८ वैशाख २०८१ शनिबार
राजनीति

भरतपुरमा च्यातिएका मतपत्रको पोको खोलिँदै

भरतपुरमा एमालेका मेयर प्रत्यासी देवी ज्ञवाली तथा माओवादीकी रेणु दाहाल

चितवन– माओवादी बुथ प्रतिनिधिले च्यातेका भरतपुर वडा नं. १९ को मतपत्रको पोको बिहीबार खोलिने भएको छ। निर्वाचन आयोगको निर्देशनपछि बिहीबार सबै दलका उम्मेदवार प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखको उपस्थितिमा मतपत्र खोलेर विवरण लिने तयारी गरिएको हो।

भरतपुर महानगरपालिकाको मतगणना चलिरहँदा माओवादीका बुध प्रतिनिधिले आइतबार मध्यराति मतपत्र च्यातेका थिए। त्यसपछि मगणना स्थगित गरी अनुसन्धान थालिएको थियो।

बैठकमा प्रहरी प्रमुख दीपक थापा, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने सहभागी छन्। मतगणनास्थलको सिल तोडेर च्यातिएका मतपत्रहरुको विवरण के कसरी लिने भन्ने विषयमा बैठकले निर्णय लिनेछ।

भतरतपुरमा विभिन्न पार्टीका मेयर तथा उपमेयर उम्मेदवार प्रतिनिधि, वडा अध्यक्षका प्रतिनिधिको उपस्थितिमा जिल्ला सुरक्षा समितिको बैठक जारी छ। बैठकमा प्रहरी प्रमुख दीपक थापा, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने सहभागी छन्। मतगणनास्थलको सिल तोडेर च्यातिएका मतपत्रहरुको विवरण के कसरी लिने भन्ने विषयमा बैठकले निर्णय लिनेछ।

च्यातिएका एवं गणना गर्न बाँकी मतपत्रहरु भरतपुर कभर्ड हलभित्रै सिलबन्दी गरेर राखिएका छन्।

भरतपुरको मतपत्र च्यातिएकोबारे निर्वाचन आयोगले सोमबार सहन्यायधिवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा गृहमन्त्रालयका सहसचिव महेश आचार्य र प्रहरी नायब महानिरीक्षक केदारमान सिंह भण्डारी सदस्य रहेको छानबिन टोली गठन गरेको थियो। टोलीले बुधबारै निर्वाचन आयोगलाई प्रतिवेदन बुझाउँदै मतगणना स्थलमा माओवादीका बुथ प्रतिनिधिले मतपत्र च्यातेको ठहर गरेको थियो।

टोलीको प्रतिवेदन अध्ययनपछि मुख्य निर्वाचन आयुक्त अयोधीप्रसाद यादबसहित सबै आयुक्तहरुको बैठकले भरतपुर महानगरपालिकामा माओवादी कार्यकर्ताले च्यातेका मतपत्रको विवरण पठाउन भरतपुरका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेलाई निर्देशन दिएको थियो।

भरतपुरमा माओवादीकी मेयर प्रत्यासी प्रधानमन्त्री पुत्री रेणु दाहाल र एमालेका देवी ज्ञवालीबीच कडा प्रतिस्पर्धा भइरहँदा मतपत्र च्यातिएको थियो। मतपत्र च्यात्नेहरु माओवादीका  बुथ प्रतिनिधिहरु मधु न्यौपाने र द्रोणबाबु शिवाकोट प्रहरी हिरासतमा छन्।

मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले आफू बाथरुम गएकाले घटनामा संलग्न नदेखेको सञ्चारकर्मीलाई बताएका थिए। आइतबार मध्यराति घटनास्थलमै रहेका चितवन प्रहरी प्रमुख दीपक थापाले ४-५ वटा मात्र मतपत्र च्यातिएको जानकारी दिएका थिए। च्यातिएपछि पोको पारी सिलबन्दी गरेर राखिएका ती मतपत्रहरु सबै दलका उम्मेदवार प्रतिनिधि तथा सुरक्षाकर्मीको उपस्थितिमा आज खोल्न लागिएको हो।

च्यातिएका मतपत्रको गणना गरी त्यसको विवरण काठमाडौंस्थित निर्वाचन अायोग केन्द्रीय कार्यालय पठाइनेछ।

कुल २९ वटा वडाहरु रहेको भरतपुरमा २७ वटा वडाहरुको मत गणना सकिएको अवस्थामा सो घटना भएको थियो। १९ नम्बर वडाको मत गणना सुरु भएपछि माओवादीकी रेणु दाहालको मतान्तर निकै घट्न सक्ने अनुमान थियो। १८ सय मत गणना हुँदासम्म देवीले अग्रतामा केबल ५१ मत मात्रै गुमाएपछि माओवादी बुथ प्रतिनिधिले घटना गराएका थिए।

वडा नं. १९ मा २ हजार ८६० मत खसेको छ। गणनाको पछिल्लो विवरणअनुसार समग्रमा एमालेका ज्ञवालीले ७३३ मतको अग्रता लिइरहेका थिए। मतपत्र च्यातिँदासम्म एमालेका ज्ञवाली ४१  हजार ६४१ मतसहित अगाडि थिए। माओवादीकी रेणुको ४० हजार ९०८ मत पुगेको थियो।

मतपत्र च्यात्ने कार्यमा माओवादीले १९ नं. वडामा पुनःमतदानको माग राख्दै आएको छ। प्रमुख प्रतिपक्षी एमालेले भने प्रधानमन्त्री दाहाल पुत्री हार्ने निश्चित भएपछि शक्तिको आडमा योजनाबद्ध रुपमा पुनःमतदानका लागि षड्यन्त्र भइरहेको जनाउँदै आएको छ। बुधबार एमालेले यही विषयलाई लिएर सदन अवरुद्ध गरेको थियो। भरतपुरको मतगणनास्थल नजिकै तीन दिनदेखि एमालेको धर्ना जारी छ।

एमालेले खोज्यो काँग्रेसको साथ

बिहीबार बिहान धर्नालाई सम्बोधन गर्दै एमाले नेता प्रदीप ज्ञवालीले भरतपुर १९ मा पुनः मतदान गर्नु अपराधीलाई पुरस्कृत गर्नुजस्तै हुने बताए। 'मतदानतिर गए अपराधलाई प्रोत्साहन हुन्छ। हेर्दा एमालेलाई मेयर जित्नबाट रोक्न खोजेजस्तो देखिए पनि यो लोकतान्त्रिक पद्धतिविरुद्धको षड्यन्त्र हो।' यो विषयमा काँग्रेसले चुप लागेर बस्नु नहुने उनको तर्क थियो।

'तपाइँहरुले मेयरका लागि हँसिया हथौडामा भोट मात्रै हाल्नु भएको हो। काँग्रेसका मूल्य मान्यता चरु होमेजस्तै स्वाहा पार्नु भएको हैन', ज्ञवालीले भने।

 

प्रकाशित: १८ जेष्ठ २०७४ ०७:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App