८ वैशाख २०८१ शनिबार
राजनीति

निगममा पाइलट टिकाउनै गाह्रो

काठमाडौं – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम सानादेखि ठूला जहाज थप्ने तयारीमा छ तर, वरिष्ठ पाइलटले भने संस्था छाडिरहेका छन् । 

निजी क्षेत्रका विभिन्न आन्तरिक वायुसेवा कम्पनीमा पाइरहेको आकर्षक तलबभत्ता छाडेर निगममा ‘जेट इन्जिन’ जहाज उडाउन पाइने आसमा आएका चार पाइलटले राजीनामा दिएपछि उडान तालिकासमेत प्रभावित भएको छ । 

निगमका एक उच्चअधिकारीका अनुसार आन्तरिक उडान गर्ने १९ सिट क्षमतायुक्त ‘ट्विनअटर’ जहाजका वरिष्ठ क्याप्टेनद्वय अभिशेष राई र सुनिल जोशी तथा क्याप्टेनद्वय रोशन केसी र जीवनकुमार (जेके) निरौलाले राजीनामा दिएका हुन् । 

निजी क्षेत्रका वायुसेवा कम्पनीको आकर्षक तलबभत्ता छाडेर नेपाल वायुसेवा निगममा ‘जेट इन्जिन’ जहाज उडाउन पाउने आसमा आएका चार पाइलटले राजीनामा दिए 

‘चारैजना क्याप्टेन निजी वायुसेवा तारा एअरबाट निगम आएका थिए र सबैको आशा ट्विनअटर जहाजबाट फड्को मार्दै जेट इन्जिन जहाज उडाउने थियो,’ ती अधिकारीले बिहीबार नागरिकसँग भने, ‘तर, तीन वर्षसम्म पनि जेट उडाउन नपाएपछि उनीहरूले राजीनामा दिए ।’

राजीनामा दिएका क्याप्टेनहरूसँग नजिक रहेका निगमका एक क्याप्टेनका अनुसार वरिष्ठ क्याप्टेन राई निजी वायुसेवा सौर्य एअरलाइन्समा जाने तयारीमा छन्ल जोशी सौर्य एअरलाइन्समाा गएर थप तालिमका लागि लिथुवानियामा छन् । सौर्यसँग हाल ५० सिट क्षमताका जेट इन्जिनजडित दुइटा जहाज छन् । 

त्यसैगरी क्याप्टेन केसी अर्को निजी कम्पनी श्री एअरलाइन्समा गएका छन् । श्रीसँग पनि ५० सिट क्षमताका जेट इन्जिनजडित दुइटा जहाज छन् । श्रीले एक महिनाअघि ती जहाज खरिद गरेको थियो । हेलिकोप्टर कम्पनी श्रीले नियमित यात्रु उडान गर्न ती जहाज ल्याएको हो । ७२ सिटको जेट इन्जिनयुक्त तेस्रो जहाज पनि ल्याउने तयारीमा श्री छ । श्री एअरलाइन्स नेपाल नागरिक उड्डयन प्राधिकरणबाट वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) पाउने अन्तिम प्रक्रियामा छ ।  

अर्का क्याप्टेन निरौला पुनः तारा एअरमै फर्किएका छन् । उनले तारामा ट्विनअटर जहाज नै उडाउँछन् । चारै क्याप्टेनले न्यूनतम साढे दुईदेखि तीन वर्षसम्म निगममा ट्विनअटर जहाज उडाएका थिए । ‘निगममा तलबभत्ता निजीको जस्तै आकर्षक भएको भए ती क्याप्टेनलाई थप केही अवधि रोक्न सकिन्थ्यो,’ निगमका ती क्याप्टेनले भने, ‘तर, ट्विनअटर जहाज उडाउने वरिष्ठ क्याप्टेनले ४५ घन्टा ‘ग्यारेन्टी आवर’ सहित मासिक अधिकतम १ लाख ५० हजार रुपैयाँसम्म मात्र हात पार्छन् । उता निजी कम्पनीमा जहाज उडाउने वरिष्ठ पाइलटले भने मासिक अधिकतम ७ लाख रुपैयाँसम्म हात पार्छन् ।’

सम्बद्ध अधिकारीका अनुसार अब निगममा ट्विनअटर जहाज कमान्ड गर्ने वरिष्ठ क्याप्टेन इच्छाराज (आइआर) गुरुङ, नगेन्द्र भट्टराई र क्याप्टेन उज्ज्वल सिल्वाल मात्र छन् । निगमसँग दुइटा ट्विनअटर छन् । अर्का क्याप्टेन मानबहादुर (एमबी) तुम्बाहाम्फे दर्जा क्याप्टेन भए पनि को–पाइलट भएर उडिरहेका छन् भने क्याप्टेन हीरा थापाले सुगम क्षेत्रका केही गन्तव्यमा मात्र कमान्ड गरिरहेका छन् । वरिष्ठ को–पाइलटमा मनीषविक्रम शाह र राजकुमार रौनियारमात्र छन् । 

प्रकाशित: १९ जेष्ठ २०७४ ०१:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App