७ वैशाख २०८१ शुक्रबार
विचार

विकास कसरी ? यस्तो छ स्थानीयकै सुझाव

बुद्ध जन्मस्थल लुम्बिनी तीव्ररूपमा सहरीकरण हुँदै गइरहेको ठाउँ पनि हो । मधेसी÷पहाडे सबैको छासमिस बसोबास रहेको भैरहवाको विकास सबैको चासो बनेको छ यतिखेर । यस्तै अवस्था छ बुटवलको पनि । यहाँका बासिन्दा के भयो भने आफ्नो क्षेत्रको विकास हुने ठान्छन् ? नजिकिँदै गरेको स्थानीय तहको चुनावलाई कसरी हेरिरहेका छन् ? उनीहरूको मुख्य चासो र चिन्ता केमा केन्द्रित छ ? अनि मुख्य समस्या केलाई ठान्छन् र त्यसको समाधान कसरी सुझाउँछन् ? यी विविध विषय जान्नका लागि नागरिक पत्रिका प्रकाशन गर्ने संस्था नेपाल रिपब्लिक मिडिया प्रा.लि. ले भैरहवा र बुटवलमा ‘नागरिकसँग नागरिक’ विषयक छलफल कार्यक्रम राखेको थियो । सोही कार्यक्रमका वक्ताले राखेका विषय जस्ताको तस्तै :

भैरहवा

विनोदप्रकाश सिंह 
प्रमुख जिल्ला अधिकारी 
मुख्य कुरा त यहाँका राजनीतिक दलमा संकीर्णता छ । त्यसलाई उनीहरूले त्याग्न सक्नुपर्छ । सिद्धार्थनगरमा पडसरीलगायतका गाउँ मिसाएर यसको क्षेत्र विस्तार गर्दै विकासमा पनि हातेमालो गर्न सकिन्छ तर त्यसो हुन सकेको छैन । दलगत एकता हुने हो भने यहाँ सञ्चालित आयोजनाहरू सम्पन्न गर्न सजिलो हुन्छ । लुम्बिनीलाई राजनीतिक भर्तिकेन्द्र बनाइएको छ । जसका कराण पर्यटकीय गतिविधि बढ्न सकेको छैन । भौतिक पूर्वाधार विकासमा बाधा पुगेको छ । त्यसैको परिणामस्वरूप पर्यटकको बसाइ एकदमै छोटो हुने गरेको छ । जसका कारण यहाँको पर्यटन क्षेत्रले त्यसबाट लाभ लिन सकेको छैन । विकासको काममा दलहरू मिल्न सके यो नगरमा पनि प्रशस्त सम्भावना छन् र यसलाई समृद्ध बनाउन सकिन्छ । यसका अलावा मिडियाले पनि जिल्लाको दक्षिणी क्षेत्रमा पिछडिएर रहेका मधेसी र अल्पसंख्यक समुदायबारे खोजमूलक समाचार संप्रेषण गर्नु जरुरी छ । त्यहाँका आवश्यकता, समस्या मिडियाले उठान गरिदिनुपर्छ ।

रवीन्द्र धानुक
एसपि, जिल्ला प्रहरी प्रमुख 
म यो जिल्लामा आएदेखि नै यहाँको शान्ति सुरक्षा कायम गर्न सक्रिय छु । म आएलगत्तै युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्या भयो । त्यसमा संलग्नमध्ये केहीलाई पक्रन सफल भएका छौँ । विभिन्न घटनाका बाबजुद पनि यहाँको शान्ति सुरक्षा कायम राख्न यहाँका नागरिकलगायत मिडियाले सहयोग गरेका छन् । हामी नगरको सुरक्षाका लागि सिसिटिभी राख्नेलगायतका काम गर्दैछौँ । आपसी सद्भाव कायम राख्दै विकासमा जुट्नुपर्छ भन्ने नगरबासीको चाहना रहेको मैले पाएको छु । 

