coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

पश्चिमाञ्चलको जितमा सौरभ नायक

काठमाडौं- सौरभ खनालले सनसनीपूर्ण ब्याटिङ प्रदर्शनका साथ अविजित अर्धशतक बनाएपछि पश्चिमाञ्चल विकास क्षेत्रले बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित हासिल गरेको छ।

सौरभको अविजित ७८ रन प्रेरित पश्चिमाञ्चलले शरद भेषावकरको काठमाडौंलाई ९५ रनको अन्तरमा निराश पार्‍यो। टस जितेर ब्याटिङ रोजेको पश्चिमाञ्चलको सुरुआत दमदार नभए पनि सौरभले रोहितकुमार पौडेलसँग छैटौं विकेटका लागि ५२ रनको साझेदारी गरेर इनिङ उकासे। उनले सातौं विकेटका लागि कृष्ण कार्कीसँग ५१ रन थपेपछि पश्चिमाञ्चल ५–८७ को दयनीय अवस्थाबाट धेरै माथि उठ्न सफल भएको थियो।

प्रतियोगितामा दोस्रो खेल खेल्ने क्रममा पहिलो जित हासिल गर्दा पश्चिमाञ्चलले निर्धारित ५० ओभर पूरा खेल्दै ८ विकेटको नोक्सानीमा २ सय २ रन बनाएको थियो। जबाफमा मध्यमाञ्चल विकास क्षेत्रलाई १ सय ७ रनमा रोक्दै टोली फराकिलो जितको हकदार बन्यो।

ओपनर नुरधोज सेन (३) लाई ९ रन बनाउँदा गुमाएपछि धरमराएको पश्चिमाञ्चलको इनिङ अर्का ओपनर अनिल गुरुङ (२८)ले विधान श्रेष्ठ (१८) सँग दोस्रो विकेटका लागि ४३ रन जोड्दै ट्रयाकमा फर्काएका थिए। अनिलले धैर्यपूर्ण प्रदर्शन गर्ने क्रममा ६८ बलमा ३ चौका र १ छक्का प्रहार गरे। तर अनिल शशी केशरीको बलमा रम्साद आलमबाट क्याच भएपछि पश्चिमाञ्चलको लय बिग्रियो। लगत्तै १२ रन जोडेपछि विधान पनि किशोर महतोको बलमा शशीलाई क्याच दिन पुगे। विधानले ४४ बलमा २ चौका प्रहार गरेका थिए। कप्तान प्रकाश केसी (५) चौथो विकेटका रूपमा पवेलियन फर्किंदा पश्चिमाञ्चलको स्कोर ७२ रन थियो। अन्तिम थापाले ७१ बलमा २ चौकासहित व्यक्तिगत ३४ रनको योगदान गरेर बनाएको आधारलाई सौरभले सुखद क्लाइमेक्स दिए।

आक्रामक रूपमा प्रस्तुत भएका म्यान अफ दी म्याच सौरभले ५८ बलमा ३ चौका र ६ छक्का प्रहार गर्दै अविजित ७८ रन जोडेका थिए। मध्यमाञ्चलका किशोर महतोले १० ओभरमा ४२ रन खर्चिंदै तीन विकेट लिए भने नन्दन यादवले दुई तथा शरद् र शशीले एक/एक विकेट लिए।

जबाफमा आएको मध्यमाञ्चललाई सानो स्कोरमा रोक्ने क्रममा लाल अधिकारी र रोहितकुमारले तीन/तीन विकेट लिए। यसै गरी विपिन खत्रीले दुई तथा कृष्ण कार्कीले एक विकेटमा नाम लेखाए। १० ओभर पूरा बलिङ गरेका लालले ३ मेडन राख्दै २१ रन मात्र खर्चिएका थिए। यसै गरी रोहितकुमारले भने ३ विकेट लिने क्रममा ४.३ ओभरमा १ मेडन राख्दै १० रन खर्चेका थिए।

पश्चिमाञ्चलको बलिङ आक्रमण प्रभावकारी बन्दा मध्यमाञ्चलका ब्याट्सम्यानहरू उल्लेख्य स्कोर गर्नबाट चुके। ओपनर इशान पाण्डेले बनाएको २४ रन मध्यमाञ्चलको इनिङमा सबभन्दा ठूलो स्कोर थियो। यसबाहेक किशोर महतोले अविजित २० रन बनाए भने रम्सादले १५ तथा सुमित महर्जनले १० रन जोडे। मध्यमाञ्चलका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। 

अघिल्लो दिन मंगलबार वर्षाले खेल प्रभावित भएपछि मध्यमाञ्चलले मध्य पश्चिमाञ्चलसँग अंक बाँडेको थियो।

समूह ‘बी’ मा रहेको एपिएफ र पश्चिमाञ्चलको २ अंक छ। मध्यमाञ्चल र मध्य पश्चिमाञ्चललेे समान १/१ अंक जोडेका छन्।

प्रकाशित: १८ जेष्ठ २०७४ ०३:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App