७ वैशाख २०८१ शुक्रबार
विचार

विस्थापितको व्यथा

काठ वा बाँसको खामा र बलो, जस्ताको छानो, चिसो भुइँमा भूकम्पबाट विस्थापित परिवार बस्न थालेको दुई हिउँद र वर्षा बितेर अर्को वर्षा लागिसक्यो। काँचो काठ मक्किन थालेको छ। हावा लागिरहने हुँदा जस्ता र काठलाई कैंयन् रात समाएर बस्नुपरेको उनीहरूको भनाइ छ। यो स्थिति हो– दुई डाँडाको बीचमा रहेको गोल्फुभञ्याङको। यो अहिले दुप्चेश्वर–४, नुवाकोटमा पर्छ। हेलम्बु–५, सिन्धुपाल्चोकसँग सिमाना जोडिएको छ।

पुनर्निर्माणलाई छिटो र छरितोसँग अगाडि बढाउने हो भने शिविरमा बसिरहेका परिवारलाई कि सुरक्षित स्थान पहिचान गरी घर बनाउन दिनुपर्छ कि त सोही ठाउँमा एकीकृत बस्ती बनाउन सरकारले अनुमति दिनुपर्छ।

साविक बेतिनी गाविस ७ र ८ वडाका मानिस विनासकारी भूकम्प्ाबाट विस्थापित भएर यहाँ आइपुगेका हुन्। केहीले परिवारका सदस्य गुमाएका थिए। ७२ घर परिवार बसिरहेका छन्। जग्गा सार्वजनिक हो। फर्केर जान सम्भव छैन। पहिरो गएको छ। जहाँ घर बनाउन सम्भव छैन। यहाँ बस्ने केही परिवारबाहेक सबैले घर बनाउने पहिलो किस्ताबापतको रकम पाइसकेका छन्। घर बनाउन मिल्ने जति र सुरक्षित जग्गा भएका परिवार गइसके। बसिरहेको स्थान सुरक्षित भएकाले घर बनाउन दिएमा धेरैले घर बनाउन सुरु गरिसक्थे। सुरक्षित जमिन आफ्नो नाममा नहँुदा कहाँ बनाउने, कहाँ बस्ने कुनै टुङ्गगो छैन।

जीविकोपार्जनका लागि कुनै निश्चित आयआर्जनको स्रोत छैन। यो बस्तीलाई कहाँ बसाउने? अहिलेसम्म छलफल नै नभएको विस्थापित श्यामबहादुर गुरुङको भनाइ छ। अहिले कसैले राहत दिँदैनन्। खानका लागि समस्या हुन थालेको छ। केहीले शिविरमा सामान्य पसल गरेर गुजारा गरेका छन्। बाँकी परिवार घर बनाउन पाएको किस्ताले खाने सामग्री किनेर जिइरहेका छन्। यसमा पनि परिवारमा ज्यामी काम गर्न जान सक्नेको केही सजिलो छ तर काम गर्न जान नसक्नेको हालत झन् कमजोर छ।

पुनर्निर्माणलाई छिटो र छरितोसँग अगाडि बढाउने हो भने शिविरमा बसिरहेका परिवारलाई कि सुरक्षित स्थान पहिचान गरी घर बनाउन दिनुपर्छ कि त यसरी बसिरहेको स्थानमा कोही कसैको बाधा पर्दैन भने एक घर परिवारलाई निश्चित जग्गाको स्वामित्व हुने गरी एकीकृत बस्ती बनाउन सरकारले अनुमति दिनुपर्छ।

उनीहरू छरपष्टरूपमा बसेका थिए। भूकम्पले सबैलाई एकै स्थानमा ल्याएको छ। सबै जना जग्गा किनेर र आफ्नो थातथलो पर्कन सक्ने अवस्था छैन। त्यसकारण पुनर्निर्माणमा सहयोग नमुनाका लागि पनि उनीहरू बसिरहेका स्थान गोल्फुभञ्याङलाई नै एकीकृत बस्तीका रूपमा विकास गर्न सकिन्छ। सुरुमा १०० घर भन्दा माथि घर परिवार बसोबास गरिरहेका थिए। सुरक्षित स्थान र घर बनाउन सक्ने परिवार आफ्नै थातथलोमा गइसकेको अवस्था छ। बाँकी परिवार जान र घर बनाउन नसक्ने परिवार बसिरहेका अवस्था हो।