हरिप्रसाद अधिकारी
मेयरका उम्मेदवार, एमाले
सिद्धार्थनगर सम्भावना हुँदाहँुदै पनि पछाडि परेको सहर हो । बाटोघाटो, ढल, नाला, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत कुराहरूमा केही हदसम्म विकास भएजस्तो देखिए पनि यो नगरका भित्री बस्तीमा बाटोघाटो, ढल आदिको समस्या छ । भैरहवा नाकाबाट देशमै सबैभन्दा धेरै पर्यटक भित्रन्छन् । त्यो नाका अहिलेसम्म व्यवस्थित हुन सकेको छैन । यो नाकाबाट भित्रने पर्यटकको बसाइ लब्याउन नसक्दा त्यसबाट यहाँको पर्यटन व्यवसायले फाइदा लिन सकेको छैन । नगरको विकास हुन नसक्नुमा हामी पनि दोषी छौँ । त्यसैले अब हामी सबै नगरबासी, नागरिक समाज, सरकार, पत्रकार सबै एक भएर विकासको सम्भावना खोज्नुपर्छ । 

उमा काफले
उपमेयरका उम्मेदवार, एमाले
खुला सीमाका कारण यहाँ युवा पुस्तामा दुव्र्यसनी निकै बढ्दो छ । लैंगिक हिंसाका घट्ना बढिरहेको छ । यहाँको हरेक समुदायमा शिक्षा स्वास्थ्यको पहुँच कम छ । त्यसैले अब सिद्धार्थनगरको विकास सहरकेन्द्रित हुनुभएन । नगरका हरेक वडा हरेक बस्तीको समान विकास हुनुपर्छ । लैंगिक हिंसा र दुव्र्यसनमुक्त समाज निर्माणमा विशेष ध्यान दिनुपर्छ । 

रामकुमार शर्मा
अध्यक्ष, सिद्धार्थनगर उद्योग वाणिज्य संघ
यो व्यापारिक केन्द्र हो । लुम्बिनी गुरुयोजना लामो समयसम्म पूरा हुन सकेन । सरकार र राजनीतिक दलले  त्यसलाई प्राथमिकता दिन सकेका छैनन् । लुम्बिनी विकास कोषलाई राजनीतिक नियुक्तिको भर्तिकेन्द्र बनाइँदा त्यसो भएको हो ।  अर्को भनेको अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थल सिजनमै बन्द छ । यसलाई तत्काल सुचारु गर्नुपर्छ । सेज उद्घाटन भएर पनि सञ्चालन हुन सकेको छैन । अहिलेसम्म सेजको भौतिक पूर्वाधार निर्माण नै सम्पन्न हुन सकेको छैन । विद्युत्को व्यवस्था अहिलेसम्म हुन सकेको छैन । यसतर्फ सरकारले विशेष ध्यान दिनुपर्छ । ६ लेन बाटोको निर्माण समय लम्बिँदा लागत बढेको छ । आइसिपीको निर्माण अलपत्र छ । अन्तरदेशीय प्रादेशिक प्रसारण लाइन, १३२ केभिए लाइन विस्तारको काम सरकारले प्राथमिकतामा राख्न सकेन । अब बन्ने सरकार, दल र  स्थानीय निकायमा चुनिएर आउने जनप्रतिनिधिले यी कुरालाई विशेष ध्यान दिएर काम गर्न सक्नुपर्छ । त्यस्तै लुम्बिनी गुरुयोजनालाई समयमै पूरा गर्न विशेष ध्यान दिनुपर्छ । 

भरतकुमार पोख्रेल
नेता, एमाले
सिद्धार्थनगरलाई राज्यपुनर्सरचनाले छुन सकेन । कुनै वडा ठूलो छ, जनसंख्या थोरै छ भने कुनै वडा सानो छ तर जनसंख्या धेरै छ । यसो हुनुको पछाडि राजनीतिक स्वार्थ पनि सँगसँगै जोडिएको छ । हामीसँग लुम्बिनी छ । तर लुम्बिनीलाई पनि राजनीतिक भर्तिकेन्द्र बनाइएको छ । सार्वजनिक जग्गाको दुरुपयोग भइरहेको छ जसलाई रोक्नु जरुरी छ । मधेसी–पहाडी–मुस्लिम सबै मिलेर बसेको नगर हो यो । यो नगरमा जातीय कुरा हैन, समानताको कुरा र विकासको नारा लिएर अगाडि बढ्नुपर्छ । सरकार र राजनीतिक दलहरूले नगरको सद्भाव कायमै राख्दै यसलाई नमुना सहर बनाउनुपर्छ ।

