८ वैशाख २०८१ शनिबार
विचार

सर्तमाथि सर्त

दोस्रो चरणको स्थानीय तह निर्वाचन मिति तेस्रो पटक सारेर असार १४ मा पुर्याएपछि राजनीतिक दलदेखि मतदातासम्ममा जेजस्तो अन्योल देखिएको छ, त्यसलाई हटाउनेतर्फ सरकारले तत्काल कदम चाल्नुपर्छ । त्यसका लागि सरकारले पर्याप्त तयारी गर्दै आम सर्वसाधारणलाई निर्वाचनप्रति आश्वस्त पार्न सक्नुपर्छ । सरकारले छिनछिनमा निर्णय बदलेका कारण राजनीतिक दल, मतदातादेखि आम सर्वसाधारण अन्योलमा परेका हुन् । सरकार आफूले गरेको निर्णय काट्दै जेजसरी निर्वाचन मिति परिवर्तन गर्दै आएको छ, त्यसले पनि अन्योल र आशंका बढाएको हो । त्यसमाथि निर्वाचन प्रक्रियाप्रति तराई–मधेस केन्द्रित दलको असन्तुष्टि सम्बोधन गर्ने क्रममा सरकारको स्पष्ट कार्ययोजना नभएकाले पनि यो समस्या जटिल बन्दै आएको हो ।  सरकारले २०७३ फागुन ९ गते देशभर एकै चरणमा स्थानीय तह निर्वाचन गराउने घोषणा गर्दै त्यसका लागि वैशाख ३१ को मिति तोकेको थियो । तर, वैशाख १० गते सरकारले प्रदेश १, २, ५ र ७ का ४३ (रुकुम र नवलपरासी समेत) जिल्लामा दोस्रो चरणमा निर्वाचन गर्ने निर्णयमात्र गरेन, पहिलो र दोस्रो चरणको निर्वाचनको अन्तराल एक महिना निर्धारण गरिदियो । फलस्वरुप दोस्रो चरणको निर्वाचन जेठ ३१ गतेका लागि तय भयो । त्यसैअनुरुप तयारी अघि बढिरहेका बेला सरकारले जेठ १५ गते आइपुग्दा निर्वाचन मिति सार्दै असार ९ लाई तोक्यो । त्यसको दुई दिनपछि नै सरकारले असार ९ मा मुस्लिम समुदायको पर्व रमदान परेको भन्दै फेरि असार १४ गतेका लागि निर्वाचन सारेको छ । 

मध्य बर्खाको समयमा मिति तोकिएका कारण निर्वाचन व्यवस्थापनमा समेत समस्या बढ्न सक्ने देखिन्छ । यो अवस्थामा सरकारले सर्वप्रथम तोकिएकै मितिमा निर्वाचन गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यस किसिमको प्रतिबद्धता राजपाबाट समेत सुनिश्चित गराउन सक्नुपर्छ ।

तराई–मधेस केन्द्रित दललाई निर्वाचनमा समेट्ने भन्दै पहिलो र दोस्रो पटकको मिति सारिएको हो । तेस्रोपटक आवरणमा मुस्लिम समुदायको पर्वलाई देखाए पनि राजनीतिक प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै आएका तराई मधेस केन्द्रित दल विशेष गरी राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई निर्वाचनमा सहभागी गराउनकै लागि मिति सारिएको देखिन्छ । निर्वाचनमा सबै राजनीतिक दललाई समेट्ने प्रयास गर्नु सकारात्मक विषय हो । तर, राजनीतिक दललाई निर्वाचनमा समेट्ने नाममा निर्वाचन नहुनेतर्फ मुलुकलाई धकेल्नु कुनै हिसाबले पनि क्षम्य हुन सक्दैन । सबैलाई समेट्ने प्रयास राम्रो भए पनि निर्वाचनलाई कुनै माग विशेषको सर्त बनाउँदा गलत परम्परा बस्छ । यसले कहिल्यै पनि निर्वाचनको वातावरण सुनिश्चित गर्दैन । आज तराई मधेस केन्द्रित दलले यो सुविधा पाउँछन् भने भोलि अन्य दलबाट आउने यस्तै प्रकृतिका मागले निर्वाचनलाई थप अन्योलको अवस्थामा पु¥याउने निश्चित छ । निर्वाचनलाई कुनै अर्थमा पनि दलीय माग पूरा गर्ने हतियार बनाउँदा हाम्रो लोकतन्त्रको जग कमजोर हुने निश्चित छ । विगतमा दुईपटक प्रतिपक्षी दलको विरोध हुँदाहुँदै पनि सरकारले एकतर्फी रुपमा निर्वाचन मिति सारेको हो । त्यसमाथि राजपालाई निर्वाचनमा सहभागी गराउन भनी मिति सारे पनि उनीहरूलाई समेत सरकारले चित्त बुझाउन सकेको थिएन । त्यसैले पनि सरकारले विगतमा दुईपटक एकतर्फी हिसाबले निर्वाचन सार्ने निर्णय गरेको हो जसका कारण समस्या समाधान त परै जाओस्, झनै जटिलता थपिदियो । अहिले तेस्रोपटक निर्वाचन सार्ने विषयमा भने प्रतिपक्षी दल एमालेदेखि असन्तुष्ट पक्ष राजपासमेतले केही हदसम्म समर्थन जनाएको देखिन्छ । विशेष गरी राजपा निर्वाचनमा आउने सर्तमा प्रतिपक्षी दलले सरकारको यो प्रस्तावप्रति समर्थन जनाएको हो । 

