coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री चयन प्रक्रिया अवरुद्ध

काठमाडौं – प्रमुख प्रतिपक्ष एमालेले व्यवस्थापिका संसद्  बैठक अवरुद्ध गरेकाले बिहीबार नयाँ प्रधानमन्त्री चयन प्रक्रिया अघि बढ्न सकेन । दलीय सहमतिमा प्रधानमन्त्री चयन हुन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय प्रक्रिया सुरु गर्न संसद्लाई पत्र पठाए पनि एमाले अवरोधले नयाँ प्रधानमन्त्री चयन प्रक्रिया अघि बढ्न नसकेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ १० गते पदबाट राजीनामा दिएका थिए । दाहालले सरकार छोडेलगत्तै राष्ट्रपति भण्डारीले ११ गते सबै दलको सहमतिमा सरकार गठन गर्न सात दिन समय दिएकी थिइन् । राष्ट्रपतिले सहमतीय सरकार बनाउन दिएको समय बुधबार सकिएको थियो । 

सर्वदलीय बैठकमा पनि दलहरूले सहमतिको उम्मेदवार अघि नबढाएपछि राष्ट्रपतिले बहुमतीय प्रक्रिया सुरु गर्न बिहीबार बिहान संसद् सचिवालयलाई पत्र पठाएकी हुन् । राष्ट्रपति कार्यालयबाट आएको पत्र सदनमा जानकारी गराउँदै नयाँ प्रधानमन्त्री निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने सभामुखको तयारी थियो । एमालेले अवरोध गरेकाले कार्यतालिका सार्वजनिक शुक्रबार गरिने भएको छ । 

प्रमुख प्रतिपक्षी दलले संसद् बैठक चल्न नदिएपछि नयाँ प्रधानमन्त्री चयनका लागि कार्यतालिका सार्वजनिक हुन सकेन

केही समयदेखि एमालेले नियमितजसो संसद् अवरोध गर्दै आएको छ । केही समय पहिले प्रधानन्यायाधीशमाथि महाभियोग लगाइएको विषयमा विरोध गर्र्दै सदन अवरुद्ध पारेको एमालेले त्यसपछि सरकारले स्थानीय तहमा संख्या वृद्धि गरेको विषयमा अवरोध गरेको थियो । महाभियोग फिर्ता लिने सहमति भएर सदन चल्न दिएको एमालेले दुई दिनयता भरतपुरमा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेको विषयलाई लिएर सदन अवरुद्ध पार्दै आएको छ । 
सदन सञ्चालन भए निर्वाचन कार्यतालिका सार्वजनिक गरी जेठ २१ गते नयाँ प्रधानमन्त्री चयन गर्ने तयारी छ । संसद् सचिवालयले पनि यसैअनुरूपको सूची तयार गरेको छ । तर अवरोध भएपछि शुक्रबार बिहान ११ बजे दलहरूबीच सहमति जुटाउन कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । 

संसद् सचिवालयले नयाँ प्रधानमन्त्री चयनका लागि शुक्रबार ९ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको कार्यसूची तयार गरेको छ । ४ ः३० बजे अन्तिम नामावली प्रकाशन गर्ने र शनिबार दाबीविरोधका लागि समय छुट्याइएको छ । तर संसद् चलेपछि उक्त तयारी तलमाथि पर्ने देखिएको छ । 

कार्यव्यवस्थाको बैठकपछि मनोनयन दर्ता गर्ने र राष्ट्रपतिले बहुमतीय प्रक्रिया सुरु गर्न पठाएको पत्र आइतबार संसद्मा पेस गरी दोस्रो बैठक राख्ने तयारी छ । आइतबार नै दाबीविरोधको समय राखी दोस्रो बैठकमार्फत प्रधानमन्त्री चयन प्रक्रिया सुरु गरिने सचिवालायले जनाएको छ । 

संसद् सचिवालयका प्रवक्ता भरत गौतमका अनुसार शुक्रबारको कार्यव्यवस्था बैठकपछि निर्वाचन कार्यसूची सार्वजनिक हुनेछ । एमालेसँग छलफलपछि कार्यसूची सार्वजनिक गर्ने तयारी सचिवालयको छ । 
कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठले संसद्बाट प्रधानमन्त्री चयन प्रक्रिया नरोकिने दाबी गरे । 
सभामुखले निर्वाचनमा मत विभाजन गरी जारी प्रक्रिया किनारा गर्न सक्ने भएकाले एमालेको विरोध औचित्यहीन हुने श्रेष्ठको तर्क छ । भरतपुरमा मतपत्र च्यातिएको प्रकरणमा निर्वाचन आयोगले शुक्रबारसम्म कुनै निर्णय गर्ने भएकाले आइतबार प्रधानमन्त्री चयन प्रक्रियामा बाधा नआउने उनले बताए । 

एमाले प्रमुख सचेतक भानुभक्त ढकालले भने भरतपुर विवाद समाधान नभएसम्म सदन चल्न नदिने बताए । ‘भरतपुरमा मतगणना सुरु नभएसम्म एमालले सदन अवरुद्ध जारी राख्छ,’ ढकालले भने, ‘यो मुद्दा सम्बोधन नभए कुनै पनि प्रक्रिया अघि बढ्नेछैन ।’ 

माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतले एमाले अवरोध शुक्रबार सकिने बताए । संसदीय नियम र परम्परामा आधारित भई बहुमतले प्रधानमन्त्री चयन गर्ने विषयमा एमालेको विरोध नहुने उनले दाबी गरे । प्रधानन्यायाधीशविरुद्धको महाभियोग एमालेकै आग्रहमा सरकारले फिर्ता लिएको उनले बताए  । उनले महाभियोग प्रस्ताव सदनमा पेस गर्न नदिएर एमालेले गलत कार्य गरेको आरोप पनि लगाए ।  

सभामुख घर्तीले संसद्को अर्को बैठक २१ गते ११ बजेका लागि डाकेकी छन् । 

मनोनयन दर्तालगायत कार्यक्रमलाई संसद् बैठक आवश्यक नभए पनि निर्वाचनका लागि भने आवश्यक हुन्छ । एमालेको अवरोध कायम रहे २१ गते नयाँ प्रधानमन्त्री निर्वाचन गर्ने कार्यक्रमसमेत प्रभावित हुने देखिन्छ । 

प्रकाशित: १९ जेष्ठ २०७४ ०१:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App