चन्द्रप्रकाश श्रेष्ठ
अध्यक्ष, सिद्धार्थ होटल एसोसिएसन 
सिद्धार्थनगरलाई पर्यटकीय आकर्षणको सहर बनाउने प्रशस्त सम्भावना छन् । नगरमा रहेको डण्डा खोलालाई फोहोर बनाइएको छ । जसमा हामीले यसपटकको मेलाको अवसरमा बोटिङ सञ्चालन ग¥यौँ । जुन दर्शकको सर्वाधिक आकर्षणको विषय बन्यो । डण्डाको दुवैतर्फ बाटो निर्माण गरी यो खोलामा बोटिङ सञ्चालन गर्न सके पर्यटक भुलाइराख्ने मुख्य माध्यम हुन सक्छ । बेलहिया नाकामा पर्यटकका लागि आवश्यक जानकारी दिने व्यवस्था गरिनुपर्छ । लुम्बिनी प्रवेशद्वारका रूपमा रहेको नगरमा पर्यटनलाई लक्षित गरेर थुप्रै होटल खुलेका छन् । तर पर्यटकको बसाइ लम्बिन नसक्दा र लुम्बिनीका गुम्बाहरूले अवैधरूपमा होटल÷लज सञ्चालन गरिदिँदा यहाँको होटल व्यवसाय उभो लाग्न सकेको छैन, व्यवसायी मारमा परेका छन् । गौतम बुद्ध विमानस्थल निर्माणमा ढिलाइ भइरहेको छ । यसलाई तत्काल सुचारु गरिनुपर्छ । र, सिद्धार्थनगरलाई पर्यटकीय औद्योगिक नगरीका रूपमा विकास गर्नुपर्छ । 

नारायण भण्डारी 
अध्यक्ष, उद्योग व्यापार संगठन 
तीव्र आर्थिक विकासमा अगाडि बढिरहेको सिद्धार्थ नगरमा औद्योगिक करिडोरहरू खुल्ने क्रम बढ्दो छ । अन्यत्रका लगानीकर्ता पनि यहाँ उद्योग खोल्न चाहन्छन् । तर यो नगरमा विद्युत्को निकै ठूलो समस्या छ । यो समस्या समाधानमा राज्य, राजनीतिक दल र अब चुनिएर आउने स्थानीय जनप्रतिनिधिले विशेष ध्यान दिनुपर्छ । 

हकीकुल्ला खाँ 
जिल्ला इन्चार्ज, नेकपा माओवादी केन्द्र 
सिद्धार्थनगरमा केही वडाको निकै विकास भएको छ भने केही वडा निकै पछाडि छन् । त्यसको प्रमुख कारण भनेको बजेटको असमानुपातिक वितरण नै हो । यसअघिका सरकार र राजनीतिक दलका चुनिएका प्रतिनिधिले खाली आफनो समुदायको विकासमा ध्यान दिए । सबैको समानुपातिक विकास होस् भन्ने चाहेनन् । सरकारले नै भएका उद्योगधन्दा बेचे, बन्द गराए । खेती किसानी गर्ने किसानलाई प्रोत्साहन नदिने अनि भारतबाट सामान आयात गर्ने, पैसा जति भारत चीन पठाउने र नेपालीलाई आयातीत सामान प्रयोग गर्न बाध्य बनाएका छन् । अबका नेता र सररकाले त्यसो गर्नुभएन । जबसम्म सबै समुदायको समान विकास हुँदैन तबसम्म न नगरको विकास हुन्छ न देशकै । 

अजय गुप्ता
उपाध्यक्ष, राजपा नेपाल
सरकारी संयन्त्रमा आयोजना तोकिएकै समयमा सम्पन्न गर्ने परिपाटी विकास हुनुपर्छ । हरेक समुदायको सम्मान र विकास समानरूपमा हुनुपर्छ । मिडियाले पनि सधैँ सत्यतथ्य समाचार दिनुपर्छ । 

विजय सागर
साहित्यकार
नागरिक दैनिकको पुर्वेली र पश्चिमेली संस्करण भनेर छाप्दा हामीले पूर्वका समाचार थाहा नपाउने अनि पश्चिमकाले पूर्वका थाहा नपाउने हुन्छ । त्यसैले देशभरका खबर सबैले पढ्न पाउने गरी छापिनु राम्रो हुन्छ । अर्को कुरा हामीसँग भएको लुम्बिनी हिरा खानी हो । त्यही हिरा खानीमा बेथिति छ । चलखेल गरी खाने भाँडो बनाइएको छ । राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध विमानस्थल अलपत्र छ । यदि यो योजना यसैगरी छाड्ने हो भने २५ बर्षमा पनि पूरा हँुदैन । यसलाई समयमै सम्पन्न गर्ने हो भने चीनलाई हैन, नेपालकै सेनालाई जिम्मा दिनुपर्छ । 

