coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

काठमाडौं महानगरमा वृद्धभत्ता मासिक एक हजार

काठमाडौं – काठमाडौं महानगरपालिकाले ज्येष्ठ नागरिकलाई वार्षिक १२ हजार रुपैयाँ भत्ता दिने भएको छ । नवनिर्वाचित नगर प्रमुख तथा उपप्रमुखको पदबाहलीसँगै बसेको नगर कार्यपालिकाको पहिलो बैठकले ज्येष्ठ नागरिकलाई भत्ता दिने निर्णय गरेको हो ।

उक्त निर्णयबाट महानगरपालिकामा बसोबास गर्ने ७५ वर्ष नाघेका महिला र ८० वर्ष नाघेका पुरुष ज्येष्ठ नागरिकले मसिक १ हजार रुपैयाँ भत्ता पाउनेछन् । यो सरकारले दिँदै आएको मासिक भत्ता दुई हजार रुपैयाँबाहेक हो । 

महानगरपालिकाका प्रमुखमा विद्यासुन्दर शाक्य र उपप्रमुखमा हरिप्रभा खड्गी निर्वाचित भएपछि पदभार ग्रहणसँगै बुधबार पहिलो नगर कार्यपालिका बैठक बसेको हो । उक्त बैठकको दोस्रो निर्णयमा भत्तासम्बन्धी व्यवस्था गरिएको छ ।  महानगरको सोही बैठकले ज्येष्ठ नागरिकलाई घरदैलोमा नै दक्ष चिकित्सकसहितको टोली पठाएर स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको  छ ।

‘८० वर्ष पुरा भएका पुरुष र ७५ वर्ष पुगेका महिलालाई वार्षिक १२ हजार महानगर भत्ता प्रदान गरिनेछ,’ नगर प्रमुख शाक्यले बैठकको निर्णय सुनाउँदै भने, ‘ज्येष्ठ नागरिकलाई राज्यले संरक्षण गर्ने नीतिअनुसार नै महानगरले भत्ता दिन लागेको हो ।’

ज्येष्ठ नागरिकलाई महानगरबाट दिन लागिएको भत्ताको स्रोत आन्तरिक कि केन्द्रीय अनुदान भन्ने विषयमा प्रमुख शाक्यले उत्तर दिन चाहेनन् । यस्तो भत्ता आन्तरिक स्रोतबाट दिन पाउने भए पनि केन्द्रीय अनुदानबाट दिन नसकिने कानुनी व्यवस्था छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माका अनुसार संघीय बजेटबाट ज्येष्ठ नागरिकलाई दुई हजार रुपैयाँभन्दा धेरै रकम दिन पाइँदैन । ‘स्थानीय स्वायत्त शासन ऐनअनुसार आन्तरिक स्रोतबाट दिन भने रोक लगाएको छैन,’ उनले भने । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले खर्चको कार्यविधि र आचारसंहिता नबनाउँदा केही अलमल देखिएको उनको भनाइ छ । ‘स्थानीय विकास मन्त्रालयअन्तर्गतको संघीय महाशाखा कार्यविधिको अन्तिम तयारीमा छ,’ उनले भने, ‘सम्भवतः छिट्टै कार्यविधि आचारसंहिता आउनेछन् र अलमल टुङगो लाग्नेछ ।’

ज्येष्ठ नागरिक खुसीले गद्गद्
महानगरपालिकाले ज्येष्ठ नागरिकलाई वार्षिक १२ हजार भत्ता दिने निर्णय गरेपछि ज्येष्ठ नागरिक खुसीले गद्गद् भएका छन् । ‘भत्ता बढेको खबर पाउँदा त खुसी नै लागेको छ,’ वसन्तपुरका ८१ वर्षीय  हरिचन्द्र श्रेष्ठले भने, ‘महानगरले सबै ज्येष्ठ नागरिकलाई नै दिनुपथ्र्यो । तर, उमेर हद लगाएर विभेद गरेजस्तो देखियो ।’ उनका अनुसार सबै ज्येष्ठलाई नै समान भत्ता उपलब्ध गराउनुपर्ने थियो ।

कोटेश्वरकी ७५  वर्षिय शर्मिला ढकालले महानगरले भत्ता बढाएकोमा खुसी व्यक्त गरेकी छिन् । ‘हाम्रो लागि भत्ता बढेको भर्खरै रेडियोमा सुनेकी छु । खै हेरौ कहिले पैसा हातमा पर्छ,’  नागरिकसँग उनले भनिन्, ‘ढिलै भए पनि महानगरले गरेको निर्णयले खुसी छाएको छ ।’ यद्यपी कार्यान्वयन हुने वा नहुनेमा भने ज्येष्ठ नागरिक अन्योलमा छन् । ‘निर्णय आउनु ठूलो कुुरा होइन्,’ उनले भनिन्, ‘कार्यान्वयनमा ल्याउनु प्रमुख कुरा हो । भत्ता हातमा पर्ने दिनको पर्खांइमा छौं हामी ।’ 

प्रकाशित: १८ जेष्ठ २०७४ ११:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App