यो स्थान भनेको पर्यटकीय स्थान पनि हो। नियमितरूपमा गोसाइँ–कुण्ड हँुदै सुन्दरीजल निस्कने पैदल मार्ग पनि हो गोल्फुभञ्याङ। व्यवस्थित गर्‍यो भने खानेपानीको स्रोत पनि छ। दश, बीस, घर परिवारले होमस्टे सञ्चालन गरेर पनि राम्रो आम्दानी गर्न सक्ने ठाउँ हो यो। निर्वाचित नेतृत्वले यस विषयलाई पहिलो प्राथमिकतामा राखी यस स्थानलाई एकीकृत बस्तीमा सहयोग गरेमा उसले सधैँ त्यस क्षेत्रको माया र सहयोग पाइरहनेमात्र होइन, अन्य स्थान र अरु सदस्यका लागि पनि उदाहरणीय काम देखिनेछ।

अबको विकास भनेको एकीकृत मानव बस्तीको विकास गर्नुपर्छ। खानेपानी, विद्युत्, यातयात, शिक्षा, अस्पताल, जस्ता मानवीय विकासका लागि सहयेग गर्छ। अव्यवस्थित बस्तीले नेपालमा विकासलाई धेरै असर गरेको देखिन्छ। यस्ता बसोबास भइरहेको र अन्य स्थानलाई पनि छिटोभन्दा छिटो पहिचान गरी एकीकृत बस्ती विकासमा सहयोग गर्नुपर्छ। जसरी पुनर्निर्माणले गति लिन नसकिरहेको अवस्थामा पनि यस्तो एकीकृत बस्तीले सहयोग पुर्‍याउने मात्र नभई दिगो संरचना, दिगो विकास, दिगो जीविका र शान्तिमा पनि सहयोग पुग्छ।

यसबाहेक नुवाकोट जिल्लामा विभिन्न ठाउँमा अझै बसिरहेका छन्। मुख्यगरी वेत्रावतीको सातबिसेमा ३०, बटारको इनारपाटी ८३, मनाकामनाको शान्तिबजार २६, विदुरको सिम्मुटार १२१ र किम्ताङको कालाञ्चङमा २१ घरपरिवार अरुको जमिन र सार्वजनिक जग्गामा बसिरहेको अवस्था छ। उनीहरूको थातथलो भूमिसँग जोडिएका सवाल छन्। भूमिहीन, सुकुमबासी, मोही, बिर्ता, गुठी, ऐलानीलगायतका समस्या जोडिएका छन्। उनीहरू सबैलाई एकीकृत बस्तीमा बसाउन सक्ने हो भने पुनर्निर्माण अभियानमा सहयोग पुग्छ।

नेपाल सरकारले भर्खरै विस्थापितहरूको पुनर्स्थापनासम्बन्धी कार्यविधि ल्याएको छ– जोखिमयुक्त बस्ती स्थानान्तरण तथा पुनर्स्थापनासम्बन्धी कार्यविधि, भूकम्पबाट प्रभावित निजी आवास पुनर्निर्माण अनुदान विवरण कार्यविधि र भूकम्पबाट प्रभावित व्यक्तिको नाममा जग्गा दर्ता गर्नेसम्बन्धी कार्यविधि। जसले गर्दा यस्ता बस्तीलाई र भूमिसँग जोडिएका सवाललाई समाधान गर्न सहयोग पुगेको छ। कार्यविधिले त अझै घर बनाउन र राहत पाउनबाट वञ्चितलाई सहयोग गर्ने देखिन्छ। यो कार्यविधि कार्यान्वयनका लागि निर्वाचित सदस्य र गाउँका अगुवाको मुख्य भूमिका हुन्छ।

निर्वाचित सदस्यले निर्वाचनको समयमा जनतासँग विभिन्न वाचा प्रतिज्ञा गरेका छन्। निर्वाचनमा विजय भएपछि चुनौती प्रशस्त छन्। ती चुनौती सामना गर्न असल शासनको मर्मलाई ख्याल गरी काम गर्नुपर्छ। आफ्नो राजनीतिक शक्तिलाई व्यक्तिगत अनैतिक स्वार्थ त्याग्न सक्नुपर्छ। विकास र योजना कार्यान्वयन गर्नका लागि सर्वपक्षीय योजना र सामाजिक हितका लागि निस्वार्थ भावनाले भूमिसँग जोडिएका सवाल र बढ्न नसकिरहेको पुनर्निर्माण अभियानलाई तीव्र गतिमा बढाउन सक्यो भने सधँै जनताको माझमा रहिरहनेछ। पुनर्निर्माण अभियानलाई सहयोग र शिविरमा बस्ने मानिसमा खुसी ल्याउन सक्छ।

प्रकाशित: १८ जेष्ठ २०७४ ०३:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App