रवि रौनियार
जिल्ला प्रवक्ता, राप्रपा
हामीले बोल्न जानेका छाैँ तर काम गर्न जानेका छैनौं । मिडिया पनि पूर्वाग्रही छ । ठूला पार्टीको पछि दौडने गरेका देखिन्छ । हामीले गरेका राम्रा कामको समाचारसम्म दिँदैनन् । नेतामा विकासका लागि दृष्टिकोण र इच्छाशक्ति चाहिन्छ र अब त्यस्तोखालको नेता चुन्न सक्यौं भने नगरको विकास हुन्छ ।

ओमकार गौचन
पूर्वअध्यक्ष, सिद्धार्थनगर उद्योग वाणिज्य संघ 
लुम्बिनीको विकास हुन सिद्धार्थनगरको विकास हुनुपर्छ । सिद्धार्थनगरलाई बुद्धनगरी बनाउनुपर्छ र यो अभियानमा हामी पनि लागेका छौं । यहाँका हरेक घरघरमा बुद्ध झण्डा फहराएर पर्यटकलाई बुद्ध नगरी आइपुगेको सन्देश दिनु जरुरी छ। 

गोविन्द रेग्मी 
अध्यक्ष, गैरसरकारी संस्था महासंघ, रुपन्देही 
सामाजिक सद्भाव, समविकासका लागि चेतनामूलक कार्यक्रमसँगै कृषि, पर्यटन जस्ता क्षेत्रको विकास र  स्थानीयलाई स्वरोजगार बनाउनेखालका कार्यक्रम गरिनुपर्छ । 

डा. शान्तकुमार शर्मा 
केन्द्रीय वरिष्ठ उपाध्यक्ष, भन्सार एजेन्ट महासंघ  
खुला सीमाका कारण यहाँ लागु औषध दुव्र्यसन बढ्दो छ । यसलाई  नियन्त्रण गरेर युवा जनशक्तिलाई उत्पादनमूलक काममा लगाउनुपर्छ । भैरहवा भनेको पुरानो आर्थिक केन्द्र हो । यसले नाकाबन्दीका बेला पनि मुलुकको इज्जत जोगाएको छ । यसलाई औद्योगिक आर्थिक केन्द्रका रूपमा विकास गर्न राज्य र राजनीतिक दलहरुले कन्जुस्याइँ गर्नुहुँदैन । 

जीवलाल अर्याल
व्यवसायी
सबै जातजाति र भाषा धर्म अनि समुदाय मिलेर बनेको सिद्धार्थनगरको सद्भाव कायमै राख्दै यसको विकासमा सबै जुट्नुपर्छ । क्षणिक आर्थिक लाभमा कोही पनि पर्नुभएन । नाफमुखी मात्रै भएर सोच्ने परिपाटी अहिले राजनीतिक दलमा मात्रै होइन, मिडियामा पनि देखिएको हो कि भन्ने भान परेको छ । मिडियाले पनि यहाँको मुख्य समस्या के हो, आवश्यकता के हो भन्ने कुरा औल्याउँदै नगरबासीसँगै विकासमा हातेमालो गर्न सक्नुपर्छ । 

सूर्यकुमार सारु
अध्यक्ष, सिद्धार्थ यातायात व्यवसायी समिति
ठूलादेखि सानासाना उद्योग कलकारखाना यहीँ छन् । वर्षमा एक लाखभन्दा बढी विदेशी यही नाकाबाट आउँछन् । तैपनि नगरको विकास जुन रफ्तारमा  हुनुपथ्र्यो, त्यो हुन सकेन । यसो हुनुको पछाडि नगरले राम्रो नेता नपाउनु नै हो भन्ने लाग्छ । नगरले राम्रो नेता पाउनका लागि मिडियाको पनि भूमिका हुन्छ । मिडियाले राम्रोलाई राम्रो, नराम्रोलाइ नराम्रो भन्न सक्नुपर्छ । त्यसो गर्दा नगरबासीलाई राम्रो नेता चुन्न सहयोग पुग्छ ।
प्रस्तुति : रेखा भुसाल

बुटवल

रिमा बिसी, इन्सेक 
अहिले स्थानीय निर्वाचन नजिकिँदै गएको छ । यसअघिका निर्वाचनमा बालबालिका दुरुपयोग भएका थिए । तर यसपालि त्यसो नहोस् भन्नका लागि मिडियाले खबरदारी गर्नु जरुरी छ । 

