेष्ठ २०७४ ०४:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App