८ वैशाख २०८१ शनिबार
अर्थ

द्रुत मार्ग आर्थिक विकासको मेरुदण्ड

वीरगन्ज – राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निजगढ काठमाडौँ द्रुत मार्गको निर्माणले तराई मधेसको आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास यस क्षेत्रका उद्योगी व्यापारीले लिएका छन् । 

पहाड र हिमाललाई तराईसँग जोड्ने द्रुत मार्गको निर्माणका लागि सरकारले आव २०७४/७५ को बजेटमार्फत रु १० अर्ब १४ करोड बजेट विनियोजन गरेको छ । नेपालको लाइफ लाइनको रुपमा रहेको सो मार्गको निर्माणसँगै यस क्षेत्रमा रहेका उद्योग, कलकारखानाको आर्थिक विकासमा थप टेवा पुग्ने विश्वाससँगै उद्योगी व्यापारीले सो मार्गको प्रयोगले इन्धनको बचतसमेत हुने बताएका छन् । 

उक्त मार्गको निर्माणको ठेक्का नेपाली सेनाले पाएपछि चार वर्षभित्रै निर्माण सम्पन्न हुनुका साथै गुणस्तरीय समेत हुने हुने विश्वास लिइएको छ । द्रुत मार्गको निमार्णले वीरगन्ज पथलैया औद्योगिक करिडोरमा रहेका उद्योगको विकास हुने उद्योगपति तथा समाजसेवी प्रदीप केडिया बताउँछन्। 

उक्त मार्गको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि शिलान्यास गरेका थिए। निर्माणको ठेक्का पाएको नेपाली सेनाले कामको सुरुवात गरिसकेको छ । तराईलाई काडमाडौँसँग जोड्ने छोटो मार्गका रुपमा रहेको सो दु्रत मार्गको प्रयोग गर्दा इन्धनको बचत हुने र समय कम लाग्नेछ । 

“ द्रुत माग आर्थिक समृद्धिका लागि अति उपयोगी छ,” वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्माले भने । सरकारले सन् २०१५ मार्च १६ मा भारतीय कम्पनी आइएलएस एन्ड एफएसलाई विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाउन जिम्मा दिएको थियो भने सो कम्पनीले सन् २०१५ जुन २४ मा डिपिआर प्रतिवेदन पेस गरेको थियो । सन् २०१५ जुलाई १२ मा सो डिपिआर प्रतिवेदन स्वीकृत गरिएको थियो । 

सो द्रुत मार्गलाई १० सेक्टरमा विभाजन गरी काम गर्ने योजना नेपाली सेनाले बनाएको छ । दु्रत मार्ग तथा सडक विस्तार, पर्खाल, सुरुङ मार्ग, पुल पुलेसा निर्माणलगायत कार्य रहेका छन् । करिब ७६ किलोमिटर लामो दु्रत मार्ग ललितपुरको खोकनाबाट सुरु भई काठमाडौँको चाल्नाखेल हुँदै दक्षिणकाली, गढी, छतिबन र धियाल हुँदै बाराको रतनपुरी लालगाउँ भएर निजगढस्थित पूर्व पश्चिम राजमार्गसँग जोडिने छ । 

दु्रत मार्गले मधेस र काठमाडौँबीचको दूरीलाई कम गरी सौहार्दपूर्ण सम्बन्धमा समेत प्रगाढता ल्याउने नेकपा माओवादी केन्द्र बाराका अध्यक्ष मदन ठाकुर बताउँछन्। 

दु्रत मार्गको चौडाइ पहाडी क्षेत्रमा २३ मिटर तथा तराईको समथर क्षेत्रमा २५ मिटर रहने छ । सो मार्गमा साना ठूला गरी ७६ वटा पुल रहने छन् । यही मार्गभित्र डेढ किलोमिटर लामो दुईवटा सुरुङमार्ग रहने छन् भने छवटा अकासे पुल समेत रहने छन् । दु्रत मार्गमा दुईवटा कर सङ्कलन गर्ने राजस्व दस्तुर केन्द्र रहने छन् । चार लेनको आधुनिक तथा सुविधा सम्पन्न सडक निर्माणपछि काठमाडौँ पुग्न बढीमा एक घन्टा समय लाग्ने बताइएको छ । रासस 

प्रकाशित: १८ जेष्ठ २०७४ ११:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App