रामकृष्ण खाँण
जिल्ला सचिव, नेपाली कांग्रेस
देशमा लोकतन्त्र बलियो बनाउँदै स्थायी शान्ति र समृद्धि ल्याउन स्थानीय निकायको निर्वाचन अपरिहार्य भएकाले पहिलो निर्वाचन जस्तै दोस्रो चरणको निर्वाचन सफल बनाउन मिडियाले राम्रो भूमिका खेलिरहेको छ । बुटवलसँगै सिंगो रुपन्देही जिल्ला नै औद्योगिक, पर्यटकीय र व्यावसायिक कृषिको प्रशस्त सम्भावना बोकेको ठाउँ हो । हामीसँग हिरा खानी लुम्बिनीसँगै अन्य पर्यटकीय स्थान छन्, निर्यात प्रबद्र्धन गर्न सेज छ, व्यावसायिक कृषि, उत्पादनमूलक उद्योग कलकारखानामा लगानी बढ्दो छ । यी सबै कुरालाई समेटेर समृद्ध जिल्ला बनाउन सक्ने जनप्रतिनिधिहरू आजको अवश्यकता हो । 

बाबुराम बोहोरा
व्यवसायी
प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा जनताले के पाए भन्ने कुरालाई नागरिक दैनिकले समाचार र लेखमार्फत उठाओस् भन्ने चाहन्छु । विदेशीले चिनेको लुम्बिनीलाई हामीले अहिलेसम्म चिन्न सकेनौं । उत्पादनमूलक औद्योगिक विकासमा ध्यान दिन सकेनौं । अब यसतर्फ ध्यान दिनुपर्छ ।

राजु पौडेल
सिज अध्यक्ष 
बुटवल जस्तो व्यापारिक केन्द्रका रुपमा रहेको नगरमा व्यवस्थित बसपार्क समस्या छ । बुटवल भैरहवास्तरीय बस सेवा सञ्चालनको आवश्यकता छ । ट्राफिक व्यवस्थापनमा विशेष ध्यान दिनु जरुरी छ । तिलोत्तमा नदीको संरक्षण र संबद्र्धन जरुरी छ । 

एजाज आलम 
पूर्वअध्यक्ष, रुपन्देही उद्योग संघ 
यहाँको विकासमा राष्ट्रियदेखि स्थानीय मिडियाको ठूलो भूमिका छ । मिडियाले उठाएकै कारण एक प्रदेश एक औद्योगिक क्षेत्रको अवधारणाअनुरूप औद्योगिक क्षेत्र स्थापना भएको छ । त्यस्तै मिडियाले स्वास्थ्य क्षेत्रका समाचार पनि  प्राथमिकताका साथ उठाउन सके त्यसले आमनागरिकलाई स्वास्थ्य सचेतना जागृत गर्न मद्दत पुग्छ । 

दिनेशराज रेग्मी
हामी राजनीतिमा धेरै रुमल्लियौं अब आर्थिक विकासमा लाग्नुपर्छ । स्थानीय निर्वाचनपछि आर्थिक विकास तथा ओद्योगिक क्रान्ति होस् ।  

मोती पौडेल
नाकाबन्दी र आन्दोलनका बेला पनि यहाँका जनताले त्यसलाई दबाएर अगाडि बढे । देशका सबै नाका बन्द हँुदा यो नाका खुल्यो । देशका अधिकांश ठाउँमा यहीँबाट खाद्यान्नलगायत अन्य सामान आपूर्ति भयो । त्यसैले बुटवललगायत रुपन्देही जिल्लालाई नै आर्थिक केन्द्रका रूपमा विकास गर्दै अगाडि बढाउनेतर्फ सबैले पहल गर्नुपर्छ । 

नारायणप्रसाद भट्टराई 
हामीसँग लुम्बिनीसँगै अन्य पर्यटकीय स्थल छन् । ती सबैलाई समेटेर एकीकृत विकास र बिस्तार गर्दै अगाडि बढ्नेतर्फ सबैको ध्यान जानुपर्छ । मिडियाले पनि पर्यटकीय क्षेत्रको विकास र विस्तारमा खोजमूलक सामग्री प्रस्तुत गर्नुपर्छ । 

घनश्याम गैरे
स्थानीय निर्वाचन निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नु अहिलेको मुख्य आवश्यकता हो । योग्य व्यक्ति नगरको प्रमुख बनेर आयो भनेमात्रै विकासले गति लिन्छ । विकास सँगैसँगै ट्राफिक व्यवस्थापन, व्यवस्थित बसपार्क जस्ता विषयलाई प्राथमिकताका साथ उठान गर्नुपर्ने आवश्यकता छ ।

