coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दंगालीको आवाज ‘समृद्ध दाङ’

दाङमा नागरिक दैनिकद्वारा बिहीबार आयोजित ‘नागरिकसँग नागरिक’ कार्यक्रमका सहभागी ।

दाङ – दाङका नागरिकले ‘समृद्ध दाङ’ निर्माणका लागि भूमिका खेल्न सञ्चारजगत्लाई आग्रह गरेका छन् । नागरिक दैनिकले बिहीबार घोराहीमा आयोजना गरेको ‘नागरिकसँग नागरिक’ कार्यक्रममा सहभागीले एसियाकै ठूलो उपत्यका दाङको बृहत्तर विकासमा ध्यान दिँदै समृद्ध उपत्यका निर्माणका लागि भूमिका निर्वाह गरिदिन नागरिक दैनिकसँग आग्रह गरे । 

जिल्लाको समग्र अवस्थाबारे जानकारी गराउँदै उनीहरूले  जिल्लामा विद्यमान समस्या समाधान गर्न सञ्चारजगत्को महत्वपूर्ण भूमिका रहने उल्लेख गरे । जिल्लाको वस्तुगत अवस्था बुझ्न नागरिक दैनिकले सञ्चालन गरेको कार्यक्रममा सहभागी नागरिकले खानेपानीको समस्या टड्कारो रहेको भन्दै यो विषयलाई प्राथमिकताका दिन आग्रह गरे । कार्यक्रममा नागरिक दैनिकका प्रकाशक विनोद ज्ञवाली, प्रधान सम्पादक गुणराज लुइँटेल र रिपब्लिका दैनिकका सम्पादक सुभाष घिमिरेले सुझाव लिएका थिए ।

 दाङको प्रमुख समस्या खानेपानी औंल्याउँदै यसलाई प्राथमिकता दिन दङालीले सञ्चारजगत्सँग आग्रह गरेका छन् 


जिल्लामा बर्सेनि विकराल बन्दै गएको खानेपानी समस्या समाधानका लागि चासो नदिइएको गुनासो गर्दै घोराही खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष देवीबहादुर डाँगीले आसन्न स्थानीय निर्वाचनमा यो विषय चुनावी अजेन्डासमेत बन्न नसकेको बताए । ‘मान्छेलाई सबैभन्दा महत्वपूर्ण चिज भनेकै पानी हो,’ उनले भने, ‘तर पानीको विषयमा यहाँ कोही पनि संवेदनशील बनेको देखिन्न, जसका कारण दाङमा पिउने पानीको समस्या विकराल बन्दै गइरहेको छ ।’ जिल्लामा मनपरी खुलेका सिमेन्ट उद्योगका कारण खानेपानीका मुहान सुक्दै गएकाले समस्या बढ्दै गएको उनले बताए । ‘सिमेन्ट उद्योगले महाभारत पहाड खनेर सिध्याएपछि पानीको मुहान कसरी जोगिन्छ ?’, उनले भने, ‘दंगाली जनताको हितका लागि यो विषयलाई सञ्चारजगत्ले महत्वका साथ उठाइदिनु पर्याे ।’ 

मानव बस्तीबीचमा सञ्चालन गरिएका सिमेन्ट उद्योगले निमत्याएको समस्याबारे डा. गोविन्द आचार्यले भने, ‘मानव बस्तीको बीचमा खुलेका सिमेन्ट उद्योगले स्थानीयको निद खोसेका छन् ।’ नेपाली संस्कृतिका जानकार उनले जिल्लाको पर्यटकीय क्षेत्रलाई पनि नागरिकले महŒवका साथ उठाइदिनुपर्ने बताए । 