सरकारको यो प्रस्तावप्रति राजपा सकारात्मक भए पनि निर्वाचनप्रति उसबाट जुन किसिमको प्रतिबद्धता आउनुपर्ने हो, त्यो देखिँदैन । सरकारका तर्फबाट पनि निर्धारित मितिमा निर्वाचन गराउन जेजस्तो प्रतिबद्धतासहित जनतालाई आश्वस्त पार्ने प्रयास हुनुपथ्र्याे, त्यस्तो भएको देखिँदैन । तेस्रोपटकको चुनाव मिति त्यस्तो समयमा राखिएको छ जतिखेर मध्य बर्खामात्र सुरु हुँदैन, धान रोपाइँको व्यस्त समय पनि हुन्छ । मध्य बर्खाको समयमा मिति तोकिएका कारण निर्वाचन व्यवस्थापनमा समेत समस्या बढ्न सक्ने देखिन्छ । यो अवस्थामा सरकारले सर्वप्रथम तोकिएकै मितिमा निर्वाचन गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यस किसिमको प्रतिबद्धता राजपाबाट समेत सुनिश्चित गराउन सक्नुपर्छ । बरु, त्यसका लागि सरकार र राजपाबीच लिखित सहमति गर्नु उत्तम हुनेछ । त्यसपछि मध्य बर्खा भएकाले त्यसैअनुरुप निर्वाचन स्थलमा गर्नुपर्ने आवश्यक तयारी अघि बढाउन आवश्यक छ । विगतको निर्वाचनमा झैं खुला स्थानमा मतदान गर्नुपर्ने अवस्था आए वर्षाका कारण मतदान प्रक्रिया नै प्रभावित हुन सक्छ । त्यसैले सरकारले तोकिएको मितिमा निर्वाचन गर्ने दृढ प्रतिबद्धतासहित त्यसैअनुरुपको तयारी गरेमात्र सर्वसाधारण चुनावप्रति आश्वस्त हुन सक्छन् । अब तोकिएको असार १४ मा निर्वाचन हुन नसके बाँकी स्थानमा लामो समयसम्म निर्वाचन नहुन सक्छ । असार १४ पछिको वर्षात्को समयमा निर्वाचन गराउन सम्भव हुँदैन भने वर्षात् सकिएलगत्तै संविधानमा उल्लेख गरिएझैं आगामी माघ ७ गतेभित्र प्रदेश र संघीय चुनाव गराउनुपर्ने भएकाले त्यसैतिर ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ । यस हिसावले पनि अहिले तोकिएको मितिलाई अन्तिम अवसरको रुपमा लिई सरकारले चुनावी तदारुकता देखाउन आवश्यक छ । सरकारको ध्यान त्यसैतर्फ जाओस् । निर्वाचनलाई सर्तको बन्धक बनाउने अभ्यासबाट सबैले आफूलाई मुक्त गर्न पनि सक्नुपर्छ ।

प्रकाशित: १९ जेष्ठ २०७४ ०३:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App