वसन्त ढकाल
सिद्धार्थनगर उद्योग वाणिज्य संघ
बुटवल पश्चिम नेपालकै आर्थिक केन्द्र हो र यसलाई पाँच नम्बर प्रदेशको राजधानी बनाउनुपर्छ भन्ने यहाँका जनताको माग हो । त्यसका लागि मिडियाले पनि महत्वपूर्ण भूमिका खेल्न सक्छ, खेल्नुपर्छ । त्यस्तै अब हुने स्थानीय निकायको चुनावमा यो नगरलाई समृद्ध बनाउन सक्ने योग्य व्यक्ति छनोटका लािग नगरबासीलाई मार्गनिर्देश गर्नेखालका सामग्री मिडियाले प्रस्तुत गर्नुपर्छ । 

जीवन बन्जाडे
विकास र समृद्धिका लागि आवश्यक पूर्वाधार निर्माणमा राजनीति भइरहेको छ । जसका कारण गौतमबुद्ध विमानस्थल, ६ लेन व्यापारिक मार्ग जस्ता आयोजना निर्माणमा ढिलाइ भइरहेको छ । पचासौं वर्ष पुराना उद्योग छन् । त्यस्ता उद्योगले गर्ने प्रदूषण निगरानी गर्ने संयन्त्र बनाइनुपर्छ ।

मुकुन्द मरासिनी 
समाजमा सकारात्मक प्रभाव पार्न सक्ने समाचारलाई प्राथमिकता दिँदा राम्रो हुन्छ । विकास भइराछैन भनिरहँदा विकासलाई प्रभाव पार्ने काम पनि हामीबाटै भइराछ भन्ने बुझ्नुपर्छ र त्यसो गरिनुहँुदैन भन्ने सन्देश मिडियाले दिन सक्यो भने त्यसले समाजमा सकारात्मक प्रभाव पार्छ । 

शिव ज्ञवाली
अध्यक्ष, औषधि व्यवसायी संघ लुम्बिनी
स्थानीय निकायमार्फत सिंहदरबार गाउँ पुग्ने भनिएको छ । तर स्थानीय निकायलाई दिइएको अधिकारको दुरुपयोग हुने खतरा पनि त्यत्तिकै छ । त्यसैले मिडियाले यसलाई निरन्तर खबरदारी गरिरहनुपर्छ र नागरिक समाज पनि चनाखो हुनुपर्छ । स्वास्थ्य भनेको जनसरोकारको विषय भएकाले नागरिक दैनिकले हरेक दिन स्वास्थ्यसम्बन्धी एउटा समाचार दिन सके त्यसले आमपाठकमा स्वास्थ्य चेतना बढाउँथ्यो भन्ने लाग्छ ।
 

गोविन्द खनाल
शान्ति समाज
अन्तर्राष्ट्रिय जगतले समेत गौरव गरेको लुम्बिनी हामीसँग छ । सरकार, राजनीतिक दल र अब चुनिएर आउने जनप्रतिनिधिले यस क्षेत्रको मात्रै होइन, राष्ट्रकै विकासका लागि ग्रेटर लुम्बिनीको अवधारणाअनुरूप लुम्बिनीलाई केन्द्रमा राखेर विकासका काम अगाडि बढाउनुपर्छ । 

शिव सुवेदी
एमाले जिल्ला अध्यक्ष, बुटवलको मेयरका उम्मेदवार
लुम्बिनी  भनेको समग्र देशलाई पाल्न सक्ने क्षमता राख्ने क्षेत्र हो । लुम्बिनीलाई बचाउनु संरक्षण गर्नु जरुरी छ ।  कृषि, उद्योग र पर्यटन विकासको प्रशस्त सम्भावना बोकेको क्षेत्र हो यो । यसको विकासका लागि भौतिक र मानवीय विकासलाई सँगसँगै लैजानुपर्छ । स्वरोजगारमूलक र सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनुपर्छ । बुटवललाई लुम्बिनीसँग जोडेर महानगरीय अवधारणाअनुरूप विकासको दस्तावेज बनाएर अगाडि बढ्नु जरुरी छ । 
प्रस्तुति : शेरबहादुर केसी

प्रकाशित: १९ जेष्ठ २०७४ ०३:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App