स्थानीय तहको निर्वाचनले उत्साहित सहभागीले निर्वाचन र विकास निर्माणको सवालसमेत जोडेका थिए । सहप्राध्यापक निर्मल देवकोटाले स्थानीय तहको निर्वाचनमा दलहरूले ठूल्ठूला सपना नभई जनजीविकासँग जोडिएका सामान्य विषयवस्तुलाई प्राथमिकता दिनुपर्ने बताए । सञ्चारजगत्ले दलहरूलाई यसतर्फ प्रेरित गर्न समेत उनले सुझाए । ‘दंगालीले विकास चाहेका छन्, सामान्य नागरिकको दैनिकीको अवस्था ध्यानमा राखेर त्यस्तै खाले विषयवस्तु चुनावी अजेन्डा बनाइनुपर्छ,’ उनले भने, ‘बीउवीजन, कुलोपानीलगायत सामान्य कुरालाई दलहरूले चुनावमा प्राथमिकता दिनुपर्छ ।’

प्राध्यापक गोविन्दप्रसाद न्यौपानेले दाङ कृषिमा निर्भर जिल्ला रहेकाले यसलाई कृषि हबका रुपमा विकास गरिनुपर्ने बताए । जिल्लामा भइरहेको अव्यवस्थित प्लटिङले खेतीयोग्य जमिन नासिँदै गएको जानकारी दिँदै उनले भने, ‘खेतीयोग्य जमिन जोगाएर दाङलाई कृषि हबका रुपमा विकास गरिनुपर्छ, प्लटिङको निश्चित मापदण्ड बनाइनुपर्छ ।’ उनले यो विषयलाई सञ्चारजगत्ले महŒव दिनुपर्ने बताए ।

न्यौपानेको भनाइमा सहमत कृषक संघका चन्द्रप्रसाद चौधरीले सिमेन्ट उद्योगको भन्दा बढी असर प्लटिङले पारिरहेको बताए । अनियन्त्रित प्लटिङका कारण खेतीयोग्य जमिन नासिँदै गएको भन्दै उनले प्रश्न गरे, ‘खेती गर्ने जमिन नभए म किसानको छोरो कसरी बाँच्ने ?’ उनले दाङको खेतीयोग्य जमिन बगर बनाउन थालिएको भन्दै यसको नियन्त्रणका लागि सञ्चारजगत्ले खबरदारी गर्नुपर्ने बताए । 

लोपोन्मुख कुसुन्डा समुदायको प्रतिनिधित्व गरेका धनबहादुर कुसुन्डाले आफूहरू राज्य र दलबाट उपेक्षित बनेको गुनासो गरे । निर्वाचनको प्रसंगमा उनले दलहरू आफ्नो बस्तीमा भोट माग्न समेत नजाने गरेको दुखेसो गरे । ‘हामीलाई त दल र राज्यले साह्रै लोप बनाइसक्यो,’ उनले भने, ‘अन्यत्र हरेक बस्तीमा चुनाव आउँछ तर हाम्रो बस्तीमा कहिल्यै आउँदैन । चुनावमा भोट माग्न समेत कोही आउँदैनन् ।’ 

अर्का वक्ता विनोद पोख्रेलले खानी संरक्षणतर्फ ध्यान दिन सके दाङको आर्थिक विकास हुने सम्भावना देखाए । ‘कोइलाखानी, चुनढुंगालगायतका खानी क्षेत्रको पहिचान गरेर संरक्षण गर्न सके आर्थिक विकासमा पक्कै टेवा पुग्छ,’ उनले भने, ‘जिल्लामै पेट्रोलको खानी क्षेत्र भनेर सम्भावना अध्ययनसमेत गरिएको थियो, त्यो पाटोको थप अध्ययन हुन जरुरी छ ।’ 

कार्यक्रममा सहभागी दुईदर्जन नागरिकले जिल्लाको वस्तुगत अवस्थाबारे कलम चलाइदिन नागरिक टिमलाई सुझाव दिएका थिए ।

कार्यक्रममा उत्साहजनक प्रतिनिधिमूलक सहभागिता थियो । नागरिक अगुवा, अग्रज पत्रकार, यातायात व्यवसायी, शैक्षिक संघसंस्थाका प्रतिनिधिदेखि सर्वसाधारण नागरिक र साहित्यिक व्यक्तित्वसमेत सहभागी थिए ।

 

प्रकाशित: १९ जेष्ठ २०७४ ०२:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App